बौद्ध ग्रामीणको साधारणसभा
बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्था लि. को २०औं वार्षिक साधारणसभा अन्तर्गत एकाई नं. १ को एकाइ भेला जुम्लामा सम्पन्न भएको छ । सहकारी विभागले जारी गरेको साधारणसभा सञ्चालन निर्देशिका र सहकारी नियम अनुसार एकाइ भेलामार्फत वार्षिक साधारणसभाका कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले संस्थाले सदस्यहरूलाई सात इकाईमा विभाजन गरी कार्यक्रम गर्न लागेको हो ।
विश्व महामारीको रूपमा फैलिएको कारोना महामारीको जोखिमलाई ख्याल गर्दे संस्थाले यस वर्षको साधारणसभा कार्यक्रम भर्चूअल माध्यमबाट सञ्चालन गरेकोे छ । शाखा कार्यालय चन्दननाथ जुम्लामा आवद्ध सदस्यहरूलाई भर्चूअल माध्यम फेसबुक, जुम लगायतमा सहभागी गराइएको सेवा केन्द्र जुम्लाका प्रबन्धक बसन्त उपाध्यायले बताए । संस्थाका सचिव पासाङ महतराले संस्थाको चालु आर्थिक वर्षको एक अर्ब ९८ करोड ७८ लाख बराबरको संशोधित बजेट पेश गरेका हुन् ।
यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल केसीले जुम्लाको पातारासी गाउँपालिकामा संस्थाको नयाँ शाखा कार्यालय सञ्चालन गरेको जानकारी दिए । कार्यक्रममा संस्थाको लघुवित्त कार्यक्रमतर्फ उत्कृष्ट कारोबार गर्ने केन्द्रहरू, उत्कृष्ट बचतकर्ता, असल ऋणी तथा उत्कृष्ट लघुउद्यमी सदस्यलाई पुरस्कृत समेत गरिएको छ । जिल्ला सहकारी संघ जुम्लाका अध्यक्ष पदमबहादुर महतको प्रमुख आतिथ्यता तथा संस्थाका कार्यवाहक अध्यक्ष सिंंहबहादुर गुरुङ्गको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।
प्रकाशित मितिः ६ पुष २०७७, सोमबार ०९:२१
साझा बिसौनी ।