प्रदेश खेलकुद परिषद् गठन

कर्णाली प्रदेश खेलकुद परिषद् गठन गरिएको छ । सोमवार बसेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को बैठकले परिषद्को सदस्य–सचिवमा विश्वमित्र सञ्ज्याललाई नियुक्त गरेको छ । सञ्ज्याल कालीकोट निवासी हुन् । परिषद्को उपाध्यक्षमा सुर्खेतका प्रमोद हमाल नियुक्त भएका छन् । सामाजिक विकास मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेपछि परिषद् गठन भएको हो ।

यस्तै, प्रदेश खेलकुद परिषद्को सदस्यमा हुम्लाका टक्कबहादुर शाही, जुम्लाका सरोज शाही, सल्यानका भुमाकुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती र दैलेखका हेमा खड्का छन् । परिषद् गठन भएसँगै प्रदेशमा रोकिएका खेल पूर्वाधारका कामले गति लिने र समग्र खेल क्षेत्रको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

यस्तै, मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री जीविकोपार्जन सञ्चालन कार्यविधि–२०७७ स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेश सरकारबाट लोपोन्मुख राउटे जातीको संरक्षण र प्रवद्र्धन गर्न प्रतिव्यक्ति दुई हजार रूपैयाँ आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गुराँस गाउँपालिकालाई वित्तीय हस्तान्तरण गर्ने र गुराँस गाउँपालिकाले नियमानुसार वितरण गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

त्यस्तै, खाद्यान्न खरिदतर्फको खर्च शीर्षकबाट विनियोजित भएको रकममध्येबाट १५ करोड र कोभिड शिक्षातर्फको खर्च शीर्षकबाट विनियोजित १० करोड रकम क्रमागत आयोजनाहरूको लागि रकमान्तर गर्ने निर्णय बैठकले गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । उनका अनुसार शान्ति तथा पुनस्र्थापना केन्द्र स्थापना गर्न बनेको विधेयक कर्णाली प्रदेशसभा सचिवालयमा दर्ता गर्न स्वीकृति प्रदान गर्ने, द्वन्द्वपीडित, घाइते, अपाङ्ग उपचार राहत खर्च कार्यविधि–२०७७ लाई स्वीकृति प्रदान गर्ने र सहकारी संस्थामार्फत ब्याज अनुदान कार्यविधि–२०७७ स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलवार सार्वजनिक गरिएको हो ।

प्रकाशित मितिः   ८ पुष २०७७, बुधबार ०८:३७