प्रहरी र स्थानीयबीच झडप, १२ जना घाईते

स्थानीय तहको पुनर्संरचनाका विषयमा विवादका कारण मुगु सदरमुकाम गमगढीमा दिनहुँ प्रदर्शन गरिरहेका स्थानिय र प्रहरीबीच झडप भएको छ । झडपमा १२ जना घाईते भएका छन् ।

आज दिउँसो जिल्ला सदरमुकाममा भएको मुठभेटमा प्रहरीले स्थानिय माथी ज्यादती गरेको रारा गाउँपालिका निर्माण सङघर्ष समितीले जनाएको छ । प्रहरीले लाठी चार्ज गर्दा आन्दोलनका लागी सदरमुकाममा आएका रारा, कालै र धैनकोट गाविसका स्थानिय घाईते भएका हुन् । घाईते हुनेमा हस्त बहादुर शाही, ज्ञान बहादुर शाही, डबल बम, सुर्य नेपाली, देविलाल मल्ल, गगने कामी, धर्मराज शाही, लोक बहादुर शाही, टाईगर शाही, सुर्य नेपाली, हिर जैशी र संखु जैशी रहेका छन् ।

घाईते हुनेहरु मध्येका हस्त बहादुर शाही र ज्ञान बहादुर शाहीको अवस्था चिन्ताजनक रहेको छ । घाईतेहरुको सदरमुकाममा रहेको स्थानिय मेडिकलमा उपचार भईरहेको छ ।

९ वटा ईलाकाहरु रहेको मुगु जिल्लालाई ३ गाउँपालिका र १ नगरपालिका बनाउने खाका स्थानिय निकाय पुनसंरचना आयोगमा सिफारिस गरिएपछि जिल्लाको रारा, कालै र धैनकोट गाविसका गाउँस्तरका दलका नेता कार्यकर्ता र स्थानीय बासिन्दा बिगत २ हप्तायता आन्दोलनमा रहेका छन् ।

स्थानियले गएको शुक्रबार जिल्ला बिकास समिती र हिजो आईतबारबाट जिल्लाका सबैजसो कार्यालय बन्द गराएका थिए । सरकारी कामकाज प्रभावित भएपछि प्रहरीले जिल्लाका कार्यालयहरुको ताला खुलाएको छ । झडप भईरहेकै बेलामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठक पनी पुनहं बस्ने निर्णय गर्दै स्थगित भएको छ । रारा, कालै र धैनकोट गाविसलाई जोडेर छुट्टै रारा गाउँपालिकाको माग गर्दै आन्दोलन गर्दै आएका स्थानियले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताउदै आएका छन् ।

प्रकाशित मितिः   ६ मंसिर २०७३, सोमबार १७:१४