नेकपा टकराव, गुट जोगाउन नेताको दौडधुप

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई समूहले छुट्टा–छुट्टै भेला तथा अगुवा कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । पार्टी विभाजनपछि आ–आफ्ना समूहका धारणा लिएर केपी शर्मा ओली र पुष्पकमल दाहल ‘प्रचण्ड’ माधव नेपाल पक्षका नेता केन्द्रदेखि स्थानीय कमिटीसम्म पुगेका हुन् । उनीहरूले पार्टी विभाजनको स्थितिमा पुग्नुमा एक अर्को समूहलाई आक्षेप लगाएका छन् ।

विभाजित नेकपाका दुवै समूहबीच केन्द्रदेखि तल्ला पार्टी कमिटीमा टकराव सुरू भएको हो । यही टकरावबीच केन्द्रदेखि प्रदेशसम्म राजनीतिक र कानुनी हिसाबले दुवै पक्षले दबाब र प्रहारको नीति लिएका छन् ।

सोमवार कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा दुवै समूहका नेताहरूले कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरे । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको मतियार भएको आरोप लगाएका छन् । वीरेन्द्रनगरमा सोमवार बिहान पत्रकार सम्मेलन गरी उनीहरूले ओली समूहलाई यस्तो आरोप लगाएका हुन् । सबै कमिटीमा बहुमत रहेकाले आफूहरूनै आधिकारिक पार्टी हुने उनीहरूको दाबी छ ।

नेकपा विभाजनपछि दुवै समूहका नेताले एक अर्कोे पक्षलाई आरोप र आलोचना गर्दै आएका छन् । पत्रकार सम्मेलनमा नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री ओली प्रतिगमनको मतियार भएको बताए । उनले संसद्मा पर्याप्त बहुमत हुँदाहुँदै पनि ओलीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनको बाटो रोजेको आरोप लगाए ।

प्रचण्ड–नेपाल पक्षका अर्का केन्द्रीय सदस्य निरज आचार्यले प्रचण्ड–माधव भएकै पार्टी आधिकारिक हुने जिकिर गरे । उनले सूर्य चिन्ह र नेकपाका कार्यालयहरूमा आफूहरूको दावी रहने बताए । प्रतिनिधिसभा विघटनको विरोध प्रदर्शनका लागि रिजाल र आचार्यलगायतका नेताहरू वीरेन्द्रनगर आएका हुन् । प्रचण्ड–नेपाल समूहले आज (मंगलवार) विरोध कार्यक्रम गर्दै छ ।

यस्तै, सोमवार नै ओली समूहले वीरेन्द्रनगरमा युवा भेला गरेको छ । ¥यालीसहित आयोजित भेलालाई ओली पक्षका नेताहरूले सम्बोधन गरेका थिए । युवा संघका पूर्व अध्यक्ष एवम् नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले प्रचण्ड–नेपाल समूहलाई नेकपाका सम्पत्तिमा आँखा नलगाउन चेतावनी दिए । पार्टीको चुनाव चिन्ह र पार्टी कार्यालयहरू कब्जा गर्न खोजिए त्यसको परिणाम राम्रो नहुने उनले बताएका हुन् ।

‘सूर्य चिन्ह तपाईंहरूको विर्ता हैन्,’ प्रचण्ड–नेपाललाई कटाक्ष गर्दै बस्नेतले भने, ‘कमरेड हाँडी लिएर चुनावी मैदानमा उत्रिनुहोस् । बहुमत प्राप्त सरकारलाई सफल बनाउन छाडेर प्रधानमन्त्रीविरुद्ध मोर्चाबन्दी गर्नेलाई चुनाव चिन्ह हाँडी नै उपयुक्त हुन्छ ।’ उनले पार्टीमा मिल्नभन्दा पनि पार्टी नै निल्न आएकाहरू बेलैमा बाहिरिएर राम्रै गरेको बताए । ‘केपी ओलीले मिलाउन खोज्नु भएको हो । हजारौं प्रयासका बाबजुत पनि उनीहरूले फुटकै बाटो रोजे,’ नेता बस्नेतले दाबी गरे । ओली समूह नै नेकपाको मूलधार र संस्थापन पार्टी भएको बस्नेतको दावी छ ।

प्रकाशित मितिः   १४ पुष २०७७, मंगलवार ०९:१५