खेलाडीलाई नगदसहित सम्मान

पावर लिफ्टिङ विजेता श्रुति कार्कीलाई नगदसहित सम्मान गरिएको छ । भारतको महाराष्ट्रमा भएको पावर लिफ्टिङमा दुई स्वर्ण पदक जित्न सफल कार्कीलाई सुर्खेत उद्योग वाणिज्य संघले सम्मान गरेको हो । संघले शुक्रवार एक कार्यक्रमको आयोजना गरी कार्कीलाई नगद १० हजार रूपैयाँ र सम्मान गरेको छ । खेलकुदको माध्यबाट नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरमा देशको नाम चिनाउन सफल भएको भन्दै उनलाई संघले सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष दिपेन्द्र ढकालले खेलका माध्यमबाट कर्णालीको नाम उच्च राख्नेकार्य गरेकाले खेलाडी कार्कीलाई सम्मान गरिएको बताए । खेलकुद र खेलाडीलाई निजीक्षेत्रको सधैं सहयोग र सहकार्य रहने उनले जनाए ।

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष प्रमोद हमालले खेलक्षेत्रलाई व्यवसायीकरण गर्न जरुरी रहेको औंल्याए । हमालले निजीक्षेत्रले खेलाडीलाई प्रोत्साहन गर्नु सह्रानीय काम भएको बताए । कार्यक्रममा सहभागी अन्य खेलाडीहरूले खेलक्षेत्रलाई व्यावसायिक बनाउन सरकारले जोड दिनुपर्ने बताएका थिए । सम्मान कार्यक्रममा खेलकुद विकास समिति सुर्खेतका प्रशिक्षण विभाग प्रमुख प्रदिप राई, जिल्ला तेक्वान्दो संघ कर्णालीका महासचिव भुवन थापा र उद्योग वाणिज्य संघका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   १८ पुष २०७७, शनिबार ०९:२५