विमानस्थल विस्तार रोक्न ध्यानाकर्षण

सुर्खेत विमानस्थल विस्तार रोक्न माग गर्दै प्रभावित क्षेत्रका नागरिकहरूले सरोकारवाला निकायको ध्यानाकर्षण गरेका छन् । प्रभावित क्षेत्रका बासिन्दाले शुक्रवार सरोकारवाला निकायलाई ज्ञापन–पत्र बुझाएका हुन् ।

यसअघि पटक–पटक विमानस्थल विस्तार तथा स्तरोन्नति गर्दा पनि कर्णालीका जनताले हवाई सुविधा पाउन नसेको भन्दै विमानस्थल विस्तारको औचित्य नरहेको स्थानीयबासिन्दाको जिकिर छ । हालको विमानस्थल विस्तारभन्दा पनि दीर्घकालीन समस्या समाधानका लागि विकल्प खोजेर अन्यत्रै विमानस्थल बनाउनुपर्ने उनीहरूको माग छ । अहिले सुर्खेत विमानस्थल विस्तारका लागि सरकारले जग्गा अधिग्रहणको काम अघि बढाएको छ । तर, स्थानीयले विमानस्थल विस्तार दिगो नहुने भन्दै रोक्नुुपर्ने माग गरेका हुन् ।

विमानस्थल विस्तार प्रभावित नागरिक सरोकार समितिले शुक्रवार नागरिक उड्डयन प्राधिकरण कार्यालय सुर्खेतमा ज्ञापन–पत्र बुझाएका छन् । विमानस्थल विस्तारको नाममा पुरानो बस्तीलाई तहसनहस गराउने र कर्णालीका नागरिकले हवाइ सेवाका लागि नेपालगन्जनै धाउनुपर्ने अवस्था रहने स्थानीयको आशंका छ । नागरिक सरोकार समितिका संयोजक टिकाराम आचार्यले वर्षौं लगाएर बनेका संरचना हटाएर जनतालाई दुःख मात्र दिने काम भएको र यसमा राजनीतिक स्वार्थ लुकेको बताए । ‘यसअघि पनि पटक–पटक विमानस्थल विस्तार गरिएकै हो । जनताले आफ्नो थातथलो छोडेकै हुन् । न ठूला जहाज आए, न जनताले सुविधा पाए । अझै पनि हामी नेपालगन्ज गएर हवाइ सेवा लिनुपर्ने अवस्था छ,’ उनले भने । यसरी गरिने विकासले दिगो समाधान नदिने उनी बताउँछन् ।

विमानस्थल विस्तार गर्नु प्राविधिक हिसाबले ठीक छैन भन्ने रिपोर्टहरू आउँदा आउँदै राजनीतिक स्वार्थको चगुंलमा बस्ती उठाउन लागिएको उनले आरोप लगाए । ‘यदि विमानस्थल विस्तार गरेर दिगो हुँदैन भने विस्तार गर्नुको औचित्य के ? हामी कुनै पनि हालतमा विमानस्थल विस्तार गर्न दिदैनौं,’ संयोजक आचार्यले भने । सरोकार समितिले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकारलगायतका निकायमा पनि ज्ञापन–पत्र बुझाउने बताएको छ । विमानस्थल विस्तार नरोके सशक्त आन्दोलनमा जाने समितिले जनाएको छ  ।

वीरेन्द्रनगर नगरपालिका–१२ का अध्यक्ष लोकप्रसाद चालिसेले प्राविधिक हिसाबले ठीक छैन भन्दा भन्दै राजनीतिक स्वार्थ अनुकूल विमानस्थल विस्तारको काम अघि बढाउन लागिएको बताए । विमानस्थल विस्तार गरिँदा वीरेन्द्रनगर–१० र १२ प्रभावित क्षेत्रमा पर्छन् । यता सरकारले भने प्रारम्भिक अधिकारी तोकेर विमानस्थल विस्तारका लागि प्रभावित क्षेत्रको लगत संकलन सुरू गरिसकेको छ । नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुख एवम् लगत संकलन प्रारम्भिक समितिका संयोजक उमेशकुमार पन्थीले प्रभावित क्षेत्रका नागरिकले विमानस्थल विस्तार रोक्न ज्ञापन–पत्र बुझाएकाले यस विषयमा माथिल्लो निकायसँग छलफल गरिने बताए ।

प्रकाशित मितिः   ११ पुष २०७७, शनिबार ०९:२८