गाइज

कुडा गर्न्या थलो

गाइज


महेश नेपाली

मध्यपश्चिमाञ्चल विश्वविद्यालय परिसर बाहिर रहेको रिजाल नास्ता पसलको टेबल नम्बर चारमा बसेको महाशंकरबाट चियाको बाफसँगै आवाज आयो, ‘हेलो गाइज !’

ऊ धेरैपछि सुर्खेत आएका साथीहरूलाई पुरानो जक्सनमा स्वागत गर्न एक पिरियड छोडेर बसेको छ ।

‘हाइ’ नसकिदै टेबलमा रहिना, आइते, बक्राम र झुमालाई हट लेमन आयो ।

‘अरे वाह ! देख्दै फ्रेस बनाउने चिया मगाइस् बाजे, म प्रसन्न भएँ । लाख वर्ष बाँच्नु । कर्णालीतिर एउटा उखान छ नि ‘दुबोजुन जेलियै, पाथोजुन भरियै’ । सन्तानले डाँडाकाँडा ढाकुन त के भनौं है । हामीलाई मगाएको हट लेमनको रूपियाँ त हामी आफैले तिर्नुपर्ने स्थिति छ । कहाँबाट डाँडाकाँडा ढाक्ने सन्तान पाल्न सक्नु है हे.हे.हे. ।’

रहिनाले चियाका बाफसँगै महाशंकरलाई उडाई । बाँकी साथीहरूले खित्का छोडे ।

‘अरु त भन्न सकिन्न, तँ सँग बिहे भयो भने फुटबल वा भलिबल टिम जन्माएर पाल्न सक्छु भन्ने आँट छ’ फेरि हाँसोको पर्रा छुट्छ ।

रहिना बोल्नै लाग्दा बक्रामले रोक्छ, ‘अब पुग्यो । कति दिन भयो भेट नभएको, भलाकुसारी गरौं न । लकडाउन, सिल, जोर–बिजोरले दिन खायो । यही बीचमा हामीले कैयौं पटक जुममा छलफल ग¥यौं । कति विषय गहन थिए । कति हल्का पनि भए । जसले हामीलाई नजिक बनाइरह्यो ।’

‘अरे साथी हामी टाढा थियौं तर एक अर्काेबारे बेखबर थिएनौं । त्यसैले हिजो दिन जस्ता थिए आज पनि त्यस्तै हुन् । मलाई लाग्दैन गला गाँस्नुपर्छ भन्ने । तँ र म बाँके–बर्दियाका हौं तर पनि भेट भएन । के फरक प¥यो र ?’ रहिनाले आफूलाई बोल्न नदिएको झाेंक पोखी ।

‘जुममा अनुहार देखिन्थ्यो तर यसरी सँगै बसेर चिया पिउँदै, पिठ्यूँमा धाप मार्दै बात मार्न त पाइदैनथ्यो नि ?’ आइतेले थप्यो ।

‘त्यो त हो नि’ महाशंकरले सहमति जनायो ।

‘त्यस्तै हो भने गरौं न त के गर्ने हो । हामीले अहिलेसम्म जुमबाट मात्र कुडा ग¥यौं । अब प्रत्यक्ष कुडा गरौं । पोहोर सुर्खेतमा कर्णालीका कुडा (कर्णाली उत्सव) भएजस्तै वा अस्ति जुम्लाको लाम्रामा ‘गाउँका कुडा’ भएजस्तै’ रहिनाले विषय प्रवेश गरेपछि सबै उत्साहित भए ।

‘हो हो सार्वजनिक विमर्शको आवश्यकता र यसका प्रभावहरूबारे छलफल गर्न सकिन्छ । हामीले हालसम्म देखेका र सुनेका भेला वा छलफलबारे कुरा गर्न सक्छौं । दिदी आफै पनि जुम्लाको लाम्रामा भएको गाउँका कुडा गर्ने कार्यक्रममा सहभागी हुनुभएको थियो । केही अनुभूति सुन्न पाए हुन्थ्यो’ बक्रामको सक्रियता भर्चूअल मिटिङ भन्दा प्रत्यक्षमा बढी देखियो ।

