विद्यार्थीमाथि हेलचक्य्राइँ

कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिएको लामै समय बितिसकेको छ । नियन्त्रण हुन सकेको छैन । संक्रमित र मृतकको संख्या बढिरहेको छ । कहरकैबीच हामी जीवनयापन गरिरहेका छौं । यो संकटबाट पार पाउन प्रयास भइरहेका छन् । जीवनशैली सहज बनाउन खोजिएको छ । जस अन्तर्गत यसअघि जोखिम न्यूनीकरण गर्नका लागि अवलम्बन गरिएको कडाइ खुकुलो बनाइएको छ । सडक यातायातदेखि अन्तर्राष्ट्रिय हवाई उडानसमेत खुलाइएको छ । लामो समय बन्द रहेका शैक्षिक संस्था पनि नियमित सञ्चालनमा ल्याइएको छ । तर जोखिम भने घटेको छैन । त्यसमाथि नियामक निकायबाट भइरहेको हेलचक्य्राइँले चुनौती थपेको देखिन्छ ।

लामो समयदेखि बन्द रहेका विद्यालयले कोरोना कहरकैबीच गत मंसिर पहिलो सातादेखि विद्यालयमा विद्यार्थीहरूको भौतिक उपस्थितिमै पठनपाठन सुरू गरे । सरकारले जोखिमको आँकलन गरी विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोही अनुसार कर्णाली प्रदेशका अधिकांश पालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय सञ्चालनमा ल्याएका थिए । विद्यालय त नियमित सञ्चालनमा आए तर आवश्यक सावधानितर्फ भने ध्यान दिएको पाइएन । जसको उदाहरण हो, पछिल्लो समय पुनः बन्द भइरहेका विद्यालय । पढाइ थालिएको केही दिनमै विद्यालयमै कोरोना संक्रमण पुष्टि हुन थालेपछि अहिले विद्यालय धमाधम बन्द हुन थालेका छन् । शिक्षक–कर्मचारी संक्रमित छन् । विद्यार्थी उच्च जोखिममा परेका छन् । विद्यार्थी पढाउने शिक्षक नै संक्रमित भएपछि विद्यार्थीलाई घरमै बस्न भनिएको छ । तर, विद्यालयमै संक्रमण पुष्टि भइसक्दा पनि विद्यार्थीको कोरोना परीक्षण भएको छैन । शिक्षक संक्रमित हुँदा उनीहरूको कन्ट्याक्ट टे«सिङमा विद्यार्थी परेका छैनन् ।

केही दिनअघि पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालयका तीन जना शिक्षक र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भयो । अहिले विद्यालय बन्द छ । तर संक्रमितको कन्ट्याक्ट टे«सिङमा परेका कुनै पनि विद्यार्थीको स्वाब संकलन गरेर परीक्षण भने गरिएको छैन । अभिभावकहरूले समेत आफ्ना छोराछोरीको स्वाब संकलन गर्नुपर्ने माग राख्दै आएका छन् । अभिभावकको दबाबपछि विद्यालयले सम्बन्धित नगरपालिकालाई विद्यार्थीको स्वाब संकलनका लागि अनुरोध समेत गरेको थियो । तर यति धेरै विद्यार्थीको स्वाब संकलन कसरी गर्ने भन्ने जवाफ दिएर नगरपालिका पञ्छिएको छ । पञ्चपुरी नगरपालिकाकै सूर्यप्रकाश माध्यमिक विद्यालय पलैंटेमा नियमित अध्यापन गराइरहेका ११ जना शिक्षकलाई समेत कोरोना भाइरस पुष्टि भयो । दैनिक विद्यार्थीको प्रत्यक्ष कन्ट्याक्टमा रहेका शिक्षकलाई नै कोरोना पुष्टि हुँदा विद्यार्थीहरूको भने स्वाब संकलन गरिएको छैन । जसले गर्दा अन्य शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकमा त्रास बढेको छ । अहिले केही विद्यालयमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालयमा नियमित अध्यापन गराइरहेका शिक्षकलाई नै कोरोना पुष्टि भएको हो । दैनिकजसो सैयौं विद्यार्थीको सम्पर्कमा रहने शिक्षकलाई नै कोरोना देखिँदा विद्यार्थीको भने परीक्षण नगरिनु ठूलो हेलचक्य्राइँ हो । बेवास्ता र असावधानी हो । यसले जोखिम झन् बढाएको छ ।

प्रकाशित मितिः   ५ पुष २०७७, आईतवार ०८:२०