मातृ–शिशुको ज्यान जोगाउनै मुस्किल
गएको भदौ ११ गते कालीकोटको रास्कोट नगरपालिका–२ की २८ वर्षीया सीता सार्कीको सुत्केरीपछि अत्यधिक रक्तश्रावका कारण मृत्यु भयो । उनी घरमै सुत्केरी भएकी थिइन् । सुत्केरीको ज्यान गएपछि लगत्तै बच्चाको समेत मृत्यु भयो । समयमै अस्पताल पुर्याउन नसक्दा आमा र शिशु दुवैको ज्यान गएको हो ।
उनलाई पहिले नजिकैको स्वास्थ्यचौकीमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि सामुुदायिक अस्पताल रास्कोटमा रिफर गरियो । तर, पहिरोको कारण सडक अवरुद्ध हुँदा अस्पताल नपु¥याउँदै आमा र बच्चा दुवैको ज्यान गयो ।
दैलेखको ठाटीकाँध गाउँपालिका–१ की पार्वती शाहीलाई भदौ ११ गते सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा लगियो । उनले दिउँसो सवा तीन बजे छोरीलाई जन्म दिइन् । तर सुत्केरी भएको केही समयमै उनलाई रक्तश्राव भयो । रक्तश्राव नरोकिएपछि स्वास्थ्यकेन्द्रमा उपचार सम्भव भएन । स्वास्थ्य संस्थाले जिल्ला अस्पताल दैलेखमा खबर ग¥यो । स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतका अनुसार जिल्लामा पनि उपचार सम्भव नहुुने देखिएपछि उनलाई सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफर गरियो । अस्पतालसम्म ल्याउन एम्बुुलेन्स पाइएन । अन्य सवारी साधनको तयारी गरेर सुुर्खेत ल्याउँदा–ल्याउँदै बीच बाटोमै अत्यधिक रक्तश्रावका कारण २२ वर्षीया शाहीको राती १२ बजे ज्यान गयो ।
गुर्भाकोट नगरपालिका–७ सुर्खेतकी २५ वर्षीया लक्ष्मी परियारको मंसिर २३ गते प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भयो । उनको इम्बोलिजम् (सुत्केरी अवस्थामा एक सय जनामध्ये करिब पाँच जनामा हुने समस्या) का कारण मृत्यु भयो । गुर्भाकोट नगरपालिकाकी अनमी यज्ञ पन्तका अनुसार उनलाई सुरुमै रिङ्गटा लागेपछि प्रदेश अस्पताल कालागाउँमा लगिएको थियो । आमाको अस्पतालमै मृत्यु भए पनि बच्चाको भने ज्यान जोगियो । सुत्केरी भइसकेपछि सासफेर्न अप्ठ्यारो हुने, मुखबाट फिज आउने समस्या भएपछि उनको मृत्यु भएको अनमी पन्तले जानकारी दिइन् ।
यी प्रतिनिधि घटना हुन् । यसरी कर्णाली प्रदेशमा वर्षेनी विभिन्न कारणले सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने गरेको छ । अत्यधिक रक्तश्राव, इम्बोलिजम्, पाठेघर फुट्ने समस्या, गर्भवती अवस्थामा हुने कम्पन (मुर्छा पर्ने समस्या) लगायतका कारण सुत्केरीहरूले ज्यान गुमाउने गरेका छन् ।
आर्थिक वर्ष २०७५÷०७६ मा प्रदेशभर १३ जना आमाले ज्यान गुमाएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । त्यस वर्ष सुर्खेतमा चार, कालीकोटमा तीन, जुम्ला र सल्यानमा दुई–दुई तथा दैलेख र जाजरकोटमा एक–एक जनाले ज्यान गुमाएका हुन् । त्यस्तै आर्थिक वर्ष २०७६÷०७७ मा मृत्यु हुनेको संख्या झनै बढ्यो । उक्त वर्ष प्रदेशभर २१ जना आमाले ज्यान गुमाए । निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक बसन्तमान श्रेष्ठले मत्यु हुनेमा कालीकोटका ६, सुर्खेतका चार, रुकुम–पश्चिम र जाजरकोटका तीन–तीन, सल्यान र मुगुका दुई–दुई साथै हुम्लाका एक जना रहेको बताए । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा प्रदेशभर सुत्केरी तथा गर्भवती गरेर सात जनाको मृत्यु भएको छ । जसमध्ये सुर्खेतका पाँच र जुम्लाका दुई जना हुन् ।
