अस्पतालमा अक्सिजन प्लान्ट बनाउन ढिलाइ

कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लामा अक्सिजन जेनेरेटर प्लान्ट बनाउने निर्णय गरेको थियो । निर्णय भएको झण्डै ६ महिना पुगिसक्दा पनि अक्सिजन प्लान्ट निर्माणको कामले गति लिएको छैन । सबै खाले उपचारमा आवश्यक पर्ने अक्सिजन कोरोना भाइरस ‐कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि झनै तत्काल आवश्यक रहेको भन्दै गरिएको निर्णय कार्यान्वयनमा ढिलाइ भएको हो ।

लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि प्रदेश सरकारले सबै जिल्लामा अक्सिजन प्लान्ट बनाउने तयारी गरेको थियो । गएको साउनदेखि नै अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरे पनि कुनै पनि जिल्लामा उक्त कामले गति लिएको छैन । अक्सिजन प्लान्ट नहुँदा हुम्ला, जुम्लाबाहेकका जिल्लास्थित अस्पतालहरूले सिलिण्डरमा अक्सिजन खरिद गरेर उपचार गर्दै आएका छन् ।

अक्सिजन प्लान्टका लागि सामाजिक विकास मन्त्रालयले सबै जिल्लामा ४०÷४० लाखका दरले बजेट पठाइसकेको छ । बजेट ढिलागरी निकासा हुँदा प्लान्ट निर्माणको काम सुस्त भएको जिल्ला अस्पतालहरूले जनाएका छन् । हाल अन्य जिल्लाका गम्भीर प्रकृतिका बिरामीहरूलाई प्रदेश अस्पताल सुर्खेतमा रिफर गर्ने गरिएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का अनुसार प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ठूलो क्षमताको अक्सिजन प्लान्ट छ । त्यसबाहेक हुम्ला र दैलेखमा खासै समस्या नभएको उनले बताए । अन्य जिल्लामा ४० लिटर परमिटर क्षमताको अक्सिजन प्लान्ट बनाउने काम अघि बढाउने गरी मेशिन खरिदका लागि रकम पठाएकाले जिल्लाहरूले काम अघि बढाएको उनले जनाए ।

सल्यानमा अक्सिजन प्लान्ट नहुँदा भेन्टिलेटर सञ्चालनमा आएको छैन । सिलिण्डरले काम नगर्ने हुँदा भेन्टिलेटर सञ्चालनमा समस्या भएको हो । स्वास्थ्य सेवा कार्यालय सल्यानले दाङ र सुर्खेतबाट अक्सिजनका सिलिण्डर भरेर ल्याउने गरेको छ । जिल्ला अस्पताल सल्यानका कोरोना फोकल पर्सन रिखराम पुनले दमका रोगी र अन्य सामान्य बिरामीहरूका लागि सिलिण्डरमा अक्सिजन ल्याएर व्यवस्थापन गर्ने गरिएको बताए । उनका अनुसार भेन्टिलेटरमा राख्नुपर्ने गम्भीर प्रकृतिका बिरामीलाई भने बाहिर नै रिफर गर्ने गरिएको छ ।

दैलेखमा पनि अक्सिजन प्लान्ट बनाइएको छैन । जिल्ला अस्पताल प्रमुख डा. निराजन पन्तले भर्खर मात्रै प्रक्रिया अघि बढाइएको बताए । रुकुम–पश्चिममा पनि प्लान्ट निर्माणको काम सुरू हुन सकेको छैन । अक्सिजन प्लान्ट निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौताको काम अघि बढेको अस्पतालका कोरोना फोकल पर्सन ईश्वर रावलले जानकारी दिए । रुकुम–पश्चिममा पहिलो चौमासिक पछि मात्र बजेट पठाइएको थियो ।

