विपन्न बस्तीको बदलिँदो कथा

मुहार फेर्दै आफर

विपन्न बस्तीको बदलिँदो कथा


घरैपिच्छे घरेलु मदिरा उत्पादन हुन्थ्यो । गाउँका अधिकांश पुरुषहरू मदिरा पिउँथे । मदिराका ग्राहकहरू बाहिरबाट समेत त्यहाँ जान्थे । गाउँमा घरेलु हिंसा र सधैंजसो झैं–झगडा हुन्थे । मदिराका कारण कलह निम्तिन्थ्यो ।

मदिराको हवजस्तै थियो आफर गाउँ । यहाँका स्थानीयको मुख्य पेसा नै मदिरा उत्पादन थियो । वीरेन्द्रनगर–१३ को आफर कुनैबेला मदिरामय गाउँ थियो ।

आफरमा ६० घरधुरी छन् । तीमध्ये करिब ७५ प्रतिशत दलित बस्ती छ । उक्त समुदायका अधिकांश बालबालिकाहरू विद्यालय जान्थेनन् । राज्यले दिने सेवा–सुविधाबारे जानकार थिएन त्यहाँको समुदाय । शिक्षा स्वास्थ्य र सरसफाइमा ध्यान नदिने त्यहीँ आफर गाउँ अहिले नमुना गाउँ बनेको छ । आफरले अहिले अरुलाई सिकाइरहेको छ । नमुना गाउँ हेर्न दैनिक विभिन्न ठाउँबाट मानिसहरू त्यहाँ पुग्ने गरेका छन् ।

मदिरा नियन्त्रण छ । हिंसा र कलह न्यूनीकरण हुँदै गएको छ । सबै बालबालिका विद्यालय गइरहेका छन् । हरेक घरमा रोजगारी सिर्जना भएको छ  । आफर बालविवाहमुक्त गाउँ भएको छ । उसो त आफर आफैं नमुना भएको भने होेइन । वि.सं. २०७२ सालमा स्थानीय किशोरी संवादका बालिका र महिला समूहका केही अगुवाको छलफलबाट उक्त गाउँ नमुना बनाउने संकल्प गरियो । आफर होमस्टेकी सचिव रचना बाँठाले उतिबेला आफूहरूले गाउँमा सुधार ल्याउन बनाएको योजना सुनाइन् ।

समाज जागरण केन्द्र (स्याक) नेपालद्वारा सञ्चालित किशोरी संवादमा गाउँको समस्याबारे पनि संवाद हुन्थ्यो । आमा समूहमा पनि गाउँका बेथिति र विसंगति हटाउने छलफल चल्यो । समुदायलाई नमुना बनाउनुपर्छ भन्ने उद्देश्यले उनीहरूले केही सूचकहरू निर्माण गरे, योजना बनाए ।

‘हामीहरूले गाउँनै नमुना बनाउने गरी काम थालेका थियौं,’ बाँठाले भनिन्, ‘गाउँ भेलाबाटै नमुना गाउँको घोषणा गरेका हौं ।’ कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरदेखि करिब ८ किलोमिटर उत्तरपूर्वमा पर्छ आफर गाउँ । यो ठाउँ झण्डै पाँच वर्षको अवधिमा हेर्न र सिक्न लायक बनेको छ । यहाँ सामूहिक काम हुन्छ । एक अर्कालाई अप्ठ्यारो पर्दा सर–सहयोग चल्छ । सबै महिलाहरूको कामको विभाजन छ । गाउँलाई नमुना बनाउनको लागि नौ वटा सूचक र ७० वटा उपसूचकहरू बनाइएका छन् । ६० मध्ये १६ वटा घरमा होम स्टे, सात वटा घरमा तरकारी खेती, २२ वटा घरमा बाख्रापालन, १३ वटा घरमा लोकल कुखुरापालन, एक घरमा कोशेली गृह, एक घरमा तामा र काँसको पुरानो भाँडा निर्माण गरिन्छ । आफर साँच्चिकै नमुना छ ।

अहिले गाउँ प्रवेश गर्ने जो–कोही दंग पर्ने वातावरण छ । सबै घरमा शौचालय, भाँडा राख्ने चाङ, कुहिने र नकुहिने फोहोर व्यवस्थापन गर्ने खाल्डा, घर–घरमा व्यवसाय छन् । व्यक्तिपिच्छे रोजगारी छ । ‘अहिले सबै कामका व्यस्त छन्,’ एक स्थानीयले भने, ‘मान्छेहरू बढी फुर्सदले पनि गलत बाटोमा लाग्ने रहेछन् ।’ गाउँभित्र कसैले पनि फोहोर गर्न र फाल्न नपाइने उनले बताए । गाउँमा लागूपदार्थ निषेध छ । मदिरा खाएर हो–हल्ला गर्नेलाई समुदायले कारबाही गर्छ । आफर अब शान्त भएको छ ।

किशोरी संवादकी ज्योति विकले गाउँ नै नमुना भएपछि आफूहरूले सुरक्षित महसुस गर्ने गरेको बताइन् । ‘पहिले जताततै फोहोर फाल्ने र मदिरा खाएर हो–हल्ला गर्ने गरिन्थ्यो,’ उनले भनिन् ‘अहिले गाउँमा कुनै पनि अशान्तिका क्रियाकलाप हुँदैनन् ।’ उनले समुदायमा कुनै समस्या आइहाले सबै बसेर सुल्झाउने गरेको सुनाइन् ।

स्थानीय लालबहादुर सुनारले महिलाहरूको नेतृत्वमा गाउँ नै नमुना भएको बताए । ‘हाम्रै दिदी–बहिनी र आमाहरूले गाउँ सुधार्नु भयो । अचेल निकै खुशी लाग्छ,’ उनले भने, ‘गाउँको इज्जत नै उचो भएको छ ।’ गाउँमा घरेलु मदिरा उत्पादन हुने बेला बजार क्षेत्रबाट आउनेले झैं–झगडा गर्ने गरेको उनले बताए । अहिले गाउँ नै शान्त र सबै घरमा रोजगारी सिर्जना भएको उनी बताउँछन् ।

गाउँको उत्पादन स्थानीय होमस्टेमा नै खपत हुने गरेको होमस्टेकी उपाध्यक्ष लक्ष्मी बाँठाले बताइन् । ‘हामीहरू १६ जना मिलेर होमस्टे सञ्चालन गरेका छौं,’ उनले भनिन्, ‘गाउँमा उत्पादन भएका सबै चिजवस्तु होमस्टेमा नै खपत हुन्छन् ।’ उनका अनुसार होमस्टेमा लोकल कुखुरा, सिस्नो आँटो, ढिडो, गुन्द्रुक र अचार तथा विषादीरहित अर्गानिक खाद्य वस्तु पाइन्छ । यिनै होमस्टेमा तालिम तथा बैठकहरू गर्न बाहिरबाट समेत मानिसहरू जाने गरेका छन् ।

प्रकाशित मितिः   १५ पुष २०७७, बुधबार ०८:४४