सरकारी गाडीमा आगजनी

सरकारी गाडीमा आगजनी भएको छ । कर्णाली प्रदेशसभा सदस्य गणेशप्रसाद सिंह चढ्ने गाडी जाजरकोटमा आगजनी भएको हो । प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष सिंह चढ्ने गाडी आगजनीबाट पूर्णरूपमा क्षति भएको छ । बिहीवार राती १० बजे अज्ञात समूहले गाडीमा आगजनी गरेका हुन् ।

कर्णाली प्रदेश ०२–००१ झ ००४० नम्बरको स्कार्पीओमा अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । सिंह नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहको शुक्रवार स्याउलीबजारमा आयोजित पार्टी कार्यक्रममा सहभागी हुन गएका थिए । सिंह भेरी नगरपालिका वडा नं. ७ का वडा अध्यक्षको घरमा बसेका थिए ।

प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार भेरी नगरपालिका–७ पुन्ममा बिहीवार राती १० बजे गाडीमा आगजनी भएको हो । ‘गाडी बाटोमा राखेर उहाँहरू माथि गाउँमा जानु भएको रहेछ,’ उनले भने, ‘एक्कासी आगो लागेको खबर हामीलाई आयो ।’ गाडीमा आगो कसले र किन लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताए ।

गाडीमा प्राविधिक कारणले आगो लागेको हो वा कसैले लगाएको हो भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने प्रजिअ बरालले जनाए । गाडी चालक सुशील जैसीले गाडीको चारैतिर पेट्रोल छर्केर आगो लगाइएको बताएका छन् । ‘हामीले वडा अध्यक्ष शाहीको घरमा खाना खाने तयारी गरेका थियौं,’ उनले भने, ‘खाना खाएर गाडीमा सुत्न आउने तरखर गरिरहेको समयमा कसैले आगो लगाइदिएछ ।’ गाडी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ मा खरिद गरेको हो । यसअघि सिंह चढ्ने उक्त गाडी सुर्खेतमा घाँस बोक्न प्रयोग भएको भनेर आलोचना भएको थियो ।

प्रकाशित मितिः   १८ पुष २०७७, शनिबार ०९:२७