खेलकुद

श्रुतिको स्वर्णयात्रा

खेलकुद


बच्चैदेखि हक्की स्वभावकी थिइन्, वीरेन्द्रनगर–६ की श्रुति कार्की । उनी खेलकुदमा रुचि राख्थिन् । परिवारको दबाब थियो, ‘पढ्नुपर्छ, पढाइलाई पहिलो प्राथमिकता दिनुपर्छ ।’

बुवा शिक्षक भएकाले पनि उनलाई पढ्नुपर्ने दबाब बढी नै हुनु स्वाभाविक नै हुने भयो । क्याम्पस नपुगञ्जेल श्रुतिले पनि पढाइबाहेक अतिरिक्त क्रियाकलापमा उत्ति ध्यान दिइनन् । जब उच्च शिक्षा सुरू भयो, उनमा खेलप्रति लगाव बढ्दै गयो । खेलमोहले नै छोटो समयमै अन्तर्राष्ट्रिय प्रतियोगिताको यात्रामा लियो । स्वर्ण पदक दिलायो ।

पढाइ र खेलकुदलाई सँगसँगै लगेकी श्रुति मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्नातक तहको छैटौँ सेमेस्टरकी विद्यार्थी हुन् । खेलकुदप्रतिको रुचिले उनी यतिबेला आफूमात्र परिचित बनिनन् अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन सफल भइन् ।

भारतको अमरावतीमा गत मंसिरमा भएको २१औं संस्करणको वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीपमा सहभागी भएर उनले दुई वटा स्वर्ण पदक जितिन् । श्रुति ५५ केजी तौल समूहमा स्वर्ण पदक जित्न सफल भएकी हुन् ।

विश्व पावर लिफ्टिङ प्रतियोगितामा नेपालबाट उनीसहित अरू चार जना खेलाडीले सहभागि थिए । उनीहरूलाई गुरुद्वय जीवन गिरी र केदारमान स्थापितले प्रतियोगितासम्म पु¥याएका हुन् । नेपालको टिमले तीन वटा स्वर्ण र एक वटा रजत पदक जितेर फर्कियो । उनीसँगै प्रतियोगितामा सहभागिता जनाउने पोखराका हसन गुरुङले ८२ केजीमा, आशिष आले मगरले एक सय केजीमा स्वर्ण पदक र राजेश सुवालले ९० केजीमा रजत जितेका हुन् ।

नेपाली महिला खेलाडीले यस विधामा स्वर्ण जित्नुलाई खेल जगतमा ठूलो उपलब्धी मानिएको छ । कर्णाली प्रदेश त्यसैपनि खेल क्षेत्रमा निकै पछाडि छ । ‘यहाँ खेलाडी र खेलका भौतिक पूर्वाधार निर्माणमा सरकार उदासीन छ,’ सीमित स्रोत साधनले खेल क्षेत्र जोगाइराखेका व्यक्ति र संस्थाहरूको गुनासो यही छ । यसमा सत्यता पनि छ । प्रदेश राजधानी वीरेन्द्रनगरकै खेलकुदका संरचनाको अवस्थाले उक्त भनाइलाई पुष्टि गर्छ । अभावकाबीच खेलकुदमा खासै अपेक्षाकृत प्रगति हुन सकेको छैन । यस्तो वातावरणकै बीच श्रुति भने अपवाद बनेकी छिन् । दृढ इच्छा शक्ति र लगनशीलता भए सफलता धेरै टाढा छैन भन्ने भनाइलाई सार्थक पारिदिएकी छन् ।

खेलकुद भनेको अक्सर पुरूषका लागि हो भन्ने मान्यता अझै पनि हाम्रो समाजमा छ । महिलालाई खेलकुदमा लाग्न परिवारको समेत समति हुँदैन । समाज र परिवारको बुझाइलाई गलत सावित गर्दै उनी सहासी र धेरैका लागि एउटा प्रेरणाको स्रोत बनेकी छन् । र, श्रुतिले २० वर्षको कलिलो उमेरमा खेलकुदमा हात पारेको सफलताले खेलकुद जगतमा आशा जगाइदिएको छ ।

तीन वर्षअघिसम्म पढाइमा मात्र केन्द्रित श्रुति जिम क्लास जान थालेको धेरै भएको छैन । झण्डै तीन वर्ष मात्रै भयो । यस विधाका प्रशिक्षक प्रमोद हमालले वीरेन्द्रनगरमा मिड वेस्टर्न फिटनेश सेन्टर सञ्चालनमा ल्याए । सम्भवत कर्णाली प्रदेशमै निजी क्षेत्रबाट सञ्चालित पहिलो सुविधायुक्त फिटनेस सेन्टर हो यो । श्रुति आफ्नी दिदी सुुधा कार्कीसँग जुम्बा क्लास जान्थिन् । जुम्बा कक्षा तल्लो तलामा थियो । माथिल्लो तलामा फिटनेस सेन्टर । उनी जुम्मा क्लास छोडेर जिम जान थालिन् । श्रुतिको रुचि र चाहना बुझेर प्रशिक्षक हमाल जिम गर्न सुझाए । खेलकुदमै केही गर्न सक्ने सम्भावना प्रशिक्षकले देखे ।

