कृषियोग्य भूमिमा कृषिको कथा
जमिनको उपयोग: भाग–एक
उत्पादनका चार साधनमध्ये भूमि पनि एक महत्वपूर्ण उत्पादनको साधन हो, जुन कुरा अर्थशास्त्रीहरूले आफ्ना सिद्धान्त प्रतिपादन गर्ने शिलशिलामा महŒवका साथ भूमि प्रयोगबाट उत्पादनमा योगदान गर्न सकिन्छ भन्ने कुरा प्रष्ट्याएका छन् । आफ्ना आर्थिक क्रियाकलाप सञ्चालन गर्न नागरिकले भूमिको प्रयोग गर्छन् र त्यसवापत राज्यलाई कर तिर्छन् । जबकी नागरिकले त्यो भूमि बाँभैm राखे पनि कर तिर्छन्, उत्पादन गरी मनग्य आम्दानी गर्दासमेत उही मात्रामा कर तिर्छन् । फरक यति हो नागरिकहरूले उक्त जमिनमा उद्योग स्थापना गरेमा वा व्यापारिक प्रयोजनको निमित्त प्रयोग गरेमा थप मानिसहरूले पनि रोजगारी पाउँछन् । उद्योग सञ्चालन गरेवापत राज्यलाई थप राजस्वसमेत प्राप्त हुन्छ । यसर्थ एउटा कुनै नागरिकले आफ्नो स्वामित्वमा रहेको जमिनलाई कसरी प्रयोग गर्छ भन्ने कुराले नै समग्र देशको अर्थतन्त्रमा प्रभाव पर्छ । त्यतिमात्रै होइन उद्योगले उत्पादन गर्ने वस्तु तथा सेवाको लागि स्थानीयस्तरमै कच्चापदार्थ खरिद हुन्छ । जसबाट अधिकांश नागरिक आर्थिक क्रियाकलापमा संलग्न हुन्छन् ।
विश्वमा जम्मा रोजगारीको २३ प्रतिशत जनसंख्या औद्योगिक क्षेत्रमा रोजगारी गर्छन् । तर नेपालमा भने उद्योगहरूको संख्या अलि कम भएकोले जम्मा रोजगारीको १५.४४ प्रतिशत नागरिकहरू औद्योगिक क्षेत्रमा रोजगारी गर्छन् । मुलुकको बेरोजगारीदर २७.७ प्रतिशत रहेको अवस्थामा कर्णाली प्रदेशको बेरोजगारी २२ प्रतिशत रहेको देखिन्छ । मुलुकको युवा बेरोजगारीदर २९.९ प्रतिशत रहेकोमा कर्णालीको दर पनि २९ प्रतिशत रहेको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा उद्योग व्यवसाय सञ्चालनका लागि जग्गाको सहज उपलब्धता नहुनुले यहाँ उद्योग व्यवसायको सहज स्थापना सम्भव भएको छैन, ठूला–ठूला उद्योगहरू जसले बृहत मात्रामा रोजगारी सिर्जना गर्दछन्, त्यस्ता उद्योगहरू यहाँ हालसम्म पनि स्थापना हुन सकेका छैनन् । यसका साथै यहाँ हुने विद्युतको अनियमितताका कारण पनि समस्या परेको छ । जग्गा प्राप्तीमा भएको समस्या, वन कानुनले निम्ताएको समस्या तथा सरकाले औद्योगिक क्षेत्रको विकासलाई प्राथमिकताका साथ नहेर्नाले कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा रोजगारीको लागि पर्याप्त अवसरहरू सिर्जना भएका छैनन् ।
वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजनाको इतिहास हेर्दा २०२८ सालबाट व्यवस्थित रूपमा अगाडि बढेको हो । सुर्खेत उपत्यका बसोबास आयोगमार्फत तत्कालीन भवन विभाग कार्यालयका प्रमुख माधवभक्त माथेमाले वीरेन्द्रनगर नगरपालिकाको गुरुयोजना निर्माण गरेका थिए । जसअन्तर्गत २०३१ सालमा नगर विकास समितिले समेत गुरुयोजनाको काम गरेको थियो । २०२८ सालबाट वीरेन्द्रनगर नगरपालिकाको योजना निर्माण सुरु भए पनि लगतकट्टा भएको थिएन । नापीको कामलाई हाल वीरेन्द्रनगर नगरपालिकाले सुरु गरेको हो । सार्वजनिक बाटोहरूको लगतकट्टा गर्ने काम नगरपालिकाले सुरु गरेको छ । विस्तारित क्षेत्र उत्तरगंगा, लाटीकोइली, जर्बुटा, गढी र लेखगाउँको बाटोको रेखांकन गर्ने र बाटोको निश्चित मापदण्ड तोक्ने तयारीमा समेत वीरेन्द्रनगर नगरपालिका रहेको छ ।
कर्णाली प्रदेशको राजधानीको रूपमा रहेको वीरेन्द्रनगर नगरपालिकाको क्षेत्रफल २४५.०६ वर्ग कि.मि. छ भने पछिल्लो जनगणनाअनुसार यहाँको जनसंख्या १,००,४५८ रहेको छ । वीरेन्द्रनगर नगरपालिकाको वेभसाइटमा उल्लेख भए अनुसार मुख्य बजार क्षेत्र रहेको र बाख्लो जनघनत्व रहेको वीरेन्द्रनगर नगरपालिकाको उपत्यकाको मात्रै क्षेत्रफल ८८ वर्गकिलोमिटर रहेको छ । नेपाल सरकारको स्थानीय तहहरूको प्रशासनिक वर्गीकरणमा कर्णाली प्रदेशको ‘घ’ वर्ग अर्थात् सुगम स्थानीय तह सुर्खेतको वीरेन्द्रनगर नगरपालिका मात्रै हो । त्यसैले वीरेन्द्रनगरमा उद्योग स्थापनाका लागि विद्युत, सडक लगायतका अन्य पूर्वाधारको पहुँच भएकाले यहाँ उद्योग स्थापना गर्न अलि सहज छ ।
वीरेन्द्रनगर नगरपालिकामा केही ठूला, मध्यम, साना, घरेलु उद्योग भने सञ्चालित छन् । सञ्चालित उद्योगहरूबाट आर्थिकस्तर वृद्धि हुनुको साथै नगरबासी तथा अन्य जनताले रोजगार पाएका छन् । सञ्चालित उद्योगहरूमा उत्पादनमूलक, निर्माण, कृषि तथा वनजन्य, पर्यटन तथा सेवामूलक व्यवसाय र विभिन्न किसिमका होटल उद्योग व्यसायहरू सञ्चालनमा रहेका छन् । उद्योगहरू सञ्चालित भएता पनि वीरेन्द्रनगर नगरपालिका लगायत आसपासका क्षेत्रसम्म मात्र आवश्यकता परिपूर्ति गर्न सफल छन् । ती उद्योगहरूले राष्ट्रिय माग तथा अर्थतन्त्रको हिस्सामा भने योगदान गर्न सकेको देखिदैन ।
जग्गाको क्षेत्र विभाजन तथा मूल्याङ्कनदर वीरेन्द्रनगरमा कृषि क्षेत्रमा भएका भित्री भागका जग्गाहरू एक लाखदेखि तीन लाख प्रतिकठ्ठासम्म न्यूनतम मूल्यांकन रहेको छ । वीरेन्द्रनगर नगरपालिकाको विद्यमान भू–उपयोग हेर्दा कुल क्षेत्रफलको ४९.०५ प्रतिशत वनजंगल क्षेत्रले ओगटेको छ भने ३०.