राप्रपा र राप्रपा नेपालको एकता घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच पार्टी एकता घोषणा भएको छ । एकता घोषणा गर्दै नेताहरुले एकीकृत पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउने उदघोष गरे ।

एकतापछि पार्टीको नाम ‘राष्ट्रिय प्रजातन्त्र पार्टी’ राखिएको छ भने झण्डा राप्रपा नेपालको कायम गरिएको छ । पार्टीको कार्यकारी अध्यक्ष कमल थापा र राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणा छन् । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, विश्वबन्धु थापा र डा। प्रकाशचन्द्र लोहनी वरिष्ठ नेता छन् ।

प्रज्ञा प्रतिष्ठानमा सोमबार आयोजित पार्टी एकता घोषणा सभामा नेताहरुले अब राप्रपालाई देशको प्रमुख शक्ति बनाउने बताए । राप्रपा अध्यक्ष कमल थापाले भने, ‘यो एकताले बैकल्पिक मार्गचित्रका साथ एउटा प्रजातान्त्रिक शक्ति खडा भएको छ ।’

मुलुकले भरोसा गर्न सक्ने, दुरगामी सोचाई र अनुभव बोकेको पंक्ति पार्टीमा रहेको उनले बताए । आरोह अवरोहका क्रममा केही ओझेलमा परेको भएपनि अब नयाँ शक्तिको उदय भएको र जनतामा भरोसा जागेको उनले दाबी गरे ।

राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर राणाले हिन्दु राष्ट्र स्थापनाका लागि राप्रपाले नेतृत्वदायी भूमिका गर्ने बताए । नेपाल धर्मनिरपेक्ष हुन नसक्ने भन्दै उनले भने, ‘म चुनौती दिन चाहन्छु, सक्छौं भने जनमत संग्रह गरेर जनमत संग्रह गर ।’

प्रकाशित मितिः   ६ मंसिर २०७३, सोमबार १७:२०