मुगु कोरोनामुक्त

कर्णाली प्रदेशमा कोरोना भाइरस ‐कोभिड–१९) संक्रमणको जोखिम अझै उच्च छ । प्रदेशका १० मध्ये नौ जिल्लामा कोरोनाका सक्रिय संक्रमित रहेका छन् । प्रदेशको एक मात्र जिल्ला मुगु भने संक्रमणमुक्त भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । त्यहाँ हाल कोरोनाका ‘एक्टिभ केस’ नभएका हुन् ।

प्रदेशभर झण्डै तीन सय जना सक्रिय संक्रमित छन् । हालसम्म संक्रमित हुनेको संख्या सात हजार एक सय ८० पुगेको छ । तीमध्ये ६ हजार सात सय ३४ जना संक्रमणमुक्त भइसकेका छन् । कोरोना संक्रमण देखिएका २२ जनाको मृत्यु भएको छ । कोरोनाबाट ज्यान गुमाउने १६ पुरुष र ६ जना महिला हुन् ।

यस्तै, शनिवार थप १२ जनामा संक्रमण पुष्टि भएको छ । दुई सय १० जनाको पीसीआर परीक्षण गर्दा १२ जनामा संक्रमण देखिएको हो । शनिवार कोरोना पुष्टि हुनेहरूमा सल्यानका पाँच सुर्खेत र दैलेखका तीन/तीन तथा रुकुम–पश्चिमका एक जना रहेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । शनिवार नै प्रदेशभर थप नौ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यसैबीच, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिवार देशभर सात सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म दुई लाख ५३ हजार एक सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म १८ लाख ६६ हजार दुई सय १० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । देशभरी सक्रिय संक्रमितको संख्या आठ हजार आठ सय ४० छ । दुई लाख ४२ हजार पाँच सय ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार सात सय
७७ पुगेको छ ।

प्रकाशित मितिः   ५ पुष २०७७, आईतवार ०८:२५