नियम मिच्दा असुरक्षा
सडकले सुविधा दिएको छ । तर त्यही सडक जोखिमयुक्त पनि छ, जसले कैयौंको ज्यान लिएको छ । घाइते बनाएको छ । सडक दुर्घटनाका खबर हरेक दिन सार्वजनिक भइरहेका छन् । यसका कारण अनेक छन् । ट्राफिक नियमको पालना नगर्नु त्यसमध्ये प्रमुख एक कारण हो । सडक सुरक्षा र व्यवस्थित गर्नकै लागि नियम बनाइएको छ । जसलाई कार्यान्वयन गर्नु हरेक नागरिकको दायित्व हो । कार्यान्वयन गराउनका लागि ट्राफिक प्रहरीलाई जिम्मेवारी दिइएको छ । नियम उल्लंघन हुन नदिन र कार्यान्वयन गराउनु उसको दायित्व हो । तर न नागरिकले आफ्नो जिम्मेवारी पालना गरेका छन् न त पूर्ण रूपमा ट्राफिक प्रहरीले दायित्व निर्वाह गरेको छ । जसका कारण सडक असुरक्षा बढ्दो छ ।
प्रहरीले नियम उल्लंघन गर्नेलाई कारबाही गर्दछ । कारबाहीको क्रम बढेकै छ । त्यसबापत ट्राफिकको राजस्व पनि वृद्धि भइरहेको छ । तर यो सुखद् परिणाम होइन । सुखद् परिणाम त त्यो हो जब नियम उल्लंघन गरेवापत कारबाही गर्नुपर्ने अवस्था नै आउँदैन । अर्थात् सबैले नियमको पालना गर्नु र गराउनु । तर यसको ठीक विपरित वर्षेनी कारबाही वापतको राजस्व वृद्धि हुने गरेको छ । यसको अर्थ हो नियम उल्लंघन पनि बढेको छ । तथ्याङ्कले पनि यही देखाउँछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जिल्लामा सवारी कारबाहीबाट प्रत्येक वर्ष एक करोड हाराहारीमा राजस्व संकलन हुने गरेको छ । दिन प्रतिदिन सवारी चाप बढेसँगै ट्राफिक नियमको बेवास्ता गर्नेहरू पनि बढेका छन् ।
बढ्दो सवारी नियम उल्लंघनले सडक दुर्घटना समेत निम्तिने गरेको छ । सडकमा हुने अधिकांश दुर्घटना मानवीय कमजोरीका कारण हुने गरेका छन् । पछिल्लो चार वर्षको यो अवधिमा सुर्खेतमा मात्रै दुई सय १३ सवारी दुर्घटनामा एक सय ४२ जनाले ज्यान गुमाएका छन् भने यो अवधिमा साना–ठूला गरेर ७२ हजार तीन सय ६९ सवारीलाई कारबाही गरिएको छ । जसबाट चार करोड पाँच लाख १८ हजार तीन सय रूपैयाँ राजस्व संकलन भएको छ । विभिन्न समयमा ट्राफिक नियमको उल्लंघन गर्नेलाई कारबाही गर्दा उक्त राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा लापरवाही तरिकाले सवारी चलाउने, लेन क्रस गर्नेलगायत ट्राफिक नियम उल्लंघन गर्ने चालक तथा सवारीलाई प्रहरीले कारबाही गर्ने गरेको छ । ट्राफिकका अनुसार नम्बर प्लेट नभएका, मादकपदार्थ सेवन गरेर सवारी चलाएका, जथाभावी पार्किङ्ग गरेमा, हेल्मेट नलगाएका तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीलाई कारबाही गर्ने गरिएको छ । सवारी चलाउने हरेकले पालना गर्नुपर्ने यस्ता आधारभूत कुरा नै पालना नहुनु दुःखद छ । ट्राफिक नियम सडक सुरक्षाका लागि हो, अर्थात् सडक उपयोग गर्ने हरेक नागरिकको सुरक्षाका लागि । त्यसैले नियम पालना गर्नु र गराउनु पनि सबैको उत्तिकै दायित्व हो ।
प्रकाशित मितिः १० पुष २०७७, शुक्रबार ०६:०२
साझा बिसौनी ।