विमानस्थल विस्तार गर्न नदिने निर्णय
वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालय नेवारेकोvविद्यालय व्यवस्थापन समितिले विमानस्थल विस्तार गर्न नदिने निर्णय गरेको छ । बिहीवार अभिभावक तथा सरोकारवालाहरूको भेलाले विमानस्थल विस्तारमा रोक लगाउने निर्णय गरेको हो । अमरज्योति माध्यमिक विद्यालय सुर्खेत विमानस्थल नजिकै पर्छ । प्रारम्भिक प्रतिवेदनअनुसार विमानस्थल विस्तार गर्दा उक्त विद्यालय त्यहाँबाट हटाउनुपर्ने हुन्छ ।
विमानस्थल विस्तार रोक्न दवाव दिनका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम आचार्यको संयोजकत्वमा १९ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ । विद्यालयले आयोजना गरेको भेलामा प्रभावित क्षेत्रकासहित करिब दुई सय जनाको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले आफूहरूसँग राम्रोसँग समन्वय नगरी विमानस्थल विस्तार गर्न लागिएकोप्रति आपत्ति जनाए । बस्ती र शैक्षिक संरचना तहसनहस पारेर विमानस्थल विस्तार गर्नुभन्दा दीर्घकालीन सोचसहित उचित स्थानको खोजी गरिनुपर्ने उनले बताए ।
प्रधानाध्यापक थापाले आफूहरू विकास विरोधी नभएको भन्दै विद्यालयको उचित व्यवस्थापनविना विमानस्थल विस्तारका लागि कुनै पनि हालतमा सहमति नदिने बताए । भेलामा प्रभावित क्षेत्र वडा नं. १२ का वडा अध्यक्ष लोकप्रसाद चालिसे र वडा नं. १० का अध्यक्ष रत्नबहादुर बुढाको समेत सहभागिता रहेको थियो । विमानस्थल विस्तारका लागि सरकारी अधिकारीहरू सम्मिलित प्रारम्भिक समितिमार्फत प्रभावित क्षेत्रको मुआब्जाको लगत संकलनको काम थालिदै छ । आज (शुक्रवार) देखि नै प्रभावित क्षेत्रको जमिन र भौतिक संरचनाको लगत संकलन सुरू हुने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । प्रभावित क्षेत्रका बासिन्दाले समेत विमानस्थल विस्तारमा असन्तुष्टि जनाउँदै आएका छन् ।
प्रकाशित मितिः १० पुष २०७७, शुक्रबार ०६:०२
साझा बिसौनी ।