हिंसा प्रभावितलाई सिलाइ मेशिन
हिंसा पीडित महिलालाई सिलाइ मेशिन वितरण गरिएको छ । शनिवार नवज्योती केन्द्र सुर्खेतले शनिवार सिलाइ सीप भएका १५ जना महिलालाई मेशिन वितरण गरेको हो । आइरन, कैँची लगायतका सिलाइका लागि आवश्यक पर्ने सामग्रीसहित मेशिन उपलब्ध गराइएको नवज्योती केन्द्र सुर्खेतकी सुपरभाइजर जरमाया बाठाले बताइन् ।
कार्यक्रममा ६७ जना हिंसाबाट प्रभावित, अतिविपन्न र अपाङ्गता भएका महिला तथा पुरुषलाई समेत जाडोको लत्ता कपडा वितरण गरिएको थियो । प्रतिव्यक्ति करिब चार हजार बराबरको खाद्य सामग्री र बलाङ्केट वितरण गरिएको सुपरभाइजर बाठाले जानकारी दिइन् ।
पीडितलाई सामग्री वितरण कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिका–९ का वडा अध्यक्ष सुरेन्द्र मानन्धरले वास्तविक पीडितलाई छनोट गरी राहत र आय–आर्जनसँग जोडेको भन्दै नवज्योतिको प्रशंसा गरे । कतिपय अवस्थामा सहयोग सामग्रीको दुरूपयोग समेत हुनेभएकाले अनुगमन पनि आवश्यक रहेको उनले बताए ।
नवज्योति केन्द्र केन्द्रीय कार्यालयकी प्रमुख सिस्टर लिसाले हिंसा पीडितको सहयोगका लागि आफूहरू सधै तयार रहने बताइन् । ‘हामी वास्तविक पीडितको खोजीमा छौँ,’ उनले भनिन्, ‘राहत मात्रै होइन कानुनी सहायतासहित आय–आर्जनसँग पनि पीडितलाई जोड्छौँ ।’ आर्थिक रूपमा कमजोर भएका कारण पनि महिलाहरू हिंसामा पर्ने गरेको उनको भनाइ थियो ।
प्रकाशित मितिः ५ पुष २०७७, आईतवार ०८:२४
साझा बिसौनी ।