‘जनमतको अपमान भयो’

प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमवार सुर्खेतसहित देशभर विरोध प्रदर्शन गरेको छ । कांग्रेस सुर्खेतले पूर्वी सुर्खेतको गुर्भाकोटको मेहेलकुना र पश्चिम सुर्खेतको बाबियाचौरमा विरोध सभा गरेको हो ।

बाबियाचौरमा भएको सभालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले सम्बोधन गरेका थिए । नेता थानीले सरकारले संविधानमाथि कुठाराघात गरेको भन्दै यो अलोकतान्त्रिक र संविधानविरोधी कदम भएको टिप्पणी गरे । उनले नेकपा सरकारले जनताको अभिमतलाई अपमान गरेको भन्दै संविधानको रक्षा गर्न कांग्रेसको आवश्यकता खट्किएको जनाए ।

यस्तै गुर्भाकोटको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्री तप्तबहादुर विष्टले जनता कोरोनाको मारमा परिरहँदा नेकपा सत्ताको जीत–हारमा लागेको बताए । कार्यक्रमलाई सम्बोधन गर्ने अन्य नेताहरूले प्रधानमन्त्री केपी ओलीले जनादेशको अपमान गर्दै लोकतन्त्रमाथि प्रहार गरेको बताएका थिए । नेताहरूले कोरोनाको मारमा जनताहरूतड्पिरहेको अवस्थामा सत्ता र शक्तिका लागि नेकपाका नेताहरू आ–आफूमा लड्नु लज्जास्पद भएको बताएका छन् । सरकार अलोकतान्त्रिक बाटोमा हिँड्न खोजेको भन्दै कार्यकर्ताले विरोध प्रदर्शनका क्रममा ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटनको घोषणा गरेसँगै नेपाली कांग्रेस लगायत अरू दल र नेकपाभित्रैबाट विरोध भइरहेको छ ।

प्रकाशित मितिः   १४ पुष २०७७, मंगलवार ०९:०७