चरम विभेद

महिलामाथिको विभेद जहाँकहीँ छ । चाहे त्यो घरभित्रको होस् या घरबाहिरको । राजनीतिमा होस् वा आर्थिक, सांस्कृतिक र सामाजिक रूपमा विभेदका अनेक श्रृंखला देख्न सकिन्छ । कतिसम्म भने गर्भमा छँदैदेखि छोरीहरू विभेद र हिंसाको सिकार बन्न बाध्य छन् । छोरी भएकै कारण गर्भपतन गराउनेजस्तो अपराधजन्य कार्य बढेका छन् । जन्मिसकेपछि छोरीहरूले व्यहोर्नुपर्ने हिंसाका अरू पक्षहरूको फेहरिस्त नै छ ।

समय धेरै अघि बढिसकेको छ । वर्तमानलाई आधुनिक समयका रूपमा हेर्ने गरिन्छ । शिक्षा र चेतनाका हिसाबले पनि विकसित भएको यही समयमा छोरीहरूमाथिको विभेद भने अन्त्य हुन नसक्नु ठूलो विडम्बना हो । जस्तो कि गर्भमै जाँच गरेर छोरी भए पतन गर्ने प्रवृत्ति समाजमा बढ्दो छ । गर्भमै भ्रूण हत्या गर्नु अपराध भए पनि गैरकानुनी रूपमा गर्भपतन गर्ने गरिएको हो । पछिल्लो समय छोराको आशमा गर्भपतन गर्नेहरू बढेको निजी स्वास्थ्य संस्थाहरूले बताएका छन् । लिङ्ग पहिचान गरेर गर्भपतन गर्नु कानुनले अपराध भनेको छ । तर कानुनी रूपमा अपराध हो भन्दाभन्दै पनि छोराको आशमा गर्भपतन गर्ने गरिएको हो । स्वास्थ्य संस्थामा चेकजाँच गर्न जाँदा पहिलो सन्तानको पालामा नसोधे पनि दोस्रो पटक, के छ ? छोरा छ कि छोरी भनेर सोधिने गरिन्छ । गर्भमा छोरी भएकै कारण कतिपयले पटक–पटक गर्भपतन गर्ने गरिएको चिकित्सकहरूले बताएका छन् । उनीहरूका अनुसार छोरा भए मात्रै राख्ने र छोरी भए गर्भपतन गर्नेहरूको संख्या अहिले पनि ठूलो छ ।

पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशमा जन्मिनेहरूमा छोराहरूको संख्या बढी छ । सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशमा जन्मिएका छोराको संख्या १४ हजार चार सय १६ र छोरीको संख्या १३ हजार तीन सय ४० थियो । आर्थिक वर्ष २०७६÷०७७ मा जन्मिएका छोराको संख्या १५ हजार एक सय ९३ छ भने छोरीको संख्या १४ हजार दुई सय एक छ । यी तथ्याङ्कले प्रदेशमा जन्मिने छोरीको भन्दा छोराको संख्या बढी देखाएको छ । गर्भपतनको यकिन तथ्याङ्क नभए पनि वर्षेनी सयौं भ्रूणको हत्या हुने गरेको अस्पताल स्रोतहरूको भनाइ छ । प्राकृतिक रूपमै छोराभन्दा छोरीको संख्या बढी जन्मिने गरे पनि पछिल्लो तथ्याङ्कले छोरी भएपछि गर्भपतन हुन्छ भन्ने देखाउने सरोकारवाला बताउँछन् । स्वास्थ्यकर्मीहरूका अनुसार गर्भमै भ्रूण पहिचान गरेर पतन गर्ने शिक्षित परिवारहरू नै बढी छन् ।

भ्रूणहत्या बढेपछि छोरीहरू नै संकटमा परेका छन् । यस्तो कार्य रोक्न प्रयास भए पनि प्रभावकारी हुन सकिरहेको छैन । छोरा र छोरीबीचको विभेद अन्त्य आजको आवश्यकता हो । विभेद अन्त्य गर्न राज्यको योजनाबद्ध लगानी अपरिहार्य छ । आजको चेतनशील समाजमा कलंकको रूपमा रहेको छोराछोरीबीचको भेद अन्त्यका लागि सबैको हातेमालो जरुरी भइसकेको छ । समतामूलक समाज नै आजको आवश्यकता हो ।

प्रकाशित मितिः   १५ पुष २०७७, बुधबार ०८:५२