सांसदको बैठक भत्ता र घरभाडा वृद्वि
सांसदहरुले महाअभियोग प्रस्तावमाथिको छलफललाई केहीबेर थाँती राखेर आफ्नो सेवा, सुविधा दोब्बरले बढाएका छन् ।
सरकारले पेश गरेको संघीय संसद्का पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक, सुविधा वृद्धि गर्ने विधेयक पारित भएसँगै सांसदको सेवा सुविधा बढेको हो । बढेको सुविधा सांसदहरुले साउनदेखि कै पाउनेछन् ।
सरकारले सदनमा ल्याएको विधेयकमा चित्त नबुझाएर प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकबाट भत्ता दोब्बर बनाउन सुझाएको विषय कानुनमन्त्री अजयशंकर नायकले विधेयकमा स्वीकार गरे ।
सरकारले विधेयकमा बैठक भत्ता ५ सय प्रस्ताव गरेकोमा केही सांसद्को आग्रहपछि अब एक हजार पुगेको छ । यसअघि प्रतिसांसदले दुई सय रुपैयाँ बैठक भत्ता पाउँदै आएका थिए ।
६ हजार ५ सय घर भाडालाई बढाएर १८ हजार पुऱ्याइएको छ । त्यस्तै, यातायात खर्च १ हजार पुगेको छ । सेवा, सुविधा ह्वात्तै बढेपछि सांसदहरुको मुहार हँसिलो देखिएका छन् ।
संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल थाँती राख्दै संसदले सांसदहरुको सेवा, सुविधा बढाउने विधेयक पारित गरेको हो । आफ्नो लागि नभएर विकसित देशमा विधि निर्माता र कार्यकारी प्रमुखले अर्को कार्यकालका लागि निर्वाचित भएर आउने पदाधिकारीको मात्रै सुविधा वृद्धिसम्बन्धी निर्णय गर्ने लोकतान्त्रिक अभ्यास छ ।
महाअभियोगमाथिको जारी छलफललाई कम महत्व दिँदै सांसदहरु आफ्ना सेवा सुविधा बढाउनतिर लागेपछि महाअभियोग प्रस्ताव समितिमा जाने सम्भावना कम हुँदै गएको छ ।
सभामुख ओनसरी घर्तीमगर एकसाताका लागि आइतबार नै रुस जाने भएकाले महाअभियोग प्रस्तावको छलफल प्रक्रिया लम्बिने भएको छ । सम्भवतस् सभामुख घर्ती फर्केपछि मात्रै महाअभियोग सिफारिस समितिमा जानेछ ।
प्रकाशित मितिः ५ मंसिर २०७३, आईतवार १५:४९
साझा बिसौनी ।