होटल व्यवसायको बेहाल

१० प्रतिशत व्यवसायी पलायन, ४० प्रतिशत श्रमिक बेरोजगार

१० प्रतिशत व्यवसायी पलायन, ४० प्रतिशत श्रमिक बेरोजगार


कोरोना भाइरस (कोभिड–१९) को महामारीले सबैभन्दा बढी प्रभावित भएको क्षेत्रमध्ये होटल व्यवसाय पनि हो । महामारीका कारण मानिसहरूको चहलपहल कम भएसँगै होटल व्यवसाय धरासायी भए । कोरोना प्रभाव केही मत्थर भएपछि अरू क्षेत्र विस्तारै लयमा आउन थाले पनि होटल व्यवसाय भने चौपट नै छ । पर्यटकहरूको आवागमन नहुँदा होटल व्यवसाय धरापमा परेका हुन् । कर्णाली प्रदेशमा ठूलो लगानीमा खोलिएका अधिकांश होटल यतिबेला सुनसान छन् । होटलको यो अवस्था भएको झण्डै १० महिना हुन थाल्यो ।

लामो समय पूर्णरूपमा बन्द रहेका होटल व्यवसायले अझै ग्राहक पाउन सकेका छैनन् । ग्राहक नै नभएपछि होटल बन्द गरेर व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन् । लकडाउन खुलेपछि व्यवसायले पहिलेकै जसरी गति लिने अपेक्षा गरेका व्यवसायी यतिबेला निराश बनेका हुन् । केही होटलहरू जेनतेन चलिरहेको भए पनि कर्णालीका १० वटै जिल्लामा सञ्चालित सानो तथा ठूलो लगानीका अधिकांश होटलको हालत राम्रो नभएको व्यवसायीहरूको भनाइ छ ।

प्रदेशमा करिब दुई हजार पाँच सय होटल छन् । त्यसमध्ये अझै पनि १० प्रतिशत होटल खुल्न नसकेको होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाही बताउँछन् । उनका अनुसार होटलमा विस्तारै चहलपहल बढ्न थाले पनि पहिलैकै अवस्थामा फर्किन भने एक दुई वर्ष लाग्ने छ । पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि केही बढेको उनले बताए । ‘यसले गर्दा पनि होटल व्यवसायीलाई केही राहत त मिलेको छ,’ उनले भने, ‘तैपनि व्यवसायीहरू निराश नै छन् ।’ अहिले होटलमा संघ–संस्था तथा कार्यालयका कार्यक्रमहरू सञ्चालन हुन थालेपछि केही राहत भएको अध्यक्ष शाहीले बताए ।

हजारौं व्यक्तिलाई रोजगारी सिर्जना गरेका होटलहरू बन्द हुने र व्यवसायी पलायन हुने अवस्था आउँदा पनि सरकारीले गम्भीरतापूर्वक नलिनु दुःखद भएको व्यवसायी बताउँछन् । होटल व्यवसायलाई धरासायी अवस्थाबाट माथि उकास्न सरकारसँग बारम्बार संस्थागत पहल गरिए पनि सुनुवाइ नभएको अध्यक्ष शाहीले बताए । प्रदेशमा होटल व्यवसाय क्षेत्रमा मात्रै करिब आठ हजारले रोजगारी पाएका थिए । कोरोनाका कारण होटल बन्द भएपछि तीमध्ये ४० प्रतिशत श्रमिक बेरोजगार भएको अनुमान छ । होटल सञ्चालनमा आउन थालेपछि ६० प्रतिशत कर्मचारी काममा फर्किएको होटल व्यवसायी संघ कर्णाली प्रदेशले जनाएको छ ।

