मातृ–शिशु मृत्यु श्रृंखला

हरेक वर्ष कर्णालीमा सुत्केरी महिलाहरूको मृत्यु भएको घटना सञ्चारमाध्यममा समाचार बनिरहन्छन् । कतिपय स्वास्थ्य संस्थामा पुगिसकेपछि ज्यान गुमाउँछन् भने कतिपयले स्वास्थ्य संस्था पुग्न नपाएर मृत्युवरण गरिरहेका छन् । यो श्रृंखला वर्षेनी दोहोरिरहन्छ । आमाहरूको मात्रै होइन शिशुको मृत्यु पनि उस्तै भयावह छ । मातृ–शिशु मृत्युदर डरलाग्दो छ । कर्णाली प्रदेशमा वर्षेनी विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तश्राव, इम्बोलिजम्, पाठेघर फुट्ने समस्या, गर्भवती अवस्थामा हुने कम्पन (मुर्छा पर्ने समस्या) लगायतका कारण सुत्केरीहरूले ज्यान गुमाउने गरेका छन् । ज्यान गुमाउनेहरूको संख्या घट्नुको साटो बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशभर १३ जना आमाले ज्यान गुमाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा मृत्यु हुनेको संख्या झनै बढ्यो । उक्त वर्ष प्रदेशभर २१ जना आमाले ज्यान गुमाए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा प्रदेशभर सुत्केरी तथा गर्भवती गरेर सात जनाको मृत्यु भएको छ । यसरी गर्भवती तथा सुत्केरी आमाहरूले हरेक वर्ष विभिन्न स्वास्थ्य समस्याका कारण ज्यान गुमाउनु परिरहेको छ । अधिकांश सुत्केरीको अत्यधिक रक्तश्रावका कारण ज्यान जाने गरेको छ । यसका अलवा जटिल प्रश्रव, पाठेघर फुट्ने लगायका समस्याले सुत्केरीको मृत्यु हुने गरेको स्वास्थ्य संस्थाहरू बताउँछन् । यसो हुनुका पनि विभिन्न कारण छन् । जसमध्ये घरमै सुत्केरी गराउन खोज्ने, धेरै बच्चा जन्माउने लगायतका समस्याका कारणले सुत्केरी महिलाको ज्यान जाने गरेको हो ।

कर्णालीमा आमाको मात्रै नभइ नवजात शिशु मृत्युदरसमेत बढी देखिन्छ । तीन वर्षको अवधिमा यहाँ चार सय १८ शिशुको मृत्यु भएको छ । जन्मेदेखि २८ दिनभित्रका शिशुको मृत्युदर उच्च छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभरका नौ जिल्लाका गरी एक सय ५२ नवजात शिशुको मृत्यु भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा दुई सय आठ जना नवजात शिशुको मृत्यु भएको थियो भने चालु आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनामा प्रदेशमा ५८ जना नवजात शिशुको मृत्यु भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार यो वर्ष पनि मातृ तथा शिशु मृत्युदर बढ्ने देखिन्छ ।

मातृ–शिशुको मृत्यु रोक्न सरकारी तथा गैरसरकारी तहबाट पनि पहल भइरहेको छ । सरकारले स्वास्थ्यचौकीमा सुत्केरी हुँदा प्रोत्साहन भत्तासमेत दिने गरेको छ । तर पनि सुत्केरी गराउन अस्पताल जानेको संख्या निकै कम छ । जटिल समस्या भएका गर्भवती महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धारसमेत हुँदै आएको छ । तर, यो सेवा भने सबैको सहज पहुँचमा छैन । कर्णालीका गर्भवती महिलामध्ये ७३ प्रतिशत स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क छ । विगका वर्षभन्दा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढेको भए पनि मृत्यु हुनेक्रम रोकिएको छैन ।

प्रकाशित मितिः   ७ पुष २०७७, मंगलवार ११:१७