मुगु जिल्ला अस्पतालका प्रमुख डा. निर्मल नगरकोटीले बजेट आएपछि प्रक्रिया अघि बढाइएको बताए । उनका अनुसार त्यहाँ पनि निकै ढिला गरेर बजेट पठाइएको हो । कालीकोटमा प्लान्ट निर्माणको काम डेण्डर प्रक्रियामै छ । डा. भिष्म पोखरेलले अहिले सुर्खेत र नेपालगन्जबाट अक्सिजन ल्याउने गरिएको जनाए । उनले अक्सिजन प्लान्ट बनाउन अझै तीन÷चार महिना लाग्न सक्ने देखिएको बताए । कालीकोट जिल्ला अस्पतालमा पूर्वाधार थपका लागि संघीय सरकारले पनि दुई करोड बजेट पठाएको छ । उक्त बजेटबाट चार वटा भेन्टिलेटर र १० वटा आईसीयू बेड थप्न टेण्डर गरिसकिएको अस्पतालले जनाएको छ ।

प्रदेश अस्पतालमा एउटा मात्र अक्सिजन प्लान्ट छ । हाल प्रदेश सरकारको लगानीमा अर्को असिक्जन प्लान्ट थप गर्न लागिएको छ । अस्पताल निर्देशक डा. डम्बर खड्काले अबको एक महिनाभित्र प्रदेशकै बजेटमा अक्सिजन प्लान्ट निर्माण हुने बताए । प्लान्ट एउटा मात्रै हुँदा अक्सिजन अभाव हुँदै आएको छ । बिरामीलाई भेन्टिलेटरमा समेत राख्नु परेकाले यहाँ अक्सिजन बढी खपत हुने गरेको निर्देशक खड्का बताउँछन् । ‘अहिले हामीले सीमित स्रोत साधनमै उपचारलाईं व्यवस्थापन गरिरहेका छौँ,’ उनले भने, ‘असिक्जन अपुग हुने भएकै कारण अर्को प्लान्ट बनाउन लागिएको हो ।’ प्रदेश अस्पतालको प्लान्टबाट हाल नौ वटा सिलिण्डर मात्र ग्यास उत्पादन हुन्छ  । अर्को थप गरे ७० देखि ७५ सिलिण्डर क्षमताको हुने अस्पतालले जनाएको छ ।

प्रदेशमा दैनिक कोरोना संक्रमित भेटिने क्रम जारी छ । पछिल्लो समय परीक्षण घटे पनि संक्रमितको दर भने घटेको छैन । लक्षणसहितका संक्रमितको संख्या बढ्दो छ । कर्णालीमा हालसम्म सात हजार दुई सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये २२ जनाको मृत्यु भएको छ । अहिले प्रदेशमा १७ प्रतिशत संक्रमित लक्षणसहितका छन् । त्यसमध्ये दुई प्रतिशत संक्रमित गम्भीर प्रकृतिका रहेको प्रदेश अस्पतालका निर्देशक खड्का बताउँछन् । खड्का भन्छन्, ‘लक्षणसहितका संक्रमित देखिन थालेपछि सबै जिल्लामा अक्सिजन प्लान्ट बनाउनुपर्छ भनेर काम अघि बढाइएको हो । अधिकांश अस्पताल मेशिन खरिद गर्ने प्रक्रियामै छन् ।’

चिकित्सकहरूका अनुसार कोरोना संक्रमितबाहेक दम र फोक्सोका बिरामीलाई अक्सिजन अत्यावश्यक पर्छ । त्यस्ता बिरामीका लागि प्रतिमिनेट आठ लिटर अक्सिजन खर्च हुन्छ । एउटा अक्सिजन जेनेरेटर प्लान्टबाट दैनिक २५ वटासम्म सिलिण्डर भर्न सकिन्छ । अस्पतालहरूका अनुसार हाल झण्डै ९० प्रतिशत कोरोना संक्रमितलाई अक्सिजनको आवश्यकता पर्छ ।

प्रकाशित मितिः   ८ पुष २०७७, बुधबार ०८:३६