बेरोजगारको विवरण पठाउन निर्देशन
मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यो वर्षको बजेट मन्दिर, पदमार्ग र घोरेटो बाटोमा खर्च गर्न पाइने छैन ।
कर्णाली प्रदेशको मुख्यमन्त्री रोजगार कार्यक्रम निर्देशक समितिले वडा अनुसार बेरोजगारहरूको विवरण तत्काल पठाउन पालिकाहरूलाई निर्देशन दिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आइतवार बसेको निर्देशक समितिको बैठकले यस्तो निर्देशन गरेको हो ।
वडाअनुसार नै रोजगारीका लागि बजेट विनियोजन गरिएकोले वडास्तरबाटै बेरोजगारहरूको विवरण पठाउन भनिएको समितिका सदस्य तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव आनन्द सारुले बताए ।
रोजगार कार्यक्रमका लागि प्रक्रिया पुगी आएका सबै योजनालाई भने बैठकबाट स्वीकृत गर्ने निर्णय गरिएको सचिव सारुले जनाए । बैठकले मुख्यमन्त्री रोजगार कार्यक्रमको लागि योजना पठाउन स्थानीय पालिकालाई १० दिनको म्याद दिने निर्णय गरेको छ । प्रक्रिया नपुगेको र आउन बाँकी योजनालाई १० दिनभित्र प्रक्रिया पु¥याइ ल्याउन भनिएको हो ।
‘सिधै वडालाई नै छुट्याएर बजेट पठाएका छौँ,’ निर्देशक समितिका सदस्य सारुले भने, ‘अबको एक हप्ताभित्र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा जान्छ ।’ मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि प्रत्येक वडालाई करिब ५० लाख बजेट दिने तयारी गरिएको छ । मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत मन्दिर, पदमार्ग र घोरेटो बाटोको काम गराइने छैन । विगतका वर्षमा आलोचना भएपछि सरकारले यो वर्ष सडक, खानेपानी योजना, सिँचाइ र भवन निर्माण लगायतका विकास निर्माणका कार्यक्रम सञ्चालन गरिने जनाएको छ ।
प्रकाशित मितिः ६ पुष २०७७, सोमबार ०९:२५
साझा बिसौनी ।