१८ प्रतिशत जग्गा कृषि क्षेत्रको रूपमा रहेको छ । नगरपालिकामा बगिरहेका विभिन्न खोलानालाको किनारमा अवस्थित जमिनको उर्वराशक्ति उच्च रहेको छ । तीन वर्षअघि सरकारले देशभरी जमिनको कित्ताकाटमा रोक लगायो । कृषियोग्य भूमि खण्डीकरण हुन नदिने भन्दै यस्तो निर्णय गरिएको थियो । २०७७ भदौ १८ गतेदेखि देशभर जग्गा कित्ताकाट खुला ग¥यो । तर कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा भने निर्णय कार्यान्वयन हुने या नहुने भन्ने अन्योल कायमै छ । नगरपालिकाले के गर्ने भन्ने निर्णय गरिसकेको छैन । एकातर्फ संघीय सरकारले नै कित्ताकाटमा रोक लगाएको थियो भने अर्कोतर्फ वीरेन्द्रनगर उपत्यकाभित्र पर्ने खेतीयोग्य जमिनमा नगरपालिकालेसमेत २०७५ माघ तेस्रो सातादेखि कित्ताकाटमा रोक लगाएको थियो । वीरेन्द्रनगरभित्र जग्गाको कारोबारमा वृद्धि हुनुका साथै जथाभावी रूपमा कित्ताकाट र घर निर्माण हुन थालेपछि नगरको गुरुयोजना नबन्दासम्मको लागि भन्दै उक्त कार्यमा रोक लगाएको हो ।
वि.सं. २०२९ सालमा सहरी योजनाविद् माधवभक्त माथेमाद्वारा वीरेन्द्रनगरको गुरुयोजना तयार पारिएको थियो । जसमा राजमार्गदेखि उत्तरतर्फको क्षेत्रलाई आवासक्षेत्र र दक्षिणतर्फ कृषिक्षेत्र तोकिएको थियो । तर पछिल्लो समय कृषियोग्य क्षेत्रको रूपमा लिइएको दक्षिणी भागमा धमाधम प्लटिङ्ग गरी घर बनेका छन् । जग्गा प्लटिङ्गका नाममा जथाभावी बनाइएका साँघुरा सडकले विकास निर्माणका क्रियाकलाप सञ्चालन गर्नसमेत धौ–धौ परेको छ ।
वीरेन्द्रनगर नगरपालिका कुल क्षेत्रफलमध्ये ३०.१८ प्रतिशत जमिन खेतीयोग्य जमिनको रूपमा देखिन्छ । नगरपालिकाको कुल क्षेत्रफलको आधा क्षेत्र वनजंगलको रूपमा रहेको छ । त्यसैगरी बागवानी बगैंचा ०.०१ प्रतिशत, घाँसे जमिन अर्थात् ३.६५ प्रतिशत, झाड १५.६९ प्रतिशत, बगर ०.९६ प्रतिशत, बाँझो जमिन ०.०८ प्रतिशत रहेको छ । तथ्यांकले के देखाँउछ भने वीरेन्द्रनगरको ३०.१८ प्रतिशत जमिन मात्र खेतीयोग्य छ र यो जमिनमा पनि खेती गर्ने मानिसहरू एकदमै कम छन् । वीरेन्द्रनगर नगरपालिकामा उत्पादमुलक साना तथा घरेलु उद्योगहरू २२१ वटा रहेका छन् जुन कुल उद्योगको ९.५५ प्रतिशत हो । त्यस्तै वीरेन्द्रनगरमा सेवामूलक साना तथा घरेलु उद्योगहरू १२६८ वटा रहेको छन् जुन ५४.७७ प्रतिशत हो । त्यस्तै पर्यटनसँग सम्बन्धित उद्योगहरू जम्मा ६ वटा अर्थात ०.२६ प्रतिशत रहेका छन् । कृषि तथा वनसँग सम्बन्धित साना तथा घरेलु उद्योगहरू ५३१ वटा अर्थात २२.९४ प्रतिशत छन् भने निर्माण सँग सम्बन्धित साना तथा घरेलु उद्योगहरू २८२ वटा अर्थात् १२.१८ प्रतिशत रहेका छन् । यसरी हेर्दा वीरेन्द्रनगरमा हाल सबैभन्दा बढी सेवा सम्बन्धी साना तथा घरेलु उद्योगहरू रहेका छन् । तथ्यांकले के देखाउँछ भने मानिसहरू कृषि क्षेत्रका साना तथा घरेलु उद्योगहरूमा सञ्चालन एकदमै कम गरिरहेका छन् र सेवा उद्योगहरू बढी सञ्चालन गरिरहेका छन् ।
