शिक्षासम्बन्धी दुई दिने कार्यशाला

दिगो विकासका लागि शिक्षासम्बन्धी कार्यशाला गोष्ठी बिहीवार सुरू भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयको आयोजनामा कार्यशाला भएको हो । बराहतालस्थित भेरी माध्यमिक विद्यालयको समन्वयमा आयोजित कार्यशाला दुई दिनसम्म चल्नेछ ।

विद्यालय क्षेत्रमा शान्ति, सुरक्षित, हरियाली र सरसफाइ हुनुपर्छ भन्ने मूल ध्येयका साथ बालबालिकालाई विद्यालयमा नियमित गराउने उद्देश्यले कार्यशालाको आयोजना गरिएको युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग सचिवालयका सचिव युवराज पौडेलले बताए । कार्यशालामा बोल्दै पौडेलले सबैका लागि समावेशी शिक्षा हुनुपर्ने उल्लेख गरे । ‘युनेस्को सचिवालयले थुप्रै क्षेत्रमा काम गर्छ,’ उनले भने, ‘तर सबै क्षेत्रमा शिक्षा जोडिएर आउँछ । शिक्षाको विकासविना अरु क्षेत्र अगाडि जान सक्दैनन् । सबैभन्दा महŒवपूर्ण भएकाले बालबालिकाहरूलाई यसबाट वञ्चित गरिनु नहुने उनले बताए ।

कर्णाली प्रदेशभर एउटा विद्यालयमा मात्रै युनेस्कोले आफ्ना कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनमा अन्य विद्यालयहरू समेत समेटिने पौडेलले जनाए । विद्यालयलाई सूचना प्रविधिसँग जोड्ने र सिकाइ सहजीकरणका क्षेत्रमा आफूहरूले काम गर्ने उनको भनाइ थियो । कार्यशाला उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधि र शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख भोजराज न्यौपानेको सहभागिता थियो । कार्यशालामा बालबालिकालाई विद्यालयमा नियमित गर्ने र शिक्षकलाई जिम्मेवार तथा अनुशासित गराउनेबारे छलफल हुने बताइएको छ ।

प्रकाशित मितिः   १० पुष २०७७, शुक्रबार ०६:०१