नेतृत्वमा महिला
चेतनाको विकास सँगसँगै समाज रूपान्तरित भइरहेको छ । विगतका रुढीग्रस्त सोचमा परिवर्तन आएको छ । सामाजिक न्याय र समानताको स्वर मुखरित भइरहेको छ । यसको प्रत्यक्ष प्रभाव समाजमा देखिन थालेको छ । सार्वजनिक वृत्तमा महिलाहरूको उपस्थिति र नेतृत्वदायी भूमिका बढ्नु यसैको उदाहरण हो । जुन क्रम पछिल्लो समय बढ्दै गइरहेको छ । यो सकारात्मक पक्ष हो ।
राजनीतिक तथा सामाजिक अभियानको प्रभाव पनि हुन सक्दछ सानादेखि ठूला सबैखाले संरचनाहरूमा महिलाहरूको प्रतिनिधित्व र प्रभाव देखिन थालेको छ । जस्तो कि वीरेन्द्रनगर–११ मा शिवशक्ति सामुदायिक वन उपभोक्ता समिति छ । समितिको कार्यसमितिमा पनि ११ जना महिलाहरू छन् । विगत १५ वर्षदेखि पुरुषहरूले नेतृत्व गर्दै आएको सामुदायिक वनमा तीन वर्षयता महिला छन् । उनीहरूले पाएको जिम्मेवारी कुशलतापूर्वक हाँकेका छन् । वन जंगलको संरक्षण सँगसँगै उनीहरू यतिबेला सामूहिक तरकारी खेती गरेर उदाहरणीय बनेका छन् । वन क्षेत्रमा अम्रिसो लगाइ त्यसबाट समेत समितिको आम्दानी बढाइएको छ । वन उपभोक्ता समितिमा रहेर जंगल संरक्षणका लागि काम गरिरहेका महिलाहरू व्यावसायिक खेतीतर्फ पनि आकर्षित भएका हुन् । शिवशक्तिको नेतृत्व कृषि समूह बनाइ सामूहिक तरकारी खेतीमा लागेको हो । यसले महिलाहरूलाई आर्थिक उपार्जनसँग जोड्न सहयोग पु¥याएको छ । सामाजिक कार्य सँगसँगै व्यक्ति आत्मनिर्भर बनाउने यो उत्तम उपाय हो । जो महिलाहरूको नेतृत्वमा विकसित भएको हो ।
अर्कोतर्फ उपभोक्ता समितिमा महिलाहरूको नेतृत्व आएपछि विगतमा हुने गरेका बेथिति रोकिएको छ । स्थानीय उपभोक्ताहरू नै यो स्वीकार्छन् । यसले के पनि देखाउँछ भने विगतदेखि हालीमुहाली गर्दै आएका पुरुषहरूको तुलनामा महिलाहरूको नेतृत्व प्रभावकारी र पारदर्शी समेत हुने गरेको छ । त्यसो त समितिले अन्य थुप्रै उपलब्धि पनि महिला नेतृत्वमै हासिल गरेको हो । जंगल क्षेत्र हराभरा बनाउन विभिन्न अभियान तथा समितिका भौतिक संरचना निर्माणमा समेत थुप्रै काम गरेका छन् । तर यो नेतृत्व आफ्नो हातमा पार्न महिलाहरूले गरेको लडाइँ उदाहरणीय छ । पुरुषले महिलालाई नपत्याउँदा जबरजस्ती नेतृत्व लिनुपरेको थियो ।
समाज रूपान्तरणकै क्रममा छ । अझै पनि परम्परागत सोच पूर्ण रूपमा परिवर्तन भइसकेको छैन । महिलाहरूप्रतिको विभेद कायमै छ । पुरुषप्रधान समाजले सहजै उनीहरूलाई विश्वास गर्दैन । कतिसम्म पनि परिवार नै बाधक बन्ने गरेका यस्ता कयौं घटनाहरू छन् । तर पछिल्लो समय यस्ता चुनौतीहरू चिर्दै महिलाहरू निस्किन सफल भएका छन् । हिजोआज विकास निर्माणका लागि गठन गरिएका उपभोक्ता समितिदेखि विद्यालय, मन्दिरसहित विभिन्न स्थानीय संरचनाहरूमा महिला नेतृत्व बढ्दो छ । सरकारका निकायहरूमा पनि सहभागिता बढेको छ । वडादेखि गाउँपालिका, नगरपालिका, प्रदेश र संघीय सबै सरकारका संरचनाहरूमा कुनै न कुनै रूपमा महिलाहरूको सहभागिता र भूमिका बढेको छ । यो लोकतन्त्रले दिएको सुन्दर पक्ष हो । जसलाई संस्थागत गर्दै समतामूलक समाज निर्माणमा जुट्नु जरुरी छ ।
प्रकाशित मितिः १४ पुष २०७७, मंगलवार ०९:०८
साझा बिसौनी ।