नगरपालिकाका कुल २९,२१६ घरपरिवारहरूमध्ये ५,०५० अर्थात् १७.२९ प्रतिशत परिवारहरू कृषिमा आवद्ध रहेका छन् भने २४,१५९ अर्थात् ८२.६९ प्रतिशत घरपरिवारहरू कृषिमा आवद्ध छैनन् । कृषिमा आवद्ध नरहेको परिवार ८० प्रतिशत भन्दा बढि रहेको छ । नगरपालिकामा खेतीपातीमा संलग्न ५,०५० परिवारहरूमध्ये ४,३४८ अर्थात् ९०.५१ प्रतिशतले अन्न बाली उत्पादन गर्ने गरेको र ती मध्येबाट आफूले प्रयोग गरी बढी भएको अन्न बेच्नेको संख्या जम्मा ४५६ परिवार अर्थात् ९.४९ मात्रै प्रतिशत रहेको छ । यसको अर्थ ४,३४८ अर्थात् ९०.५१ प्रतिशत घरपरिवार अन्न बालीको बिक्री गर्दैनन् । नगरपालिकामा तरकारी बालीको खेतीगर्ने जम्मा २,९५४ घरपरिवारहरू मध्ये मात्र १,१३३ अर्थात् ३८.३५ प्रतिशत परिवारहरूले तरकारी बाली बेच्ने गरेको पाइयो । १,८२१ अर्थात् ६१.६५ प्रतिशत परिवारले तरकारी बालीको बिक्री त्यसैगरी उत्पादन गर्नेहरू मध्येबाट दलहन बालीको बिक्री गर्ने परिवार १३.८७ प्रतिशत, तेलहन बालीको बिक्री गर्ने ३.२० प्रतिशत, मसला बालीको बिक्री गर्ने १२.२४ प्रतिशत रहेका छन् ।
कृषि प्रणालीमा रहेका समस्याहरू जस्तै निर्वाहमुखी खेती, मल बिउ विजनको समस्या, प्रविधिको समस्या, तालिम, बजारीकरण भण्डारण तथा बजार मूल्यमा हुने अस्थिरता, कृषि बीमा, ऋण आदिमा भएका समस्याका कारण कृषिमा आकर्षण भन्दा विकर्षण बढी रहेकाले क्रमशः तथ्याङ्क घटेको छ । विगतमा भन्दा खेतीपातीमा संलग्न घरपरिवारको संख्या क्रमशः कम हुँदै गएको देखिन्छ । यसको कारण कृषिमा अपेक्षाकृत आम्दानी नहुनु र अन्य पेसा र रोजगारीका अवसरहरू समेत वृद्धि हुनु हुन् । तसर्थ वैज्ञानिक कृषि गुरुयोजना निर्माण गरी कृषि उत्पादन दिगोरूपमा वृद्धि गर्न स्थानीय सरकार अग्रसर हुनुपर्ने देखिन्छ । कृषियोग्य जमिन हुँदा हुँदै पनि मानिसहरू किन कृषिमा आकर्षित भइरहेका छैनन् भन्ने कारण बुझ्न जरुरी छ । सिँचाइको सुविधा नहुनु, कृषिमा पर्याप्त सम्भावना नहुनु र जमिनको व्यवसायीकरणले हुने लाभको कारणले गर्दा मानिसहरू कृषि भन्दा जमिनको अन्य प्रयोगमा ध्यान दिइरहेका छन् ।
प्रकाशित मितिः ७ पुष २०७७, मंगलवार ११:२१
साझा बिसौनी ।