आर्थिक संकटमा व्यवसायी

बैंकबाट ऋण लिएर व्यवसाय थालेका होटल व्यवसायी यतिबेला आर्थिक संकटमा छन् । उनीहरूलाई बैंकमा नियमित बुझाउनुपर्ने किस्ता र ब्याज तिर्न हम्मेहम्मे परेको छ । व्यवसायी मारमा परेका बेला सरकारले राहत प्याकेज नल्याएको उनीहरूको गुनासो छ । ‘व्यवसायी ऋणले थिचिएका छन् । लकडाउन अवधिभर व्यवसाय ठप्प हुुँदा भाडा तिर्न समस्या भयो । सरकारले छुट गर्ने पनि भनेको हो । तर, न बैंकले ब्याज छुट दियो न घरधनीले भाडामा छुट दिए,’ होटल व्यवसायी संघ सुुर्खेतका अध्यक्ष गोरख रावतले भने । व्यवसायीका समस्याप्रति सरकार उदासीन भएको उनले बताए ।

सुर्खेतमा मात्रै एक हजार चार सयको हाराहारीमा होटल छन् । होटल व्यवसायी संघ सुुर्खेतका अध्यक्ष रावत भन्छन्, ‘यहाँ २० प्रतिशत होटल खुल्न नसक्ने गरी थला परेका छन् ।’ उनले अहिले विस्तारै होटलहरू सञ्चालनमा आउन थाले पनि अवस्था जटिल नै रहेको बताए ।

कोरोनाका कारण धरापमा परेको होटल व्यवसायलाई सरकारले सहयोगी कार्यक्रम ल्याउनुपर्ने व्यवसायीहरूको माग छ । अझै पनि राम्रोसँग व्यवसाय सञ्चालनमा नआइसकेकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने उनीहरू बताउँछन् ।

वीरेन्द्रनगरस्थित शुभ होटलका सञ्चालक एवम् उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले होटल व्यवसायीहरूलाई बैंकको किस्ता तिर्न, ब्याज तिर्न र भाडा तिर्नेलगायतका समस्या भइरहेको जनाए । ‘लकडाउनपछि होटल सञ्चालनमा आए पनि अझै सहज वातावरण बनेको छैन । आर्थिक संकटमा व्यवसायी छन्,’ उनले भने । कोरोना जोखिम कायमै रहेकाले व्यवसायले तत्कालै गति लिने अवस्था नरहेको उनले बताए । ‘पहिलेकै अवस्थामा फर्किन दुई वर्ष लाग्छ,’ शाहीले भने, ‘होटल व्यवसायीका समस्या सम्बोधन गर्ने गरी कार्यक्रम ल्याइनुपर्छ ।’

दुर्गममा झनै सकस

हुम्लामा साना ठूला गरेर झण्डै २६ वटा होटल छन् । त्यसमध्ये विदेशी पर्यटकलाई लक्षित गरेर सञ्चालित १५ वटा होटल छन् । आन्तरिक पर्यटकको पनि खासै चहलपहल छैन । यस्तो समयमा विदेशी पर्यटक आउने अवस्था छैन । विगतमा यो समयमा ट्रेकिङका लागि पर्यटक आउने गरे पनि अहिले सुनसान छ । हुम्लास्थित होटल पोतला प्यालेस इनका सञ्चालक तथा होटल व्यवसायी संघ हुम्लाका अध्यक्ष मीन लामाले केही साना होटल चले ठूलो लगानीका होटलले ग्राहक नै नपाएको बताए । जिल्लाका अधिकांश होटल लामो समयदेखि सञ्चालनमा आउन नसकेको लामाले जनाए । उनले भने, ‘यहाँ आन्तरिक पर्यटक त्यति आउँदैनन् । आउने भनेकै विदेशी पर्यटक हुुन् । कोरोना महामारी पछि विदेशी पर्यटक छैनन् । ठूला होटल ठप्प छन् ।’

रुकुम–पश्चिममा होटल व्यवसाय खुलेका छन् । यहाँ पनि व्यवसायले गति लिन सकेको छैन । मुुसीकोटमा रहेको होटल शिशिरका सञ्चालक नवराज गिरीले सामान्य चिया–नास्ता पसलहरू समेत सञ्चालनमा कठिनाइ भएको जानकारी दिए । ‘मान्छेको चहलपहल नै कम छ । अघिल्ला वर्षहरूमा आन्तरिक पर्यटकको चहलपहल बढी हुन्थ्यो,’ उनले भने ।

प्रकाशित मितिः   ५ पुष २०७७, आईतवार ०८:२७