‘यो विषयको छलफल त हाम्रो लागि पनि लाभदायक नै हुनेछ । अघिल्लो वर्ष बुलबुले बगानमा भएको कार्यक्रममा हामी सबै सहभागी थियौं । त्यसबेला कर्णालीका सबै जिल्लामा यस्ता छलफल हुँदा मौलिक विषयको उजागर हुने हाम्रो सोच थियो ।

कर्णालीको सामाजिक अवस्था, कला–संस्कृति, भूगोल, पर्यटकीय स्थल, विकास सम्भावना आदिबारे निकै राम्रो छलफल भयो । सामाजिक कुरिती र बेथिति, सुन्दरता भित्रको कुरूपता आदि पनि देखाउन पाएको भए अब के गर्न सकिन्छ भन्ने भनी भेउ पाउन कसिन्थ्यो ।’

हामी निर्णायक नहोउँला तर हामीमा चेतना हुन जरुरी छ । नत्र भारतीय चुनावमा भोटरले भोट माग्नेलाई ‘हाम्को मिठाइ खिलाओगे !’ भजेजस्तै हुन्छ । लाम्रामा के भयो एक पटक दिदीकै मुखबाट सुन्न पाए हुन्थ्यो’ महाशंकरले आग्रह बिच्छ्यायो ।

‘ठीक छ म पनि भनौंला भनेरै कुरी बसेकी थिएँ । साविकको कर्णालीमा एउटा गज्जबको परम्परा छ । कुनै पनि शुभकार्यमा मुग्लेरीले मागल भनेपछि, पञ्चेबाजाको तालमा दमाई नाचेपछि, मष्टोका धामीले बाह्र भाइ मष्टो, नौ दुर्गा भवानी, बाबा चन्दननाथ, दरा खोल्या, भान (बहान), पित्त तेत्तीस कोटी देवीदेउता सबै पुकारेपछि कार्यक्रम सुरु हुन्छ । त्यसैगरी सुरु भएको थियो मार्सी धान काटेर खाली रहेको नुग्र्या जिउलाको खेतमा, ‘लाम्रा सम्वादः गाउँका कुडा ।’

पहिलो सेसन ‘कुलोको सवाई’ बारे थियो । जसले लाम्राको कुलाको इतिहास बतायो । उसो त जुम्लाका सिँचाइ कुलोबारे लेखे वापत मदन पुरस्कार पाइएको इतिहास हामीमाझ जिउँदो जाग्दो छ । लाम्रा पारिलो बस्ती छेउको जिउलोमा पाको घामले जिउ तातेर तिर्खाएको बेला, ओभाएका खेत र कुलाका लागि दुःख पाएका गाउँलेका कुडा कम्ताका मर्मस्पर्शी थिएनन् । मार्सी धान रोप्ने जिउलामा सिँचाइ गर्ने पानी नपाएपछि महिलाका कोमल हातले खेत गोड्न सकिएनन् । त्यसपछि फलाम वा काठका तिखा नङ जस्ता देखिने नुग्र्याले मात्र खेत गोड्न सम्भव हुने भएपछि सिंगो जिउलाको नाम राखियो, नुग्र्या जिउलो ।

जिउलामा पानी नलागेपछि, मार्सी धानका बालामा दाना पोटिला नभएपछि, रातदिन खेतमा काम गर्ने महिलाको मन सन्तुष्ट नभएपछि, सिँचाइ गर्न जाने खेताला अनिदा रहेपछि, हाँकु र लाम्राका जनता कसिए । सिर्फ एक रात थप अनिदो रहने, थप दुख गर्ने प्रण गरे ।

अडाई (अह्राउने वा अगुवाइ गर्ने मान्छे)को नेतृत्वमा सिंगो लाम्रा गाउँ उठ्यो । सारा देश दुनियाँ मस्त सुतेको बेला लाम्रा जाग्यो । लाम्रा उँठिल्या गाउँको जिउलामा आयो । एक रातमा पाँच किलोमिटर जमिन चिरियो र कुलो बन्यो ।

बाँकी दुनियाँ, त्यसमा पनि नजिकको श्रृढुस्का बिउझने बेला धर्ती फाटेको थियो । धर्ती फाटेको देख्नेहरूको मन फाट्यो । मन फाटेकाहरूले राजा गरे, देउता गुहारे । मुद्दा हाले । राजाका प्रतिनिधि बडाहाकिम निसाफ गर्न गाउँमै पुगे ।

