विद्यालयमा कोरोना, परीक्षणमा विद्यार्थीलाई बेवास्ता
लामो समय बन्द रहेका विद्यालयले गएको मंसिर १ गतेदेखि कोरोना कहरकैबीच भौतिक उपस्थितिमै पठनपाठन सुरू गरे । सरकारले जोखिमको आँकलन गरी विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोही अनुसार कर्णाली प्रदेशका अधिकांश पालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालय सञ्चालनमा ल्याएका थिए । पढाइ थालिएको केही दिनमै विद्यालयमै संक्रमण पुष्टि हुन थालेपछि अहिले विद्यालय धमाधम बन्द हुन थालेका छन् । शिक्षक कर्मचारी संक्रमित छन् । विद्यार्थी उच्च जोखिममा परेका छन् ।
विद्यार्थी पढाउने शिक्षक नै संक्रमित भएपछि विद्यार्थीलाई घरमै बस्न भनिएको छ । तर, विद्यालयमै संक्रमण पुष्टि भइसक्दा पनि विद्यार्थीको कोरोना परीक्षण भएको छैन । शिक्षक संक्रमित हुँदा उनीहरूको कन्ट्याक्ट टे«सिङमा विद्यार्थी परेका छैनन् । विद्यार्थीको स्वास्थ्यमाथि हेलचक्य्राइँ भएको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् ।
१० दिनअघि पञ्चपुरी नगरपालिकाको विद्याज्योति माध्यमिक विद्यालयका तीन जना शिक्षक र एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भयो । सुरूमा एक शिक्षकलाई रुघाखोकी र पखाला लाग्यो । उनले स्थानीय स्वास्थ्यचौकीबाट टाइफाइडको औषधि सेवन गरे । टाइफाइडको औषधि सेवन गरिरहेका सापकोटालाई निको हुने लक्षण नदेखिएपछि कोरोना आशंकामा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरियो । परीक्षणपश्चात उनलाई कोरोना पुष्टि भयो ।
उनीसँगै विद्यालयका अन्य दुई जना शिक्षक र एक जना कर्मचारीलाई समेत कोरोना देखियो । हाल विद्यालय नै बन्द गर्नुपरेको प्रधानाध्यापक कृष्ण सापकोटाले बताए । ‘मलाई पनि कोरोना संक्रमण पुष्टि भएको हो,’ उनले भने, ‘विद्यालयमा नियमित अध्यापन गराइरहेका शिक्षक र कर्मचारीलाई कोरोना देखिएको छ ।’ कन्ट्याक्ट टे«सिङमा परेका कुनै पनि विद्यार्थीको स्वाब संकलन भने नभएको सापकोटाले जनाए ।
प्रधानाध्यापक सापकोटाका अनुसार केही अभिभावकहरूले समेत आफ्ना छोराछोरीको स्वाब संकलन गर्नुपर्ने माग राख्दै आएका छन् । ‘हामीले नगरपालिकालाई विद्यार्थीको स्वाब संकलनका लागि धेरै पटक भनिसक्यौँ । तर यति धेरै विद्यार्थीको स्वाब संकलन कसरी गर्ने भन्ने जवाफ आउँछ । सुनुवाइ भएको छैन,’ उनले भने ।
पञ्चपुरी नगरपालिकाकै सूर्यप्रकाश माध्यमिक विद्यालय पलैंटेमा नियमित अध्यापन गराइरहेका ११ जना शिक्षकलाई समेत कोरोना भाइरस पुष्टि भयो । दैनिक विद्यार्थीको प्रत्यक्ष कन्ट्याक्टमा रहेका शिक्षकलाई नै कोरोना पुष्टि हुँदा विद्यार्थीहरूको भने स्वाब संकलन गरिएको छैन । विद्यालयका सहायक प्रधानाध्यापक यामबहादुर बिसीले विद्यार्थीको हकमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए । ‘विद्यालयका शिक्षकलाई कोरोना देखिएको १० दिन बढी भइसक्यो,’ उनले भने, ‘विद्यार्थीको हकमा के गर्ने भन्ने अन्योलता छ ।’ विद्यालयका शिक्षकलाई कोरोना पुष्टि भएपछि विद्यालय भने बन्द गरिएको बिसीले बताए । उनका अनुसार पञ्चपुरी नगरपालिका क्षेत्रका सबै विद्यालय कोरोना भाइरसका कारण बन्द रहेको उनले जानकारी दिए ।
यस्तै, वीरेन्द्रनगर नगरपालिका–९ को शिव माध्यमिक विद्यालयका तीन जना शिक्षकलाई समेत कोरोना भाइरस पुष्टि भइसकेको छ । विद्यालयमा अध्यापन गराउने ११ जना शिक्षकको कन्ट्याक्ट टे«सिङको गरी स्वाब संकलन पछि परीक्षण गरिए पनि विद्यार्थीलाई भने बेवास्ता गरिएको छ । विद्यालयका प्रधानाध्यापक चन्द्रलाल सापकोटाले विद्यार्थीलाई परीक्षणका लागि सूचना गर्दा कोही पनि सम्पर्कमा नआएको दाबी गरे ।
‘विद्यार्थीहरूलाई खास समस्या देखिएको पनि छैन,’ उनले भन्छन्, ‘तर पनि स्वाब संकलनको लागि सूचना गर्दा कोही पनि सम्पर्कमा आउनुभएन ।’
सुर्खेतका केही विद्यालयमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विद्यालयमा नियमित अध्यापन गराइरहेका शिक्षकलाई नै कोरोना पुष्टि भएको छ । दैनिकजसो सैयौं विद्यार्थीको सम्पर्कमा रहने शिक्षकलाई नै कोरोना देखिँदा विद्यार्थीको भने परीक्षण नगरिएको हो ।
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले पीसीआर परीक्षणका लागि स्वाब संकलन लगायतको सबै अधिकार स्थानीय तहलाई नै रहेको बताए । ‘क्लोज कन्ट्याक्ट र लक्षण देखिएकालाई अनिवार्य नै परीक्षण गर्नुपर्छ । सायद त्यस्तो समस्या नआएर पनि विद्यार्थीको स्वाब संकलन नभएको होला,’ उनले भने । वाग्लेका अनुसार क्लोज कन्ट्याक्टमा भएको व्यक्तिलाई पोजेटिभ देखिएको एक हप्तासम्म लक्षण देखिने सम्भावना भएकोले सो अवधिसम्म पर्खनुपर्ने बताए ।
उता पञ्चपुरी नगरपालिका सुर्खेतका प्रमुख उपेन्द्रबहादुर थापाले नगरसँग स्रोत साधन नभएका कारण विद्यार्थीको कन्ट्याक्ट टे«सिङका आधारमा स्वाब संकलन गर्न नसकिएको बताए । ‘दुई विद्यालयमा गरी करिब ३५ सय विद्यार्थी छन्,’ नगरप्रमुख थापाले भने, ‘अब उनीहरूको कसरी स्वाब संकलन गर्ने ? प्रदेश सरकारले समेत यस्तो गम्भीर विषयमा चासो नदेखाएको उनको गुनासोे छ ।
प्रकाशित मितिः ४ पुष २०७७, शनिबार ०९:२५
साझा बिसौनी ।