गर्भवती तथा सुत्केरी आमाहरूले हरेक वर्ष विभिन्न स्वास्थ्य समस्याका कारण ज्यान गुमाउनु परेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ्ग अधिकृत मानकुमारी गुरुङ्गले बताइन् । ‘अधिकांश सुत्केरीको अत्यधिक रक्तश्रावका कारण ज्यान जाने गरेको छ । यसका अलवा जटिल प्रश्रव, पाठेघर फुट्ने लगायका समस्याले सुत्केरीको मृत्यु हुन्छ ।’ घरमै सुत्केरी गराउन खोज्ने, धेरै बच्चा जन्माउने, इम्बोलिजम् लगायतका समस्याका कारणले सुत्केरी महिलाको ज्यान जाने गरेको उनी बताउँछिन् ।
स्वास्थ्यचौकीमा सुत्केरी हुँदा प्रोत्साहन भत्तासमेत पाइने भए पनि सुत्केरी गराउन अस्पताल जानेको संख्या अझै निकै कम छ । जटिल समस्या भएका गर्भवती महिलाको उपचारका लागि हेलिकप्टरबाट उद्धारसमेत हुँदै आएको छ । तर, यो सेवा भने सबैको सहज पहुँचमा छैन । कर्णालीका गर्भवती महिलामध्ये ७३ प्रतिशत स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेको सरकारी तथ्याङ्क छ । यहाँका २७ प्रतिशत गर्भवती महिलाले अझै सुरक्षित सुत्केरी सेवा नलिने गरेका हुन् । विगका वर्षभन्दा सुरक्षित सुत्केरी हुने महिलाको संख्या बढेको र मातृ तथा नवजात शिशुको मृत्युदरमा पनि कमी आएको भए पनि उल्लेख्य प्रगति भने हुन नसकेको सरकारी अधिकारीहरूले बताएका छन् ।
चार सय १८ शिशुको मृत्यु
कर्णालीमा आमाको मात्रै नभइ नवजात शिशु मृत्युदरसमेत बढी देखिन्छ । तीन वर्षको अवधिमा यहाँ चार सय १८ शिशुको मृत्यु भएको छ । निर्देशनालयका अनुसार जन्मेदेखि २८ दिनभित्रका शिशुको मृत्युदर छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभरका नौ जिल्लाका गरी एक सय ५२ नवजात शिशुको मृत्यु भएको थियो । जसमा सुर्खेतका ५२, सल्यानका २१, जुम्लाका २१, जाजरकोटका १६, रुकुम–पश्चिमका ११, दैलेखका ११, कालिकोटका नौ, डोल्पाका आठ र मुगुका तीन जना नवजात शिशुले ज्यान गुमाएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा दुई सय आठ जना नवजात शिशुको मृत्यु भएको निर्देशनालयका स्वास्थ्य शिक्षा प्राविधिक श्रेष्ठले जानकारी दिए । उनका अनुसार उक्त वर्षमा सुर्खेतका ६८, जाजरकोटका २७, सल्यान, कालीकोट र जुम्लाका २२/२२ तथा दैलेखका १९, मुगुका १५, रुकुम–पश्चिमका आठ र डोल्पाका पाँच नवजात शिशुको ज्यान गएको थियो ।
चालु आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनामा प्रदेशमा ५८ जना नवजात शिशुको मृत्यु भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार यो वर्ष पनि मातृ तथा शिशु मृत्युदर बढ्ने देखिएको श्रेष्ठले बताए ।
प्रदेश अस्पतालका अस्पताल नर्सिङ्ग निरीक्षक कल्पना थापा नवजात शिशु मृत्युका थुप्रै कारणहरू हुने बताउँछिन् । समयमै अस्पताल नआउनाले बच्चा पेटभित्रै निस्सासिएर जन्मने बित्तिकै मृत्यु हुने, महिना नपुगेरै जन्मने लगायतका कारणले नवजात शिशु मृत्युदर बढेको थापाले बताइन् । उनका अनुसार चेतनाको कमी, बालविवाह, गर्भावस्थामा पोषिलो खाना लगायतमा ध्यान नदिनुले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्छ । गर्भवती तथा सुत्केरी अवस्थामा आवश्यक पर्ने आहार–विहार तथा स्याहार नपाउने, बालविवाह गर्ने र सानै उमेरमा बच्चा जन्माउने, ढिलो गरी अस्पताल आउने लगायतका कारणले आमा र बच्चा दुवैको ज्यान जाने
गरेको हो ।
साझा बिसौनी ।