निसाफ लुम्रेलको (लाम्राका गाउँलेको) पक्षमा भयो । अनि एक रातमै बन्यो कुलो । त्यसयता लाम्राको नुग्र्या जिउलाले फलाइरहेको छ राणा, राजा, ओली, प्रचण्ड समेतको जिब्रो रसिलो बनाउने र ब्राण्ड बनिसकेको मार्सी धान ।

पाँच मुरी खेत हुनेले एक दिन, दश मुरी हुनेले दुई दिन, पन्ध्र मुरी हुनेले हरेक दिन र त्यो भन्दा बढी हुनेले अप्ठ्यारो ठाउँमा समेत कुलो फाल्ने काममा सघाउने सिचाइको रित बसालियो । हेरालो, देखालो, अडाई लाग्नेको नेतृत्व, गाउँलेको श्रमदान र सहकार्यमा बनेको कुलो फाल्न आजकाल सरकारी रुपियाँको आश गर्न थालिएको छ । गाउँलेहरू आशे भएका छन् । सरकार कुलो फाल्न कनिका छरेजस्तो बजेट छरिरहेको छ । जुन हात्तीको मुखमा जिरा बाहेक केही हुँदैन । जसले सहकार्य र श्रमदानको अटुट श्रृंखलालाई तोडेको कुडा भए । बिरता र नैरास्यताका कुडा ‘कुलोको सवाई’ सेसनले गरेको थियो ।

यो कुलो र जिउलोको कुडा सिङ्गो कार्यक्रमको एक अंश मात्र हो । त्यहाँ १२ वटा सत्रमा कुडा भएका हुन् । हरेक सत्रको कुडा जस्ताको तस्तै सुनाउन फरक फरक बसाइँ जरुरी छ । जति सेसन चले उति कुडा म यहाँ गर्न सक्छु जस्तो लाग्छ । फरक फरक व्यक्तिले गरेका फरक फरक संवादका अति उपयोगी कुडा मेरो दिमागमा कहिले नमेटिने गरि बसेका छन् ।

लाम्रा संवादले कर्णालीका हरेक गाउँमा बहुउपयोगी काम, कुडा लुकेको भेटाइन्छ भनेर ठोकुवा गर्न सकिन्छ । यत्ति हो हाम्रो खोज र अनुसन्धान कति प्रभावकारी हुन सक्छ ।’

‘दिदीका कुडा सुन्दा त सुर्खेतमा भएको कुडा कर्णालीका भन्दा बढी त्यहाँ भए जस्तो लाग्यो’ रहिनाले थपि ।

‘त्यसो पनि होइन । लाम्राले सानो एरियामा लुकेको ठूलो कुरा उजागर गरेको हो । तर कर्णालीका कुडा गर्ने कार्यक्रमको आयतन ठूलो थियो । कर्णालीको बारेमा देशभरका मान्छेले छलफल गरे । अब आफ्नो विषयमा आफै र अरु सबैलाई छलफल गर्न लगाउनु पर्छ भन्ने सन्देश थियो, त्यो । त्यसका लागि कर्णाली उत्सव, लाम्रा संवाद जस्ता थुप्रै कुडा गर्ने थालाहरूको विकास गर्न जरुरी छ ।

कतिको मनमा कुडा गरेर हुन्या क्या छ र भन्ने पनि लाग्ला । तर तर्क र तथ्यसंगत छलफल नगरी कुनै पनि काम गर्नको लागि निश्कर्षमा पुग्न सकिदैन । आलोचनात्मक चिन्तन विना देश विकास हुँदैन । यस्ता संवादहरू हुँदा सुन्दर र कुरूप दुबै पक्षलाई ओल्टाइ पल्टाई गरिन्छ । परिणाम राम्रो त यसै राम्रो हुन्छ तर कुरूपलाई राम्रो कसरी बनाउने भन्ने कुराको निश्चिय गर्ने पनि कुडा माझिकनै त हो ।’

‘दिदीका कुडा सधैंभरी सुनिरहुँ जस्तो लाग्छ । अब हामी नजिक भइसकेका छौं । नियमित छलफल गर्न खासै समस्या हुने छैन । अहिलेलाई भने क्लासमा जानुपर्छ कि ?’ आइतेले छलफल टुंग्यायो ।

प्रकाशित मितिः   ४ पुष २०७७, शनिबार ०९:२१