विमानस्थल विस्तारको औचित्य
पुस महिनाको यो कठ्याङ्ग्रिने चिसोमा विमानस्थल विस्तारको चर्चाले एकातिर सुर्खेतलाई तताइरहेकोे छ भने अर्कोतिर गाग्रेतात, बस्तीपुर, नेवारे र चनौटेका बासिन्दालाई मर्ममा हानेर सताइरहेको छ । सबैको मन–मनमा पहिलो जिज्ञासा एउटै छ, विमानस्थल विस्तारको औचित्य के हो ?
विमानस्थललाई राष्ट्रियस्तरको बनाउन खोजिएको हो वा अन्तर्राष्ट्रियस्तरको ? यस सवालको जवाफ दिने व्यक्ति, निकाय कोही कतै भेटिंदैन । याद रहोस् जवाफ नपाएका प्रश्नले मनमा घाउ बनाउँछन् । जानकारहरू भन्छन्, राष्ट्रिय उडानका लागि हालकै विमानस्थल काफी छ, अन्तर्राष्ट्रिय उडानका लागि कुनै मापदण्डले भ्याउँदैन । तब केका लागि रहेछ यो विमानस्थल विस्तार गर्न खोजिएको ?
डोल्पा, जुम्ला, हुम्ला, मुगुलगायतका पहाडी जिल्लाहरूमा ठूला जहाजहरू किमार्थ बस्न–उड्न सक्दैनन् किनकि त्यहाँको भू–बनोटले ठूलो विमानस्थल स्वीकार्दैन । ती सबै जिल्लामा सुर्खेतबाट साना जहाजहरूले दैनिक जति उडान पनि भरिरहेका छन्, सेवा पु¥याइरहेका छन् । यी जहाजका लागि विमानस्थल विस्तारको कतै कुनै जरुरी देखिदैन । सोलुखुम्बुमा तीनवटा व्यस्त विमानस्थल छन्, दैनिक सयौं यात्री उडिरहन्छन् । के त्यता ठूला जहाज बस्छन् ? बस्दैनन् ।
सुर्खेतमा अहिले बुद्ध एयरको मात्र एकाधिकार कायम भएकोले नेपालगन्जको दाँजोमा धेरै चर्को भाडा तिरेर सुर्खेती यात्रीहरू काठमाडौं उड्न बाध्य छन् । कसैको साँठगाँठ होला कि नहोला यो एकाधिकारमा ? साँठगाँठ तोडेर अन्य कम्पनीका जहाजहरू पनि आउने वातावरण बन्यो भने भाडादर केही सस्तिन सक्छ जसरी नेपालगन्जमा सस्तो छ । मझौला खाले जहाजहरूले उडान भर्न थालेपछि सत्तरी सीट भएको ठूलो जहाज नआए पनि हर्जा हुँदैन । विकल्प त छ नि । विकल्प हुँदाहुँदै पनि हात धोएर कोही किन सत्तरी सीट क्षमता भएको जहाजकै पछाडि दौडिरहेका छन् ? यसमा सायद ‘छ्यालब्याल’ बजेट बग्यो भने भलपानी छोप्न पाइन्छ भन्ने लालसा त होइन कतै ? यो शंकालाई हामीले मनमा किन नपाल्ने ?
प्रशासनिक रूपले विमानस्थल विस्तारका लागि काम अघि बढीरहेको समाचार सार्वजनिक भएका छन् । तर आजसम्म सम्बन्धित जग्गाधनीहरूलाई भेला गरी छलफल समेत चलाइएको छैन । हामी सरोकारवालाहरूलाई कतै कुनै सुइँकोसम्म नदिइ हाम्रा धुरी–धुरीमा ड्रोन उडाएर मनोवैज्ञानिक रूपमा आतंकित पारिएको छ । यही हो लोककल्याणकारी राज्यको धर्म ? कहिले दक्षिणतर्फ दुईसय मिटर र उत्तरतर्फ चारसय साठी मिटर जग्गा अधिग्रहण गर्ने भनिएको छ, कहिले दक्षिणतर्फ चाहिँदैन उत्तरतर्फ मात्र ६ सय मिटर अधिग्रहण गरे पुग्छ, भनिएको छ । गुरुयोजनामा के व्यहोरा उल्लेख छ ? कोही कसैले चाहँदैमा निर्णय त्यसरी घरीघरी फेरबदल गर्न पाइन्छ ?
