अनुभूति

मैले नभेटेको पुस्तक

अनुभूति


विज्ञान राज

कक्षा नौमा पढ्दाखेरीको कुरो हो । स्कुलमा कुन समयमा कुन विषय पढाउने भन्ने रूपटन् हुन्थ्यो, त्यो शिक्षकहरूले बनाउथे । त्यहीँ रूपटन् अनुसार शिक्षकहरू कक्षामा आउँथे र पढाउँथे ।

स्कुल बिदा भएपछि हामी घर फर्किन्थ्यौं । घरमा पनि हाम्रो रूपटन् थियो, त्यो दिदीले बनाउनुभएको थियो । उहाँको रूपटनमा विषय र समय त तोकिएको थिएन तर पढ्नुपर्ने समयको सीमा भने तोकिएको थियो, जसअनुसार राति दश बजेसम्म पढ्नुपथ्र्यो । दश बजाउनु अनिवार्य थियो ।

बहिनीहरू सानै भएकाले छिट्टै सुतिहाल्थे । उनीहरूलाई अनिवार्य थिएन । म र दिदी भने दश बजेसम्म बस्थ्यांै । दिदीको ध्यान पूर्ण रुपमा पढाइमा हुन्थ्यो । किताबमै एकत्रित भएर पढ्नु हुन्थ्यो ।

मलाई भने दश बजेसम्म बस्नु नै सास्ती हुन्थ्यो । पहिलो पटक भएर हो वा यो भन्दा पहिले कहिले पनि यसरी नपढेको भएर हो म निकै ठूलो मारमा पर्न गएको थिएँ । म पढेजस्तो गरेर अनेकथरी गरी बस्थँे ।

दिदीलाई साइन्सका भयङ्कर हिसाब र थ्यौरीबाट उम्केर मेरो हर्कत हेर्न कहाँ फुर्सद ?

केही वर्ष पहिले ठूलो बुवाले बम्बईबाट रेडियो ल्याउनु भएको थियो । त्यसलाई हामीले दैलेखबाट यहाँ डेराको कोठामा ल्याएर राखेका थियौँ । दिउँसोतिर फुर्सदमा हामी रेडियो सुन्थ्याँै, निकै सुन्थ्याँै । तर राति आठ बजेको समाचारपछि अपवादबाहेक हामीले रेडियो सुनेको मलाई याद छैन । किनकी त्यसपछि त्यो रेडियोको मुन्टो नमजाले प्याट्ट बेटारिन्थ्यो । र त्यो विनाप्रतिकार चुप बस्थो । अनि घोसेमुन्टो लगाएर एकोहोरो किताबको मुख हेर्नुपथ्यो ।

एकदिन खै किन दिदीको ‘मुड’ बिग्रियो । उहाँले रेडियोको मुन्टो प्याट्ट बेटार्नुभयो । त्यो बोल्न थाल्यो । भनिरहेको थियो, ‘तपाईंलाई बीबीसी नेपाली सेवापछि प्रसारण हुने कार्यक्रम ‘श्रुति संवेगमा हार्दिक स्वागत छ ।’ ४५ मिनेटसम्म त्यो निरन्तर बजिरहयो । म सुनिरहेँ । ठीक ४५ मिनेटपछि पुनः त्यसको मुन्टो बेटारियो । त्यो पुनः चुप बस्यो । दिदी पनि सुनिरहनु भएको रहेछ । हेर्छु, उहाँको अनुहारको भावभङ्गी नै बदलिएको छ । सायद कतै हराउनु भएको थियो । मलिन देखिरहनु भएको थियो । अनि म ?

अहिले यसो सोच्छु, खासमा त्यसदिन दिदीको मुड बिग्रेको होइन रहेछ । सप्रेको रहेछ । दिदीको त्यही मुडले मेरो जीवन परिवर्तन गरिदियो । जीवन यस्तैयस्तै स–साना कुराले परिवर्तन हुने रहेछ ।

