आगलागी हुँदा ४५ लाख क्षति

जुम्लाको एक विद्यालयमा आगलागी भएको छ । तातोपानी गाउँपालिका–२ जर्नीमा रहेको भवानी प्राथमिक विद्यालयमा आगलागी भएको हो । सोमवार बिहान १० बजेतिर एक्कासी आगलागी हुँदा विद्यालयको तीन कोठे नयाँ भवन जलेको छ ।

विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धनबहादुर बुढाका अनुसार आगलागीबाट ४५ लाख भन्दा बढीको क्षति भएको छ ।‘विद्यालयमा सात लाख बराबरको पाठ्यपुस्तक थियो । पुस्तकालय पूरै जलेको छ,’ उनले भने, ‘विद्यार्थीको दिवा खाजा राखिएको गोदाम, फर्निचर, भवन सबै जलेर नष्ट भएको छ ।’ बन्द रहेको विद्यालयमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको उनले बताए । बुढाका अनुसार एक सय वाटका आठ वटा सोलार र चार वटा ब्याट्री जडान गरिएको थियो । त्यही सोलारको तार सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको हो ।

‘त्यहाँ दिवा खाजा पकाउनका लागि ग्यास सिलिण्डर पनि राखिएको थियो, तार सर्ट भएपछि त्यो ग्याससम्म पनि आगो पुगेर पूरै जले छ,’ बुढाले भने । उनका अनुसार गत वर्षमात्र उक्त भवन जिल्ला शिक्षा कार्यालयको सहयोगमा बनेको थियो । भवन निर्माणमा १० लाख रूपैयाँ खर्च भएको थियो । उक्त विद्यालय १४ औं जिल्ला परिषद्बाट जिल्लाकै नमुना घोषणा भएको थियो । एक कक्षादेखि पाँच कक्षासम्म पढाइ हुने विद्यालयमा एक सय ३० जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयको भवन जलेपछि पठनपाठन प्रभावित हुने देखिएको छ ।

प्रकाशित मितिः   १४ पुष २०७७, मंगलवार ०९:१९