यसो भनिरहँदा विकास विरोधीको आरोप पनि लाग्न सक्ला कतैतिर । दुई–चार वटा घरधुरी मात्र भइदिएको भए, ती घरधुरीलाई पायक पर्नेगरी व्यवस्थापन हुने प्रत्याभूत भइ दिएको भए अधिग्रहण र मुआब्जाका कुरामा तगारो हालेर ढिपी गर्नु पनि शोभनीय हुँदैनथ्यो । यहाँ त नेवारे चनौटेमा बाक्लो बस्तीका सयौं पक्की घरहरू ढालेर भनौं सुर्खेतको आधा पुरानो बस्ती मासेर विनाश गर्न खोजिएको छ । त्यस्तो विनाशलाई कसरी विकासको नाम दिन सकिन्छ ? हाम्रो भावनासँग जोडिएको सुर्खेतको गौरव, नेवारे चनौटेको मूल पहिचान अमरज्योति नमूना माध्यमिक विद्यालयलाई पैसाको बलमा जहाजको पाङ्ग्राले कुचेर धुलाम्य बनाउने ? यो विद्यालयका लागि यस्तो व्यवस्थापन यसरी गरिएको छ भनेर कसले के आड भरोशा दिएको छ ?
भौगोलिक बनोटले समेत प्रतिकूल हुने ठाउँमा जबर्जस्ती विमानस्थल विस्तार गर्नुको सट्टा नेपालगन्ज–सुर्खेत सडकलाई चार लेनको बनाउनेतर्फ ध्यान दिइयोस् । त्यो हुन्छ जनहितकर र सक्कली विकास । हाम्रो पवित्र भावनामाथि बलमिच्याँइ गरेर निर्माण हुने विमानस्थललाई हामी किन कसरी स्वीकार गरौंला ?
सरोकारवालाहरू सँगसँगै बसौं, यस्ता प्रश्नहरूको विषयमा विचार र छलफल गरौं विकल्प खोजौं । हाम्रो भावनासँग जोडिने स्वजनहरू हातेमालो गरौं, ऐक्यबद्धता जनाऔं ।
विमानस्थल विस्तारको चर्चाले प्रभावित क्षेत्रका नागरिकका मनमा उब्जाएका प्रश्नहरूको जवाफ सम्बन्धित पक्षले दिन जरुरी छ । किनभने यहाँका नागरिकले विगतमा पनि विमानस्थलकै लागि भनेर ठूलो त्याग गरेका छन् । ‘सत्तरी सीट क्षमताको जहाज आउने भएपछि सुर्खेतदेखि काठमाडौं जाने भाडादर निकै सस्तिन्छ तब हाम्रा सुदिन आउँछन्’ भनेर विगतकालमा उत्तरतर्फ दुई सय मिटर विस्तार भएको विमानस्थल क्षेत्रले हस्तवीर प्राथमिक विद्यालय सहितका अन्य घर जग्गाधनीहरूलाई विस्थापित मात्र गरेन, वीरेन्द्रनगर बजारबाट नेवारे, बस्तीपुर, गाग्रेताल आउजाउ गर्ने व्यस्त सडक पनि निलिदियो । तर सत्तरी सीटको जहाज आउँदै आएन बरु अत्यन्त चर्को भाडादर तोकेर बुद्ध एयरको मझौला जहाजले एकाधिकार कायम ग¥यो । सुर्खेतबाट काठमाडौं उड्ने भाडा दरले गाडीमा नेपालगन्ज गएर जहाज चढी काठमाडौं ओर्लिएपछि टेक्सी लिएर गन्तव्यमा पुग्दा समेत दुई–अढाई हजार रकम बचत हुन आउँछ ।
अघिल्लो पटकको विमानस्थल विस्तारकै क्रममा दिइएको आश्वासन किन पूरा भएन ? आजसम्म किन बसेन ठूलो जहाज ? किन सस्तिएन भाडा ? जनताप्रति गरिएको त्यो बेइमानीको जवाफदेहिता कसको ? फेरि उही र उस्तै व्यहोरा दोहो¥याउँदै ठूला जहाजलाई धावनमार्ग अपुग भएका कारण दक्षिणतर्फ दुईसय मिटर र उत्तरतर्फ चारसय साठी मिटर क्षेत्रफल अधिग्रहण गरी विमानस्थल विस्तार गरिने भन्ने जस्ता खबरहरू आइरहेका छन् । जबकी दक्षिणतर्फ नेपालगन्ज–सुर्खेत जोड्ने व्यस्त राजमार्ग अवस्थित छ, जहाँ धुलियाविट वीरेन्द्रनगर खण्डको नारा खोल्सो, नेवारेखोला र इत्राम खोलामा ठूला र पक्की पुलहरू निर्माणाधीन अवस्थामा छन् । ती पुलहरूको भविष्य र निर्माणकार्यमा खर्चिएको त्यत्रो रकमको हिसाब किताब के हुन्छ ?
