त्रिपालको घर, टहरामा विद्यालय

पुसको कठाङ्ग्रिदो जाडो । त्रिपालको घर । टहराको विद्यालय । टिनको छानो । जालीको भित्ता । जता गयो उतै सकस । खोला किनारको अस्थायी बस्ती । रात दिन चिसो सिरेटो चलिरहन्छ । बाढीपीडितहरूको बस्ती हो यो । त्यहीँका बालबालिका हुन् यी । २०७१ मा आएको बाढीले घरबार बगाएपछि झण्डै तीन सय घरधुरी खुला आकाशमुनी छन् । मौसम जाडो होस् या गर्मी बसाइँ उस्तै कष्टकर छ ।

बराहताल गाउँपालिका–२ स्थित गिरीघाट । कर्णाली प्रदेश राजधानीबाट झण्डै पाँच किलोमिटर पश्चिममा छ । सरोकारवालाको नजरमा नपरेपछि दूरी नजिक हुँदैमा नागरिकका दुःख नहट्ने रहेछन् । कर्णाली राजमार्गमा पर्ने उक्त क्षेत्रको सडक छेवैमा टहरै–टहराको बस्ती छ, जंगलको बीचमा । यही बस्तीका बालबालिकालाई पढ्न नजिकै विद्यालय छ । त्यो पनि टहराकै ।

रानीघाट जाने सडकखण्डको छेउमा रहेको अस्थायी टहरोमा उक्त बस्तीका करिब ८० जना बालबालिका अध्ययन गर्छन् । बाढीका कारण विस्थापित भएका सिस्नेरीका नागरिक विगत सात वर्षदेखि टहरोमै बिताइरहेका छन् । बाढीका कारण बस्ती नै विस्थापित भएपछि सोही स्थानमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयसमेत बाढीपीडित बस्ती नजिकै सारिएको हो ।

तत्कालका लागि बनाइएको विद्यालयको टहरो अहिले पनि फेरिएको छैन । निजी संस्थाको सहयोगमा निर्माण गरिएको टहरोलाई व्यवस्थित गराउन सरकारी निकायबाट पहल भएन । सुरक्षित स्थानमा बसेर पढ्न पाउने अधिकारबाट यहाँका बालबालिका वञ्चित छन् ।

सिस्नेरीको बस्ती नै विस्थापित भएपछि नवज्योति केन्द्र सुर्खेतले सात वर्षअघि विद्यालय सञ्चालन गर्न अस्थायी टहरो निर्माण गरिदिएको हो । खोला वारी बस्ती र खोला पारी विद्यालयको संरचना भएकोले वर्षाको समयमा समेत बालबालिकालाई विद्यालय आउन÷जान समस्या छ । रानीघाट सडक खण्डमा दैनिकजसो सयौंको संख्यामा मालवाहक सवारीसाधन कुद्छन् । सडक छेवैमा रहेको विद्यालयका बालबालिका धुलोबाट समेत प्रभावित छन् । ‘न टहरोभित्रको बसाइँ सुरक्षित छ न त बाहिर नै,’ विद्यालयकी प्रधानाध्यापक तारा पोखे्रल भन्छिन् । कम्तीमा पनि विद्यालय सडकबाट टाढा र सुरक्षित स्थानमा हुनुपर्ने उनले बताइन्् । ‘सरोकारवालाले बेवास्ता गरिदिँदा विद्यार्थीलाई पढ्ने वातावरण बन्नै सकेको छैन,’ उनले भनिन् ।

टहरोभित्रको चिसो र सडकको धुलोसँग संघर्ष गर्दै यहाँका बालबालिकाहरू सुनौलो भविष्य खोज्दैछन् । तर, यसमा सम्बन्धित निकायको ध्यान भने पुगेको पाइँदैन । स्थायी भवन बनाउन नसके पनि टहरोलाई बालमैत्री बनाइदिन बारम्बार आग्रह गरिएको प्रधानाध्यापक पोख्रेल बताउँछिन् ।

विद्यालयको आँगनमै रानीघाट जाने कच्ची सडकखण्ड पर्छ । सडकको धुलोले विद्यार्थी नचिनिने भएर घर फर्किन्छन् । विद्यालयमा कक्षा १ देखि ५ सम्म ५९ जना र बालविकास केन्द्रमा १८ जना बालबालिका अध्ययनरत छन् । उनीहरू धुलोमा बस्छन् । धुलोमा पढ्छन् र धुलोमै खेल्छन् । बस्ती व्यवस्थापन नभएसम्म यो विद्यालयको अवस्थामा सुधार आउने नदेखिएको स्थानीय बताउँछन् । बराहताल गाउँपालिका–२ का वडा अध्यक्ष योवराज कार्कीले बाढीपीडित बस्तीको दिगो व्यवस्थापन नभएसम्म विद्यालयको समस्या हल नहुने बताए । विद्यालय सुरक्षित स्थानमा सार्नेबारे पहल गरिए पनि सामुदायिक वन क्षेत्र पर्ने भएकाले कानुनी जटिलताहरू उत्पन्न भएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले बाढीपीडित बस्तीको दिगो व्यवस्थापन नगरेसम्म विद्यालयको समस्या समाधान गर्न नसकिने जनाए । ‘कि त कानुनी व्यवस्था परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘नत्र बस्ती व्यवस्थापनको अधिकार हामीलाई छैन । विद्यालयको मात्रै कसरी व्यवस्थापन गर्ने ?’ उक्त विद्यालयमा तीन जनाको दरबन्दी छ । दुई जना शिक्षक र एक जना कार्यालय सहयोगीको दरबन्दी भए पनि हाल त्यहाँ चार जना शिक्षक कार्यरत छन् । नवज्योति केन्द्रले एक जना र सामुदायिक वनले थप एक जना शिक्षकको व्यवस्थापन गरिदिएको विद्यालयले जनाएको छ ।

प्रकाशित मितिः   ११ पुष २०७७, शनिबार ०९:२६