विमानस्थल विस्तार

जग्गा अधिग्रहण प्रक्रिया थालियो

विमानस्थल विस्तार


सुर्खेत विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको छ । बिहीवार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले तत्काल जग्गा अधिग्रहणको काम अघि बढाउने निर्णय गरेको हो ।

विमानस्थल विस्तारका लागि ३० विगाहा जग्गा अधिग्रहण गर्न लागिएको छ । धावनमार्ग बढाएर एक हजार पाँच सय ५५ मिटर पु¥याउनका लागि उत्तरतर्फको जग्गा हेरिएको छ । अहिले सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार दुई सय ५५ मिटर रहेको छ । थप तीन सय मिटर धावनमार्ग विस्तार गर्न लागिएको हो । विमानस्थललाई सुविधा सम्पन्न गराइ एक हजार पाँच सय ५५ मिटर धावनमार्ग र रात्रीकालीन उडान गर्न सकिने गरी विस्तार गर्न लागिएको सरकारले जनाएको छ । हाल विमानस्थल सानो हुुँदा ठूला जहाज आउन सकेका छैनन् । विमानस्थल विस्तारका लागि संघीय सरकार र प्रदेश सरकारबीच यसै वर्ष सझौता भएको थियो ।

प्रारम्भिक चरणमा प्रस्तावित जग्गा अधिग्रहण क्षेत्रको जग्गाको कित्ता विवरण क्षेत्रफल र तीन पुस्तेसहित तत्काल तयार गरी जग्गा रोक्का प्रक्रिया अघि बढाउने बैठकले निर्णय गरेको छ । प्रारम्भिक अधिकारीले प्रतिवेदन तयार गरिसकेपछि आफूले बाँकी काम अघि बढाउने प्रमुुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । संघीय सरकारले यस विषयमा काम अघि बढाउन प्रारम्भिक अधिकारी नागरिक उड्डयन प्राधिकरण सुर्खेतका प्रमुुख उमेशकुमार पन्थीलाई तोकेको छ । बैठकले जग्गा प्राप्ति प्रक्रिया तत्काल अघि बढाउन प्रमुख जिल्ला अधिकारीले तीन दिनभित्र मूल्यांकन समितिको बैठक आह्वान गरेर काम अघि बढाउने छन् ।

संघीय सरकारसँग भएको सम्झौतामा विमानस्थल विस्तारका लागि मुआब्जा वितरणमा लाग्ने कुल लागतको ५० प्रतिशत रकम कर्णाली प्रदेश सरकारले व्यहोर्ने सहमति भएको थियो । अब उक्त रकम मध्येको ५ प्रतिशत लागत रकम वीरेन्द्रनगर नगरपालिकाले व्यहोर्ने निर्णय भएको छ । बाँकी ५० प्रतिशत संघीय सरकारले व्यहोर्ने सम्झौता छ । यस्तै बैठकले विमानस्थल विस्तार एवम् स्तरोन्नतिका क्रममा आउनसक्ने विविध समस्या समाधान गर्न कर्णाली प्रदेश सरकारले सर्वदलीय एवम् सर्वपक्षीय समिति गठन गर्ने पनि निर्णय भएको छ ।

प्रकाशित मितिः   ३ पुष २०७७, शुक्रबार ०८:४६