उत्तरतर्फ नेवारे गाउँको घनाबस्ती मात्र छैन, नेवारे र चनौटेका मानिसहरूको भावना जोडिएको सुर्खेत जिल्लाकै प्रतिष्ठितमध्ये एक अमरज्योति नमूना माध्यमिक विद्यालय पनि छ । विद्यालयको पठनपाठन कस्तो हुन्छ ? व्यवस्थापन कहाँ र कसरी गरिन्छ ? गाँस टिपेर चिसैहात स्कुल पुग्ने गरेका हाम्रा नानीहरूको भविष्य कता पुग्छ ? नेवारेका प्रत्येक घरका मानिसहरू प्रायः सरकारी सेवामा जोडिएका छन् । जागिर समेतको कारणले पायक पर्ने ठाउँमा व्यवस्थापन हुन न्यायोचित देखिन्छ । त्यतातर्फको सोच विचार के कस्तो छ ? सुर्खेतको घर जग्गा चलनचल्तीमा उचित रकम थप गरी मुआब्जा वितरण गर्दा तिहुनभन्दा मसला धेरै हुने त होइन ? विमानस्थल विस्तार विकासको साँच्चै आवश्यकता होकि कसैको सस्तो लोकप्रियता ? अबको बाह्र–पन्ध्र वर्षपछि फेरि यो विमानस्थलको विकल्प खोज्नुपर्ने अवस्था आयो भने, कतै हलो काटी मुङ्ग्रो हुने त होइन ? भए गरेका र रहेका पूर्वाधारहरू भताभुङ्ग पार्नु अगाडि यी तमाम प्रश्नमाथि विचार पु¥याइनु पर्छ कि !
राज्यले चाहेका बखत जग्गाधनीलाई उचित मुआब्जा दिइ जग्गा अधिग्रहण गर्न सक्ने कानुनी व्यवस्था छ । विमानस्थल विस्तारले भेरी–कर्णाली क्षेत्रको सर्वाङ्गीण विकास हुन्छ भने हामी कोही विकास विरोधी भएर उभिनु पनि शोभनीय हुँदैन । बहुजन हितका लागि अत्यन्त गरुङ्गो मन लिएर त्याग्न तयार छौं पुर्खादेखिको आफ्नो थातथलो । तर विकास भनेको विमानस्थल विस्तार मात्रै अवश्य पनि होइन होला । सडकहरू कति विस्तार गरिए, कति पिच भए, कति स्तरोन्नति गरिए, स्कुल कलेज कहाँ–कहाँ खुले, बिजुली बत्ती खानेपानी र स्वास्थ्य सेवामा जनता लाभान्वित छन्–छैनन् त्यतामुखी पनि राज्यको ध्यानाकर्षण भैदिए राम्रो हुन्थ्यो कि ।
सुर्खेतको विस्तारित विमानस्थलमा उत्तरी मोहोडाबाट जहाज अवतरण गर्न सक्छ कि सक्दैन, कुहिरो लाग्दाका बखत दृश्य दृष्टिले अवतरण गर्न र उडान भर्न भ्याउँछ कि भ्याउँदैन, रात्रीकालीन उडानका लागि भूगोल अनुकूल हुन्छ कि हुँदैन त्यो प्राविधिक पाटो जनता जान्दैनन् बुझ्दैनन् । जनता केवल व्यवहारिक विषय जान्दछन् र मनमा केही प्रश्न खेलाउँछन् । जस्तोकी, एकमुष्ट विस्तार गर्नुको साटो विमानस्थल किन पटक–पटक विस्तार गरिन्छ ? भविष्यमा यो शिलशिला कहिलेसम्म कायम रहन्छ ? उपत्यका बाहिरतिर पनि कतै विकल्प खोजी गर्न मिल्ला कि नमिल्ला ? आदि इत्यादि । विमानस्थल विस्तार गर्ने पूर्वसन्ध्यामा सरोकारवालाहरूलाई भेला जम्मा गराइमाथि उल्लेखित तमाम प्रश्नहरूमाथि छलफल चलाउन पनि उत्तिकै आवश्यक देखिन्छ ।
प्रकाशित मितिः १२ पुष २०७७, आईतवार ०६:०३
साझा बिसौनी ।