स्वदेशमै स्वरोजगार
वीरेन्द्रनगर–१ का शेरबहादुर मगराती भारतमा थिए । रोजगारीका शिलशिलामा परदेश रहेका उनी कोरोना महामारीका कारण बेरोजगार बनेपछि घर फर्किए । वर्षाैंदेखि भारतको कमाइको भरमा जीविकोपार्जन गर्दै आएका उनलाई खर्च जुटाउन समस्या हुन थाल्यो । उनले यता पनि रोजगारी पाएनन् । ज्याला मजदुरीको काम समेत नभेटेपछि मगरातीले रोजगारी खोज्नुभन्दा स्वरोजगार बन्ने सोच बनाए । अनि उनले थाले
तरकारी खेती ।
मगरातीको व्यावसायिक खेती गर्ने योजनालाई अन्तरनिर्भर समाज सुर्खेतले साथ दियो । उक्त संस्थाले वीरेन्द्रनगर नगरपालिकाको समन्वयमा कोरोनाका कारण रोजगारी गुमाएकालाई लक्षित गरी तरकारी खेती गर्न सहयोग गरिरहेको थियो । उनले पनि सहयोग पाए । बिउँ, टनेल निर्माणदेखि प्राविधिक सहयोगसम्म संस्थाले ग¥यो ।
मगरातीले त्यहीँ खेतीबाट आम्दानी लिन थालिसकेका छन् । ‘१० हजार रूपैयाँको च्याउ बिक्री गरिसके,’ उनले सुनाए, ‘दैनिकजसो पाँच सात केजी च्याउ बिक्री भइरहन्छ ।’ अहिले उनको च्याउ फर्ममा दुई सय १८ डल्ला छन् । यसबाहेक उनले आलु खेती गरेका छन् । तरकारी खेतीबाट बचेको समयमा उनले अन्य पनि काम गर्ने गरेका छन् । कोरोनाका कारण बनेको असहज अवस्था विस्तारै सुध्रिँदै गएको उनले बताए । ‘पहिलेको जस्तो अभाव र सकस अहिले छैन,’ मगरातीले भने । उनले अब यही तरकारी खेतीलाई थप व्यावसायिक बनाउँदै लैजाने योजना रहेको बताए । उनी भन्छन्, ‘विस्तारै आम्दानी हुँदैछ । अभाव टर्दैछ । अब तरकारी खेतीलाई बढाउने योजनामा छु ।’
वीरेन्द्रनगर–१ कै सुशीला नेपालीले पनि अहिले तरकारी खेती गर्न थालेकी छन् । उनले अहिले काउली, टमाटर र धनियाँ, लसुन बिक्री गर्छिन् । तरकारी खेती गर्नलाई उनको आफ्नै जग्गा छैन । यसका लागि वडा कार्यालयले उनलाई जग्गा उपलब्ध गराएको छ । उनले अहिले वडा कार्यालयले भाडामा उपलब्ध गराएको जग्गामा तरकारी खेती गर्दै आएकी छिन् । तरकारी लिएर उनी बिक्री गर्न टोल–टोलमा पुग्छिन् । ‘लकडाउन भएपछि श्रीमान्को रोजगारी गुम्यो केही गर्ने उपाए नै थिएन । तरकारी खेती गर्नलाई जग्गा समेत थिएन’ उनले भनिन्, ‘वडाले जग्गा उपलब्ध र संस्थाले बिउँ दिएपछि तरकारी खेती गर्न थाले । पहिले तरकारी बिक्री गर्न जाँदा अप्ठेरो लाग्थ्यो । अहिले केही लाग्दैन ।’ उनले सुरुवातमा आम्दानी अलि–अलि हँुदै गएको उनले बताइन् ।
वीरेन्द्रनगर–११ अमृतडाँडाकी बीर्मा चुनाराको परिवारले पनि तरकारी खेती गर्न थालेको छ । उनलाई अन्तरनिर्भरले ५० किलो आलुको बिउँ सहयोग गरेको थियो । त्यही बिउबाट उत्पादन भएको आलु उनले अहिले बिक्री गरिरहेकी छन् । ‘दुई क्वीन्टल आलु बिक्री गरी सकेँ । घर खर्च जुटाउन निकै सजिलो भएको छ,’ उनले भनिन् ।
अन्तरनिर्भर समाज सुुर्खेत, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ‐यूएनडीपी) र वीरेन्द्रनगर नगरपालिकाको साझेदारीमा कोरोनाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा प्रभावित परिवारलाई आर्थिक तथा प्राविधिक सहयोग गरिएको हो । वीरेन्द्रनगरका चार वटा वडामा लक्षित परिवारलाई कोभिड–१९ रेस्पोन्स तथा सामाजिक र आर्थिक रिकभरी परियोजना लागू भएपछि त्यहाँका स्थानीय स्वरोजगार बन्दै गएका छन् ।
वीरेन्द्रनगरको वडा नं. १, १०, ११ र १२ वडामा स्थानीयले आलु, टमाटर, लसुन खेती र कुखुरापालनका लागि सहयोग गरिएको छ । उक्त कार्यक्रमबाट चार सय ५९ परिवार लाभान्वित भएका छन् । कार्यक्रमका कृषि प्राविधिक अधिकृत दिनेश सापकोटाले लाभान्वित परिवारले आम्दानी गर्न थालेको बताए । ‘विशेष गरेर भारतबाट फर्किएका र रोजगार गुमाएका परिवारलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेका थियौं,’ उनले भने, ‘जग्गा नहुनेलाई वडा कार्यालयले जग्गा उपलब्ध गराएको छ । तरकारी बिक्री गरेर आम्दानी गर्न थाल्नु भएको छ ।’ सोही कार्यक्रम अन्तर्गत आरन व्यवसाय गर्नेहरूलाई व्यावसायिक बनाउन आधुनिक औजारहरू समेत वितरण गरिएको जनाइएको छ ।
प्रकाशित मितिः १५ पुष २०७७, बुधबार ०८:५०
साझा बिसौनी ।