कुन उपन्यास हो ? उपन्यासकार को हो ? मलाई कुनै होस् नै रहेन । त्यसदिन सुन्दा मध्यमतिरका पृष्ठहरू वाचन भइरहेका थिए । त्यसपछिको एक–दुई हप्ता खै के कारणले सुन्नै पाइएन् । तीन–चार हप्तापछि सुन्दा नयाँ उपन्यास सुरु भैसकेको थियो । त्यसपछिदेखि हप्ताका दुई दिन मंगलवार र शुक्रवार निरन्तर ९ः१५ मा रेडियोको मुन्टो बटारिन थाल्यो । तर त्यो उपन्यास त्यसपछि कहिल्यै बजेन । अरु थुप्रै उपन्यास सुनेँ । औधि मन परे तर त्यो उपन्यासले जति अरु कसैले पनि लामो समयसम्म बाँध्न सकेनन् । मैले पुरै पुस्तक पनि सुनेको होइन् । मध्यमतिरका केही पृष्ठहरू मात्र सुनेको हँु । तर ती पृष्ठहरूले मेरो बालमस्तिष्कमा यस्तो अमिट छाप बसालीदिएको थियो कि मैले पहिलो पटक जीवनबारे सोचेँ । जगतबारे सोचँे । आफूलाई गहिरिएर झाक्न अभिप्रेरित भएँ । साहित्यलाई यसरी मैले पहिलो पटक सुनेको थिएँ । त्यो हदसम्म अनुभूत गरेको थिएँ । मलाई साहित्यप्रति अभिरूचि जगाई दिने पुस्तक त्यही हो । मलाई ती पृष्ठहरू सुन्दा उत्पन्न भएको कथाको आकृति अझै पनि दुरुस्तै याद छ । ती पृष्ठहरूले मलाई आज पनि उत्तिकै प्रभाव पारि राखेका छन् ।

(कहिलेकाहीँ सोच्छु, यो पुस्तक कहिल्यै नभेटियोस्, यही अमूर्त सम्झनाको रोमाञ्चकताले मलाई आल्हादित बनाइरहोस् ।)

हुर्किदै गएपछि वा साहित्यमा अभिरूचि जाग्दैदेखि त्यो किताबको खोजी जारी राखेँ । अहँ आजसम्म फेला परेको छैन । म पुस्तक पसलतिर अक्सर गैरहन्छु । पुस्तक किन्ने अभिप्रायले जानु त ठीकै हो तर म पैसा नभएको बेला पनि गइरहन्छु । हेरिरहन्छु सडकछेउबाट सजाएर राखेका पुस्तकका लामहरू । कतै त्यो पुस्तकदेखि पो हाल्छ कि ? बुद्धपथतिरका पुस्तक पसल अगाडि यसरी कोही उभिराखेको छ भने सम्झनु यो मान्छे पक्का यस्तै कुनै पुस्तकको खोजीमा छ । र म सेलिब्रेटी लेखकहरूलाई वा पाठकहरूलाई पनि पच्छाइरहेको हुन्छु । कास कसैले त्यस पुस्तकबारे केही लेखोस् । अहँ आजसम्म कसैले लेखेको फेला पारेको छैन ।

कहिलेकाहीँ म यसो पनि सोच्छु कि जुनदिनमा त्यो पुस्तकलाई फेला पार्ने छु । च्याप्प समात्ने छु ।

यरीचोकमा निमको अन्डरग्राउण्ड क्याफेमा छिर्ने छु । दश–दश मिनेटको अन्तरालमा ६ कप चिया दायाँतिरको अन्तिम पर्दाभित्र ल्याईदिनुहोला भन्दै म अन्तिम पर्दाभित्र हतारहतार पस्ने छु । छिर्न बित्तिकै सुरुमा त्यस पुस्तकलाई जथाभावी फ्याँक्ने छु । त्यो भुइँमा लम्पसार पर्ने छ । म हेरिरहने छु । कपहरू आउनेछन् । कप ल्याउनेले हरेक पटक भुइँमा लम्पसार परेको पुस्तक देख्ने छ । हरेक पटक मेरो आँखामा हेर्ने छ । तर केही भन्ने छैन । उ हरेक पटक पर्दा खुल्लै छोडेर जानेछ । हरेक पटक म उठेर पर्दा मिलाउने छु । अनि आएर त्यसैगरी बस्ने छु । पुस्तकलाई हेरिरहने छु ।

अन्तिम कप मात्र आउन जब बाँकी रहनेछ म जुरुक्क उठेर अन्तिम पर्दाबाट बाहिर निस्निकने छु । लामो सास फेर्ने छु । सिधै पुस्तक पसल पुग्नेछु । त्यै पुस्तक किन्ने छु । अनि आफ्नो गृहतिर लाग्ने छु ।

प्रकाशित मितिः   ४ पुष २०७७, शनिबार ०९:२०