छोरीलाई गर्भमै हिंंसा

वीरेन्द्रनगर–५ की एक महिलाले पहिलो र दोस्रो सन्तानका रूपमा दुई छोरीलाई जन्म दिइन् । दुई वटै छोरी जन्माएकी उनलाई परिवारमा छोरा नै चाहिन्छ भन्ने दबाब आयो । त्यसपछि छोरा जन्माउनकै लागि उनले दुई पटक गर्भपतन गरिन् । गर्भमा छोरी देखिएपछि ती महिलाले गर्भपतन गरेकी हुन् । अहिले उनी फेरि गर्भवती छिन् । यस पटक पनि छोरा भए राख्ने र छोरी भए फाल्ने मनसायले श्रीमान्को साथमा उनी अस्पताल पुगिन् । डाक्टरले छोरा छन् भन्दिएपछि उनीहरूले गर्भ राखे ।

गुर्भाकोट नगरपालिकाकी–२७ वर्षीया महिलाले पहिलो सन्तान छोरी जन्माइन् । दोस्रो पटक गर्भवती भएपछि छोरा–छोरी के छ भनेर उनको परिवारले जान्न खोज्यो । तर आर्थिक अभावले उनी अस्पताल जान सकिनन् । उनका श्रीमान्ले छोरी नै होला भनेर दिनहुुँ शारीरिक यातना दिन थाले । अस्पताल नगए पनि घरमै गर्भ फालिदिन्छु भन्दै उनका श्रीमान्ले पेटमा लात्ती हानेको उनले सुनाइन् ।

उनको दोस्रो सन्तान पनि छोरी भइन् । त्यसपछि उनलाई थप यातना खेप्नुप¥यो । छोरी पेटमा हुँदा परिवार र श्रीमान्ले दिएको शारीरिक यातनाले उनी शारीरिकसँगै मानसिक रूपमा विक्षिप्त छिन् । अहिले उनलाई एक गैैरसरकारी संस्थाले मनोविमर्श सेवा दिइरहेको छ । ‘भिडियो एक्सरे गर्न जाने पैसा नभएपछि श्रीमान्ले कुट्न, पिट्न थाले । गर्भ खेर जान्छ भनेको फेरि छोरी जन्मिइन्,’ उनले भनिन्, ‘पछि छोरी जन्मिएपछि परिवारबाट झन् धेरै हिंसा खेपे ।’

वीरेन्द्रनगर–१४ की ३५ वर्षीया एक महिलाको पहिलो सन्तान छोरी छन् । दोस्रो पटक गर्भवती हुँदा परिवारकै दबाबमा चेक गराइन् । छोरी भएपछि उनले गर्भपतन गरिन् । छोरा जन्मिने आशमा दुई पटकसम्म गर्भपतन गराइसकेको उनी बताउँछिन् । उनले भनिन्, ‘छोरा नजन्माउँदा वंश नै रहन्न भन्छन् । त्यसैले पनि छोरा जन्माउनुपर्छ भनेर नचाहेर भएप नि मैले गर्भपतन गरें ।’

गर्भमै चेक गरेर छोरी भए पतन गर्ने प्रवृत्ति बढ्दो छ । गर्भमै भ्रूणहत्या गर्नु अपराध भए पनि गैरकानुनी रूपमा गर्भपतन गर्ने गरिएको हो । पछिल्लो समय छोराको आशमा गर्भपतन गर्नेहरू बढेको निजी स्वास्थ्य संस्थाहरूले बताएका छन् । लिङ्ग पहिचान गरेर गर्भपतन गर्नु कानुनले अपराध भनेको छ । तर कानुनी रूपमा अपराध हो भन्दाभन्दै पनि छोराको आशमा गर्भपतन गर्ने गरिएको हो ।

स्वास्थ्य संस्थामा चेकजाँच गर्न जाँदा पहिलो सन्तानको पालामा नसोधे पनि दोस्रो पटक, के छ ? छोरा छ कि छोरी भनेर सोधिने गरिन्छ । कर्णाली प्रदेश अस्पतालमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. सञ्जिता पन्त भन्छिन्, ‘पहिलो सन्तान छोरी भएकाले छोरा छ कि छोरी छ भनेर सोध्ने गर्नुहुन्छ । कतिपयले मैले पटक–पटक गर्भपतन गरिसके भन्नुहुन्छ । अब पनि छोरा भए मात्रै राख्ने र छोरी भए गर्भपतन गर्छाैं भन्ने गर्नुहुन्छ ।’ उनले यसो भन्नेहरूलाई सम्झाइबुुझाई गरेर पठाउने गरेको बताइन् । सरकारी अस्पतालबाट यसरी फिर्ता गरिएका महिलाहरूले निजी क्लिनिकहरूमा पुगेर असुरक्षित गर्भपतन गर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

चिकित्सकहरूका अनुसार महिलाहरूले पटक–पटक गर्भपतन गर्दा शारीरिक र मानसिक समस्या देखिने गरेका छन् । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा कर्णाली प्रदेशमा जन्मिनेहरूमा छोराहरूको संख्या बढी छ । सामाजिक विकास मन्त्रालयका तथ्याङ्क अधिकृत विनोद आचार्यका अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशमा जन्मिएका छोराको संख्या १४ हजार चार सय १६ र छोरीको संख्या १३ हजार तीन सय ४० थियो । आर्थिक वर्ष २०७६÷०७७ मा जन्मिएका छोराको संख्या १५ हजार एक सय ९३ छ भने छोरीको सख्ंया १४ हजार दुई सय एक छ । यी तथ्याङ्कले प्रदेशमा जन्मिने छोरीको भन्दा छोराको संख्या बढी देखाएको छ । गर्भपतनको यकिन तथ्याङ्क नभए पनि वर्षेनी सयौं भ्रूणको हत्या हुने गरेको अस्पताल स्रोतहरूको भनाइ छ । प्राकृतिक रूपमै छोराभन्दा छोरीको संख्या बढी जन्मिने गरे पनि पछिल्लो तथ्याङ्कले छोरी भएपछि गर्भपतन हुन्छ भन्ने देखाउने सरोकारवाला बताउँछन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार गर्भमै भ्रूण पहिचान गरेर पतन गर्ने शिक्षित परिवारहरू नै बढी छन् । मनोविमर्शकर्ता शर्मिला बिसीले समाजमा रहेका शिक्षित परिवारले नै गर्भपतन गर्ने गरेको बताइन् । महिलाहरू आफैभन्दा पनि परिवार र समाजको दबाबका कारण यस्तो निर्णयमा पुग्ने गरेको उनी बताउँछिन् । ‘मैले छोरा जन्माइन् भने मेरो श्रीमान्ले हेला गर्छ । समाजले अवहेलना गर्छ भन्ने खालका सोच महिलामा छन्,’ उनले भनिन्, ‘गर्भपतन पछि महिलामा शारीरिक समस्या र मनोरोगी हुने अवस्था आउन सक्छ ।’

छोरीको संरक्षणका लागि पछिल्लो समय स्थानीय सरकार, प्रदेश सरकारले समेत विभिन्न कार्यक्रम तथा अभियानहरू सञ्चालन गर्दै आएका छन् । स्थानीय तह र प्रदेश सरकारले छोरी बचत खाता, छोरीहरूको शिक्षा र सशक्तीकरणमा जोड दिएका हुन् । यद्यपि त्यस्ता कार्यक्रमको प्रभावकारी कार्यान्वयन भने हुन सकेको छैन ।

प्रकाशित मितिः   १४ पुष २०७७, मंगलवार ०९:१७