सरकारविरुद्ध प्रदर्शन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सुर्खेतको वीरेन्द्रनगरमा विरोध प्रदर्शन गरेको छ । सरकारले प्रतिनिधिसभा विगठन गरेर निर्वाचनको घोषणा गरेपछि सत्तारुढ दल नेकपाकै अर्को खेमा प्रचण्ड–नेपाल समूहले विरोध गरेको हो । मंगलवार वीरेन्द्रनगरमा गरिएको विरोधसभालाई उक्त समूहका जिल्लादेखि केन्द्रीयस्तरका नेताहरूले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओेलीको कदम राष्ट्रघाती भएको बताइन् । प्रधानमन्त्रीको निर्णयले देशलाई अस्थितरतातर्फ धकेलेको उनको आरोप छ । प्रधानमन्त्रीले बहुमत प्राप्त संसद् विघटन गरेर मुलुकको सार्वभौमप्रति ‘कू’ गरेको उनको भनाइ थियो । उनले भनिन्, ‘संविधानलाई मिचेर आफ्नो हविगत प्रस्तुत गर्नु राष्ट्रघाती हो । उहाँले व्यक्तिगत शासन लगाउन खोज्नु भएको छ । हामी यसको विरुद्धमा लडिरहने छौं ।’

लोकतन्त्रलाई ध्वस्त पार्न खोज्नेहरूकै कारण देशले समृद्धि हासिल गर्न नसकेको र प्रधामन्त्रीले संविधान मिचेर अघि बढ्नु आत्मघाती हमला भएको नेतृ झाँक्रीले बताइन् । ‘प्रधानमन्त्रीले आफ्नो पाँच वर्षको बहुमत भएको संसद् विघटन गरेर जोखिम मोल्नु भएको छ । यो उहाँका लागि आत्मघाती प्रहार जस्तै हो,’ उनले भनिन् । विरोधसभालाई नेकपा केन्द्रीय सदस्य नरबहादुर विष्ट, नेकपा सुर्खेतका अध्यक्ष ध्रुव शाहीलगायतले सम्बोधन गरेका हुन् ।

प्रकाशित मितिः   १५ पुष २०७७, बुधबार ०८:४८