रङ्ग बदल्ने कुपिण्डे दह(फोटो फिचर)

2सुर्खेतको छिमेकी जिल्ला हो, सल्यान । सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल, जहाँ पछिल्लो समय पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । जसले गर्दा यसको चर्चा पनि बढ्दो छ । जिल्लाको महत्वपूर्ण पर्यटकीय सम्पदाको रूपमा रहेको कुपिण्डे दह (ताल) कुपिण्डे गाविसमा पर्दछ । जिल्ला सदरमुकाम खलंगादेखि २४ किलोमिटर पश्चिममा पर्ने यो दह निकै मनोरम र आकर्षक छ ।

पहाडले घेरिएको र बीचमा नीलो पानीले भरिभराउ कुपिण्डे दह देख्दा मोहित नहुने सायदै कोही होला । वरिपरि अग्ला–अग्ला पहाड, हरियाली जंगल र बीचमा नीलो आकाशझैं दक्षिणतिर फैलिएको मनै लोभ्याउने कुपिण्डे दह जिल्लाको प्राकृतिक सौन्दर्यले भरिपूर्ण पर्यटकीय स्थल हो । दहको भौगोलिक क्षेत्रफल कति छ भन्ने वैज्ञानिक रूपमा नाप नभए पनि स्थानीयबासीले दुई हजार आठ सय क्षेत्रफलमा फैलिएको दाबी गर्छन् । वर्षेनी कुपिण्ड दहसँगै जोडिएको मन्दिरमा पूजाआजा गर्न आउनेहरूको संख्या पनि बढ्दै गएको पूजारी लालबहादुर कँवर बताउँछन् । उनका अनुसार कुपिण्डे दहले वर्षमा तीन रङ्ग बदल्ने गर्दछ । वर्षा, हिउँद र गर्मी याममा दहले रङ्ग बदल्ने पूजारी कँवरको भनाइ छ ।

1

रहस्यमय के छ भने दहको पानी बगेर जाने ठाउँ देखिदैन र यसको गहिराइ कति छ भन्ने अनुमानबाहेक यथार्थ कसैले पत्ता लगाउन सकेको छैन । दहकै छेऊमा रहेको मन्दिरमा बराहदेवको आराधना गरिन्छ । यो मन्दिरमा मार्ग शुक्लपूर्णिमा र वैशाख शुक्लपूर्णिमाका दिन ठूलो मेला लाग्दछ । मेलामा बाँके, बर्दिया, जाजरकोट, सुर्खेत, दैलेख, रुकुम, रोल्पा, दाङ, प्यूठान लगायतका जिल्लाबाट थुप्रै तीर्थयात्रीहरू आउने गर्दछन् । भेडा र कुखुराको बलि चढाइने उक्त मन्दिरमा सन्तान नभएका जोडीहरू आएर पूजा आराधना गरी सन्तान प्राप्तीको कामना पनि गर्दछन् ।

3

आजभोलि कुपिण्डे दह पिकनिक स्पट र अवलोकन भ्रमणको राम्रो गन्तव्यको रूपमा समेत विकास हुन थालेको छ । जिल्लाका विभिन्न सरकारी तथा गैह्रसरकारी निकाय र विद्यार्थीहरू पिकनिक तथा शैक्षिक भ्रमणको रूपमा कुपिण्डे दहलाई रोज्ने गरेका छन् । पछिल्लो समयमा कुपिण्डे दहमा आउने पर्यटकहरूको संख्या बढेको छ । कुपिण्डे दह संरक्षण तथा पर्यटन विकास केन्द्रका अनुसार विगत तीन वर्षमा आन्तरिक एवम् बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
जिल्लामा विभिन्न कार्यक्रम लिएर आउने सरकारी तथा गैह्रसरकारी कार्यालयका व्यक्ति, आगन्तुक एवम् स्वेदशी तथा विदेशी पर्यटकहरू सल्यान आएमा कुपिण्डे पुगेरै फर्किन्छन् । कुपिण्डे दह संरक्षण तथा पर्यटकीय विकास केन्द्रका अध्यक्ष झरेन्द कवँरले सल्यान खलंगा– बालुवासंग्रही सडकको ट्रयाक खोल्ने कार्य पूरा भएसँगै कुपिण्डे दहमा आउने पर्यटकको संख्या बढेको बताउँछन् । उनका अनुसार वर्षभरिमा आन्तरिक र बाह्य पर्यटक गरी १५ हजार बढीले दह अवलोकन गरिसकेका छन् ।

4

कुपिण्डे दह संरक्षण समितिले दहमा डुङ्गा (चम्फा) सञ्चालनमा ल्याएको छ । दहमा आएर डुङ्गा शेयर गर्ने पर्यटकहरू राप्ती अञ्चलसँगै भेरी अञ्चलका बाँके, बर्दिया, सुर्खेत र जाजरकोटबाट समेत आउने गरेको डुंग चलाक सेतीराम पुरी बताउँछन् । उत्तर दक्षिणतर्फ फैलिएको उक्त दहको पूर्व र दक्षिणमा ज्यामिरे पर्छ र उत्तरमा दह । दहमा पानी कतैबाट आउँदैन तर दक्षिण खाडल भएर निस्कन्छ । वरिपरि हरियाली वन जंगल छ । जंगलमा घोरल, रतुवा, भुइचे कालिज, परेवा र तलाउमा हाँस, जलेवा पाइन्छ । ती सबैलाई संरक्षण गर्न दह वरिपरिको सय मिटर क्षेत्रभित्र कुनै पनि वन्यजन्तु र काठपात उपयोगका लागि बन्देज गरिएको बताउँछन् कुपिण्डे दह संरक्षण तथा विकास केन्द्रका अध्यक्ष झरेन्द्र कुँवर । जिल्ला विकास समितिको लगानीबाट दहदेखि करिब १ किमिको दूरीमा रहेको बावियाचौरसम्म मोटरबाटो पु¥याइएको छ ।

सडकबाट १५ मिनेटको पैदल यात्रा गरे दह देख्न सकिन्छ । यस मोटरबाटोलाई छिन्चु–जाजरकोट सडकअन्तर्गत बालुवासंग्रहीसम्म जोडिएको छ । दहको वरिपरिको जंगल क्षेत्र संरक्षण गरिएको छ । दहको पानी स्वच्छ र सफा भएकाले वरपरका गाविसमा खानेपानीको सुविधा समेत पुर्याउन सकिने सम्भावना रहेको छ ।

5

राम्रो सम्भावना हुँदाहुँदै पनि विकासका पूर्वाधारहरूको अभावका कारण कुपिण्डे दहलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिएको छैन । तीव्र भू–स्खलन र वरिपरिको जंगल संरक्षण नभएको हुँदा वर्षेनी दह पुरिने खतरा पनि उत्तिकै मात्रामा बढिरहेको छ । त्यसतर्फ सरोकारवाला निकायले बेलैमा सचेत हुन जरुरी छ । दहसम्म पुग्ने सडकको स्तरोन्नती गर्ने र यसको संरक्षणका साथै प्रचार–प्रसारमा ध्यान दिने हो भने घुमफिर वर्ष २०७३ सफल बनाउन कुपिण्डे दहले पनि महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

प्रकाशित मितिः   ६ मंसिर २०७३, सोमबार १३:५२