सिँचाइ सुविधाले ल्याएको सुख

सुर्खेत: वीरेन्द्रनगर–९ अलायचौरकी भद्राकुमारी मल्ल डेढ वर्ष अघिसम्म तरकारी किन्न घुस्रासम्म पुग्थिन् । सिँचाइको सुविधा नभएकाले चाँदनीटोलमा तरकारी खेती गर्न सम्भव थिएन । टोलका सबै परिवार किनेकै तरकारीले गुजरा चलाउथे । आकाशे पानीको भरमा रोपाइँ गर्ने र धेरैजसो जग्गामा मकै लगाउने गरिन्थ्यो । सिँचाइ नभएपछि करेसाबारीमा हरियो तरकारी देख्नै मुस्किल हुन्थ्यो ।

अहिले गाउँमा सिँचाइको सुविधा पुगेको छ । सबैको घरमा तरकारी फल्छ । मल्लको परिवारले घरमा खानका लागि मात्र होइन व्यावसायिक रूपमा तरकारी खेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् । पहिले आफूलाई खाने तरकारी समेत किन्न जाने मल्ल आफ्नै बारीमा उत्पादन गरेको तरकारी बेच्छिन् ।

सोही ठाउँकी तुल्सी शाहीको १२ कठ्ठा जग्गा छ । उक्त जग्गामा बर्खामा मकै र हिउँदमा गहुुँ लगाउने गरिन्थ्यो । अहिले उनले धानसँगै तरकारी खेती गर्ने गरेकी छन् । ‘अचेल सिँचाइको सुविधा छ । बाह्रै महिना तरकारी खेती गर्छु,’ उनले भनिन् । शाहीले चना, मसुरो र तोरी पनि लगाउने गरेकी छन् । सिँचाइ सुविधा भएपछि जुनसुकै खेती गर्न सहज भएको उनले बताइन् । ‘पहिले हरियो तरकारी किन्न जानुुपथ्र्यो अहिले आफै तरकारी बिक्री गर्न जान्छु ।’ उनले तरकारीबाट राम्रो कमाइ हुने गरेको सुनाइन् ।

अलायाचौरकी पुष्पा नेपालीले पनि अहिले तरकारी खेती गर्न थालेकी छन् । पहिले सिंचाइ नहुँदा जग्गा बाँझै राख्ने अवस्था थियो । अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको उनले बताइन् । उनले च्याउँ खेती पनि गर्न थालेकी छन् । तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको उनी बताउँछिन् ।

तत्कालीन सिँचाइ डिभिजन कार्यालय सुर्खेतले डेढ वर्षअघि निकासखोलाको पानी मोटरले तानेर उक्त टोलमा ल्याएको हो । सिँचाइको सुविधा पुगेपछि त्यहाँका किसानहरूको आम्दानीको स्रोत बढेको छ । रोपाइँ गर्न आकाशे पानीको भर पर्नुपर्ने समस्याबाट उनीहरू मुक्त भएका हुन् । अहिले प्रत्येक व्यक्तिको जग्गामा सिँचाइ कुलो पुगेको छ । किसान अनुसन्धान समूहमा आवद्ध भएर उनीहरू तरकारी खेतीमा जुटेका छन् । स्थानीय प्रेमबहादुर शाहीले अहिले व्यावसायिक रूपमा तरकारी खेती गर्र्न थालिएको बताए । उनले बारीमा टमाटर र आलु लगाएका छन् । त्यहाँका किसानले अर्गानिक तरकारी उत्पादनमा जोड दिएको उनी बताउँछन् । ‘मैले एक सिजनमा आलु बिक्रीबाट मात्रै ५० हजार जति कमाउँछु,’ शाहीले भने । उनले बेमौसमी तरकारी लगाउने गरेका हुन् । शाही भन्छन्, ‘मुुख्य समस्या सिँचाइको थियो । अहिले सहज भएको छ ।’

सिँचाइ आयोजनाका लागि ३८ लाख लगानी भएको छ । निकास खोलादेखि सात सय ५० मिटर पाइपलाइन बनाएर पानी ल्याइएको हो । दुई वटा पोखरीमा पानी जम्मा गरेर चाँदनी टोलमा पानी पु¥याइएको छ । उक्त सिँचाइ आयोजनाबाट अहिले ६० परिवार लाभान्वित भएका छन् । सिँचाइ गर्नका लागि उपभोक्ता मिलेर सञ्चालक समिति बनाइएको छ । समितिमार्फत सिँचाइ कुलो सञ्चालन गरिएको हो । समितिका सचिव भुुपबहादुर शाहीले सबैले आलो–पालो गरेर सिँचाइ गर्ने गरेको बताए । सिँचाइ सुविधा लिए वापत किसानहरूले न्यून शुल्कसमेत तिर्नुपर्छ । ठूलो मोटरबाट सिँचाइ गरे एक घण्टाको तीन सय ६० र सानो मोटर लगाएर सिँचाइ गरे एक घण्टाको एक सय २० रूपैयाँ शुल्क तोकिएको सचिव शाहीले बताए । उनका अनुसार आयोजनामा एक जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् ।

यस्तै, चाँदनीटोलसँगै जोडिएको धरमपुरटोलमा पनि सिँचाइ पु¥याउनका लागि काम अघि बढाइएको छ । यसमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को वडा कार्यालयले ५० हजार, नौलो सुधार सामुदायिक वन उपभोक्ता समितिले २० हजार र कारितास नेपालले ८० हजार बजेट खर्चिने भएका छन् । सिँचाइ कुलो निर्माणका लागि काम अघि बढाइएको हो । कारितास नेपालले उक्त ठाउँमा साना किसानहरूको आम्दानी वृद्धि गर्न र पोषणमा सुधार ल्याउन कृषिमा अनुकूलन तथा जैविक विविधता संरक्षण कार्यक्रम सञ्चालन गरेको हो । कारितास नेपालका जिल्ला संयोजक राजेन्द्र लामिछानेले किसानको आर्थिक क्षमता बढाउन विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहेको जनाए । ४७ जना किसानहरूको तीन वटा समूह गराएर व्यावसायिक कृषिमा सहयोग गरिरहेको उनले बताए ।

प्रकाशित मितिः   १८ पुष २०७७, शनिबार ०९:३६