नियमित जिम गर्दै गइन् श्रुति । एक वर्षसम्म यसलाई प्रतियोगितामै सहभागी हुने गरी हेरेकी पनि थिइनन् । जिम क्लास गएको एक वर्षपछि पहिलो पटक एउटा प्रतियोगितामा सहभागी बनिन् । पहिलो पटक काठमाडौंमा भएको मिस्टर हिमालयनमा बडी बिल्डिङतर्फ सहभागी भएकी थिइन् उनी । ‘त्यसबेला अनुभव बटुल्न मात्रै गएकी थिए । जित्छु भन्ने थिएन । यही प्रतियोगिताले खेलाडी भनेर चिनिन पाएँ,’ उनले भनिन्, ‘त्यसपछि झनै खेलकुदप्रति लगाब बढ्यो ।’ त्यही प्रतियोगिताले हो श्रुतिलाई यही क्षेत्रमा केही गर्नुपर्छ भन्ने आँट र विश्वास दिएको ।

प्रतियोगिताबाट फर्किए लगत्तै उनले खानपान र जीवनशैलीमा परिवर्तन गरिन् । यसैपनि श्रुति विनाकाम घुमघाम गर्न रुचाउँदिनन् । यस विधाको खेल सबैभन्दा महङ्गो खेल पनि मानिन्छ । खानपानमा अनुशासित हुनैपर्छ । ‘खाना र आरामको सेड्यूल एकदमै ख्याल गर्नुपर्छ,’ उनी भन्छिन्, ‘यो वल्र्डकै महङ्गो खेल हो । ८० प्रतिशत त खानपानमै केन्द्रित हुनुपर्छ ।’

जिम क्लास जाने भनेको केटाहरूले मात्रै होला श्रुतिको परिवारलाई पनि यस्तै लाग्थ्यो । पहिलो पटक जिम क्लास जाँदा उनी एक्ली केटी थिइन् । अरु सबै केटाहरू मात्रै । ‘छोरीलाई पनि जिम पठाउने !’ उनका बुवालाई धेरैले हकारे । जिम क्लास नपठाउन आफन्त, छरछिमेकले श्रुतिको परिवारलाई सुझाए । ‘उसलाई प्रतियोगिताका लागि भारत पठाउँदा पनि मेरो आफन्त र साथीभाइले त्यति टाढा कसरी पढाउने ? राम्रो हुुँदैन भनेका थिए,’ श्रुतिका बुवा चन्द्रबहादुर कार्कीले सुनाए । आफूमा पनि पहिले पहिले जिम छोरीहरूका लागि होइन भन्ने लाग्ने गरेको उनी बताउँछन् । ‘म कन्भिन्स भए । विस्तारै सबैले जिम गरेर तपाईंकी छोरीले राम्रो गरिछिन् भन्न थालेका छन्,’ उनले भने ।

श्रुति बडी बिल्डर हुनुमा उनकी आमाको ठूलो हात छ । हरेक सन्तानको सफलतामा आमाको हात हुन्छ नै । उनको खानपानदेखि हरेक सेड्यूलमा आमा सुनिताले राम्रोसँग ख्याल गरिन् । आमा सुनिता भन्छिन्, ‘मैले उसलाई खानपानमा धेरै कियर गर्थे ।’ छोरीले देशको नाम अन्तर्राष्ट्रियस्तरमा चिनाउँदा उनको खुशीको सीमा छैन । ‘कसका आमा सन्तानको सफलतामा खुशी नहोलान्,’ सुनिताले यो पंक्तिकारसँग प्रतिप्रश्न गरिन् । उनले अब त श्रुति आफ्नो मात्रै छोरी नभएर नेपालकै छोरी भएको बताइन् ।

श्रुति यसअघि मिष्टर काठमाडौं तथा गोर्खा क्लासिक प्रतियोगितामा समेत सहभागी भएकी थिइन् । आफूले पाएको सफलताको खुशी व्यक्त गर्दै उनले भनिन्, ‘मैले मेडेल जितेर ल्याएको छु । यसको संरक्षण राज्यले गर्नुपर्छ ।’ अबको उनको लक्ष्य भनेकै ओलम्पिकमा सहभागी हुने हो । यसका लागि अहिलेदेखि नै तयारी गर्ने योजना उनी छन् । यसो भनिरहँदा श्रुतिले सरकारले पनि आफूलाई सहयोग गर्नुपर्ने बताइन् । ‘अहिलेसम्म परिवार र गुरु प्रमोद हमालले मलाई सहयोग गर्नु भएको छ । सधैँ उहाँहरूले मलाई यसरी सहयोग गर्न सक्नुहुन्न । मैले अब ओलम्पिकमा सहभागी भएर देशका लागि पदक जितेर ल्याउने लक्ष्य राखेको छु । मलाई अगाडि बढ्न सरकारले हेरोस् भन्ने अपेक्षा छ,’ श्रुतिले भनिन् ।

श्रुतिका गुरु हमाल उसले खेलकुद क्षेत्रमा अझै केही गर्ने सम्भावना भएकाले सरकारले हेर्नुपर्ने बताउँछन् । खेलाडीहरू एक पटक चर्चा आउने तर त्यसपछि राज्यको लगानी नहुँदा ओझेलमा पर्ने र बेरोजगार भइ यो क्षेत्रबाटै पलायन हुने अवस्था रहेको उनले बताए । सरकारले श्रुतिलाई यसै क्षेत्रमा निरन्तर लाग्ने वातावरण तयार गर्नुपर्ने उनको सुझाव छ ।

प्रकाशित मितिः   ४ पुष २०७७, शनिबार ०९:४४