‘पढेको शुल्क एक मुरी धान दिनुपथ्र्योे’

वीरेन्द्रनगर–८ निवासी ददीराम पौडेल शिक्षासेवी हुन् । उनले लामो समय निजामती सेवामा रहेर पनि काम गरे । पौडेल वि.सं. १९९३ फागुन २९ गते बुवा मणिराम पौडेल र आमा चन्द्राकुमारी पौडेलको कान्छा सन्तानका रूपमा वीरेन्द्रनगरको कट्कुवामा जन्मिएका हुन् । शिक्षण पेसा र कृषि क्षेत्रका अनुभवी उनै पौडेलले आफ्नो बालापनका सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटेः

ददीराम पौडेल

हाम्रो पालमा गाउँमा विद्यालय थिएनन् । अक्षर चिन्न र ज्ञानका लागि गुरुकुुल जानुपथ्र्यो । भाषा पाठशालामा गएर पढ्ने गरिन्थ्यो । घरदेखि टाढा बसेर सबैले पढ्न सक्ने अवस्था पनि हुन्थेन् । पढ्न लेख्न जानेकाले घरमै पनि पढाउँथे । टोलभरीका केटाकेटीलाई जम्मा गरेर एउटा घरको कोठामा पढाइन्थ्यो । मैले जान्ने भएदेखि गुरुको घरमा साथीहरूसँग बसेर पढेको सम्झना छ ।

सानै उमेरदेखि नै अक्षर चिन्ने अवसर पाएँ । दिनभरी गुरुको घरमा गएर पढ्ने साँझ घर फर्कने गर्थिम् । सुरूमा अक्षर चिनाइन्थ्यो । अनि घरायसी लेखापढी, हिसाबकिताब गर्न, व्यवहारमा आवश्यक पर्ने कुराहरू सिकाइन्थ्यो । त्यसबेला तमसुुक, निवेदन, राजीनामा लेख्न, दुुर्गा, चण्डी, पढ्न सिकाइन्थ्यो । गुरुलाई पढेको शुल्क वापत पैसाको सट्टा अन्न दिइन्थ्यो । उसबेला रूपैयाँको खासै हुन्थेनन् । पैसाको चलनचल्ती पनि उति थिएन । वर्षभरी पढेपछि एक मुरी धान गुरुको घरमा पु¥याइदिनु पथ्र्यो । एक मुरी धानको मूल्य उसबेला एक रूपैयाँ भन्दा कम पथ्र्यो । पैसा नै हुन्थेन् । वस्तु विनिमयको जमाना थियो । प्रायः वस्तु–वस्तु साटेर एक अर्काका आवश्यकता पुरा गर्ने गरिन्थ्यो ।

अहिलेको जस्तो पढेर ठूलो मान्छे हुन्छु भन्ने हुन्थेन । ज्ञान लिनका लागि पढ्नुपर्छ भन्ने चलन थियो । कि पढ्नु पर्छ, कि त गाईवस्तुको गोठाला जानुपर्छ भन्ने भएकाले मलाई पढ्न जान मन लाग्थ्यो । डेढ वर्षको छँदा बुवा बित्नु भयो । जेठो बुवाहरूको रेखदेखमा बसे । शिक्षाबाट वञ्चित हुनु परेन । हामी दुई भाइ हौं । म कान्छो हुँ । कान्छो भएकाले पनि होला सबैले माया नै गर्नुुहुन्थ्यो ।

त्यसबेला अहिलेको जस्तो सञ्चारको सुविधा थिएन । यति छिट्टै यस्तो होला भन्ने हामीले कल्पना पनि गरेका थिएनौं । मोबाइल चलाउने, टिभी हेर्ने भन्ने कल्पनै हुन्थेन । पढ्ने र घरको काम गर्ने हुन्थ्यो । गाईगोठालो जाने । साथीहरूसँग खेल्ने । जात्रा–मेला गएर रमाउने हुन्थ्यो । केटाकेटीमा कपडाको भकुण्डो बनाएर खेलेको अनि डण्डीवियो खेलेको सम्झना आउँछ ।

हामी तन्नेरी हुनेबेलाका चाडपर्व एकदमै रमाइला हुन्थे । अन्य बेला काम गर्ने हुँदा चाडपर्वको समयमा आराम गर्ने र रमाइलो गर्ने गरिन्थ्यो । चाडपर्वका बेला मेला लाग्थे । गाउँमा लिङ्गेपिङ, चर्केपिङ हालिन्थ्यो । खुबै रौंनक हुन्थ्यो । अहिले त्यस्ता पिङहरू देखिन छोडे । त्यो समयको रौंनक सबै हराएर गयो ।

सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडामै थियो । वीरेन्द्रनगर उपत्यकामा बस्ती बसेको थिएन् । कट्कुवा, गोठीकाँडामा मात्रै बस्ती थियो । मान्छेहरू दिउँसोको समयमा खेती गर्न उपत्यका झर्थे । साँझ घर फर्किहाल्थे । अलि पछि हिउँदको समयमा बस्ती सरेर उपत्यका आउने र गर्मी समयमा फेरि गोठीकाँडा जाने गरिन्थ्यो । वर्षको आधा समय उपत्यकामा र आधा समय कट्कुवामा बस्थ्यौं । तलमाथि गर्नु सामान्य जस्तै हुन्थ्यो । उपत्यकामा बस्दा औलो लाग्ने डर हुन्थ्यो । त्यसबेलामा हाट जाने चलन थियो । नुन तेल र लत्ताकपडा किन्न नेपालगन्ज, राजापुरसम्म पुग्नुपथ्र्यो । दही दुध बिक्री हुन्थेन् । घ्यू बनाएर हाट लगेर बिक्री गर्ने अनि आवश्यक सामान किनेर ल्याउने गरिन्थ्यो । जुम्लाका मानिसहरू नेपालगन्ज पुगेर नुन लिएर आउँथे अनि नुनसँग चामल साटेर लैजान्थे । हाटबाट कपडा, खाने कुरा किनेर ल्याएपछि छुट्टै रमाइलो लाग्थ्यो ।

गुरुकुलमा पढिसकेपछि म पढ्नका लागि दाइसँग भारत गएँ । थप पढ्नका लागि गाउँमा विद्यालय थिएनन् । भारतको राजस्थान, हरिद्वार गएर पढियो । मैले त्यहाँ वेदसँगै व्यावसायिक शिक्षा पढेँ । गणित विषय पनि पढेको थिए । वि.सं. २०१५÷१६ सालतिर भारतबाट फर्किंदा स्कुल स्थापना हुन थालेका थिए । हालको श्रीकृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राम पहिले कट्कुवा स्कुलको नाममा कट्कुवामै थियो । त्यसबेला यो स्कुल भर्खर स्थापना भएको थियो । चिरञ्जीवीकेशर खनाल, चेतानन्द स्वामीलगायतका शिक्षासेवीले स्कुल स्थापना गर्नुभएको हो । म भारतबाट पढेर आएकाले त्यही स्कुलमा पढाउने अवसर पाएँ । त्यस बेला हामीले पढ्नु पर्छ भनेर चेतना जगाउने काम गर्‍र्यौं । स्कुल चलाउन नागरिकले आफ्नो गक्षले सकेको सहयोग गर्थे । अन्न हुनेले अन्न दिन्थे । जग्गा र भाँडाकँुडा बेचेर पनि स्कुललाई सहयोग गर्थे ।

गुरुकुल, भाषा पाठशालामा पढेको भएर मसँग शैक्षिक योग्यताको प्रमाण–पत्र थिएन । जन माध्यमिक विद्यालयका पहिलो प्रधानाध्यापक देवीदत्त कोइरालाले मलाई मेरो क्षमता देखेर कक्षा पाँचको सर्टिफिकेट दिनुभयो । पछि मैले टेष्ट पास गरेँ । अनि कृषि पढेँ । त्यसबेलामा कृषि तालिम लिएर केही समयसम्म काम गरे । फेरि घर व्यवहारको जिम्मेवारीले बीचमा केही समय जागिर छोडे । अनि झण्डै आठ÷दश वर्ष शिक्षक पेसा गरेँ । पछि कृषि जेटीएमा स्थायीमा नाम निकालेर फेरि सरकारी जागिर सुरू गरें ।

लामो समय कृषि क्षेत्रमा काम गरेँ । कृषि विकास अधिकृत भएर अवकास लिए । जागिरको शिलशिलामा सुर्खेत, जाजरकोट, कालीकोटलगायतका जिल्लामा गएँ । गाउँमा सडक, पुलको सुविधा थिएन । हप्तौं दिन लगाएर हिँडेर नै जानुपथ्र्यो । अहिले कृषि क्षेत्रमा देशले राम्रो गर्न सकेको छैन । सबै बाहिरबाट आयातित खाद्यान्न खानु परिरहेको छ । आफ्नो उत्पादन छैन । उसबेला कतै पनि जग्गा बाँझो हुन्थेन । सबैको घरमा अन्नका भकारी हुन्थे । भौतिक विकास नभए पनि मानिसहरू खुशी थिए । स्वस्थ थिए । अहिले मान्छेहरू श्रम बेच्छन् । तर श्रम लगानी गर्दैनन् । कसरी कमाउने भन्ने मात्र सोचले गर्दा जग्गाहरू बाँझै रहे । यसले गर्दा कुनै बेला कृषिमा आत्मनिर्भर हाम्रो समाज अहिले भोकमरीको अवस्थामा पुगेको छ ।

प्रकाशित मितिः   ११ पुष २०७७, शनिबार ०९:३३