फुटबल संघमा हमाल
फुटबल संघ कर्णाली प्रदेशको अध्यक्षमा प्रमोद हमाल चयन भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमवार गठन गरेको प्रदेशको तदर्थ कमिटी निर्विरोध चयन भएको हो । सात सदस्यीय समितिको उपाध्यक्षमा जुल्लाका भरत खत्री चयन भएका छन् ।
यस्तै, एन्फा कर्णालीको महासचिवमा गणेशकुमार कार्की, कोषाध्यक्षमा अजय बुढा थापा र सदस्यहरूमा कृष्ण खड्का, महेन्द्र चोधरी र खगेश्वर आचार्य रहेका छन् । निर्वाचित कमिटीले चार जना सदस्यलाई समेत मनोनित गर्नेछ । एन्फाका केन्द्रिय परिवेक्षक कुमार केसी र एन्फा उपाध्यक्ष शिक्षित पराजुलीको उपस्थितिमा प्रदेश कमिटी गठन गरिएको हो ।
एन्फा कार्यसमिति सदस्य कुमार केसीले फुटबललाई बिकेन्द्रिकरण गर्ने उद्धेश्य अनुरूप संघीय संरचना अनुसार प्रदेश कमिटी गठन गरिएको बताए । अबको प्रदेशको कमिटी यसअघिको नाम मात्रको क्षेत्रीय समिति जस्तो नभएको उल्लेख गर्दै जिल्लाकै प्रतिनिधिको प्रस्ताव र सल्लाहमा प्रदेश गठन गरिएको केसीले उल्लेख गरे । ‘प्रदेश कमिटी यसअघिको क्षेत्रीय समिति जस्तो हैन । शक्ति पृथकीकरणको उद्धेश्य अनुरूप गठन गरिएको हो,’ उनले भने, ‘नामको मात्र नभएर प्रदेश गठनमा जिल्ला प्रतिनिधिबाटै गरिएको प्रस्ताव र सल्लाह गरेर गठन गरेका छौं ।’
नेपाल ओलम्पिक कमिटी (एनओसी)का केन्द्रिय सदस्यसमेत रहेका केसीले एन्फाको प्रदेश कमिटीसँग जिल्लाको कामकारबाही हेर्ने र आवश्यक निर्देशन दिने अधिकार रहेको बताए । ‘प्रदेशका कमिटी अधिकार प्राप्त छ । यसले जिल्लाको काम कारबाही हेर्ने र गतिविधिका आधारमा नयाँ जिल्लाको प्रस्ताव गर्ने अधिकार दिएका छौं,’ उनले भने ।
प्रकाशित मितिः १४ पुष २०७७, मंगलवार ०९:१३
साझा बिसौनी ।