निजी क्षेत्रको नेतृत्व निर्विरोध

नेतृत्व आफ्नो पक्षमा पार्न सामाजिक संस्थाहरूमा समेत दलीय विभाजन हुने गरेको छ । हरेक क्षेत्रमा चुनावी प्रतिस्पर्धा भइरहेका बेला निजी क्षेत्रको संस्था उद्योग वाणिज्य महासंघमा भने निर्विरोध नेतृत्व चयन गरिएको छ । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशको नेतृत्व निर्विरोध निर्वाचित भएको हो ।

महासंघको ११ सदस्यीय समिति नै निर्विरोध चयन भएको छ । अध्यक्षमा पदमबहादुर शाही निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उपाध्यक्षमा रज्जव अली मनिहार (जिल्ला, नगर) र प्रकाश उप्रेती (एशोसिएटतर्फ) निर्वाचित भएका छन् ।

यस्तै, कोषाध्यक्षमा सुधन श्रेष्ठ र सदस्यहरूमा झविराज खत्री, सीताराम कार्की, कविराज कँडेल, कर्णबहादुर खत्री, दीपकराज खड्का, कृष्णप्रसाद कोइराला र नामग्याल तामाङ निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीले शनिवार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । शनिवार वीरेन्द्रनगरमा औपचारीक कार्यक्रमको आयोजना गरी पदाधिकारीले सपथ ग्रहण गरेका हुन् । निर्वाचित सदस्यलाई मुख्य निर्वाचन अधिकृत विवशकुमार बस्नेतले सपथ खुवाएका थिए ।

सपथ ग्रहणपछि बोल्दै अध्यक्ष शाहीले निजी क्षेत्रको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्योग वाणिज्य महासंघ व्यवसायीहरूको हक हितका क्षेत्र काम गर्ने संस्था हो ।

प्रकाशित मितिः   १२ पुष २०७७, आईतवार ०६:०२