विपन्नलाई न्यानो लुगा

उच्च पहाडी र हिमाली जिल्लाहरूमा केही दिनयता चिसो बढिरहेको छ । मौसम विज्ञान फिल्ड कार्यालय जुम्लाका अनुसार यतिबेला जुम्लाको तापक्रम माइनसमा झरेको छ । यो सिजनमा खासगरी न्यानो लुगाको आवश्यकता पर्दछ । तर, सबै नागरिकले चिसोबाट बच्ने न्यानो लुगा किन्न सक्दैनन् । विपन्न परिवारका सदस्यहरू सीमित लुगाफाटोले चिसो हिउँद कटाउने गर्छन् ।

यसपटकको जाडोमा जुम्लाको स्थानीय प्रशासनले केही विपन्न परिवारका व्यक्तिहरूलाई न्यानो कपडा उपलब्ध गराएको छ । जुम्ला सदरमुकाम आसपासका स्थानीले प्रशासन कार्यालयबाट जाडोको कपडा पाएका हुन् । प्रशासनले खलंगाबजारका विपन्न नागरिकलाई न्यानो लुगा र कम्मल वितरण गरेको हो । सडकमा चिसोले कष्टकर दैनिकी बिताइरहेका आठ जनालाई कम्मल र ज्याकेट वितरण गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

विपन्न परिवारका सदस्यलाई चिसोबाट बच्न प्रशासनले गरेको सहयोग स्रहानीय भएको स्थानीयले बताए । सदरमुकामको बसपार्कदेखि कालेखोलीसम्मको सडक आसपास बसोबास गर्ने विपन्नलाई न्यानो कपडा र कम्मल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जनाए । सबै नागरिकलाई सहयोग गर्न नसकिए पनि सदरमुकाममा कष्टकर दैनिकी बिताइरहेकालाई न्यानो लत्ताकपडा वितरण गरिएको उनले बताए ।

प्रकाशित मितिः   १६ पुष २०७७, बिहीबार ०६:००