लगत संकलन अवरुद्ध

सुर्खेत विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्ने प्रक्रिया रोकिएको छ । प्रभावित क्षेत्रको जग्गा अधिग्रहणको लगत संकलन कार्य रोकिएको छ । विमानस्थल विस्तार गर्न नहुने भन्दै स्थानीयले विरोध जनाएपछि लगत संकलनको काम अघि नबढेको हो । पुुस ९ गतेदेखि लगत संकलनको काम थालिएको थियो ।

स्थानीयले विमानस्थल विस्तारको नाममा बस्तीलाई तहसनहस गराउन खोजेको र विमानस्थलको दिगो विकासका लागि सरकारले विकल्प खोज्नुपर्ने माग राखेका छन् । विमानस्थल विस्तारमा विवाद बढ्दै गएको छ । संघीय र प्रदेश सरकारको साझेदारीमा विमानस्थल विस्तारको काम अघि बढाइएको थियो । यसमा वीरेन्द्रनगर नगरपालिकाले पनि जग्गा अधिग्रहणमा लाग्ने खर्चको पाँच प्रतिशत व्यहोर्ने गरी काम अघि बढेको हो । ३० विगाहा जग्गा अधिग्रहण गरेर तीन सय मिटर धावनमार्ग बढाइने गरी काम थालिएको थियो । तर स्थानीयले उक्त क्षेत्रमा विद्यालय, क्याम्पसलगायतका भौतिक संरचना भएकाले विस्तार नगर्न र अन्य ठाउँमा विकल्प खोज्न माग गरेका छन् ।

स्थानीयहरू अहिले सरोकारवालाहरूसँग छलफलमा रहेकाले काम अघि नबढाउन भनेपछि लगत संकलन रोकिएको नागरिक उड्डयन प्राधिकरण सुुर्खेतका प्रमुुख उमेशकुमार पन्थीले जनाए । ‘विमानस्थल विस्तार प्रभावित क्षेत्रका बासिन्दाको सहमति र सहकार्यविना सम्भव छैन,’ उनले भने, ‘सहमतिका लागि छलफल भएर सहज वातावरण होस् भन्ने हाम्रो चाहना हो ।’

सहमति पश्चात मात्र काम अघि बढाइने उनले बताए । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विमानस्थल विस्तारमा देखिएको समस्या छलफलबाट हल गरिने बताए । प्रजिअ रेग्मीले भोलि (बिहीवार) मुख्यमन्त्रीको संयोजकत्वमा सरोकार समिति, स्थानीय पालिका र सबै पक्ष बसेर छलफल गर्ने तयारी भएको जानकारी दिए ।

प्रकाशित मितिः   १५ पुष २०७७, बुधबार ०८:४६