विकृत राजनीति

राजनीति मूलुकको मूल नीति हो, जसमा राज्य व्यवस्था र शासन सञ्चालनको दायित्व निहित हुन्छ । तर यसको दुरूपयोग भयो भने त्यसले नागरिक र मुलुकको हितभन्दा बढी अहित गर्छ । राजनीति हरेक क्षेत्रसँग कुनै न कुनै रूपमा अन्तरसम्बन्धित त छ तर त्यसको पनि सीमा हुन्छ । हरेक क्षेत्रमा आवश्यकताभन्दा बढी राजनीतिक रङ्ग दल्दा प्रतिफल दिँदैन । जसका अनेक उदाहरण छन् । सामाजिक संघ संस्थाहरूमा हुने अनावश्यक राजनीतिकरण पनि यसैको उदाहरण हो । सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएका सामुदायिक संस्थामा पार्टीगत रूपमा चुनावी प्रतिस्पर्धामा जाने प्रवृत्ति बढ्दो छ । सामाजिक संस्थाहरू विभाजित गर्ने यस्ता गतिविधिले समाजको सद्भाव नै बिथोलिने गरेको छ । विकास निर्माणका लगायतका अन्य उपभोक्ता समितिमा समेत राजनीतिक दल अनुकूलको बेथिति र अनियमितता बढ्ने गरेको छ ।

राजनीतिभित्रको विकृत रूप मौलाउँदै गएको छ । हरेक सार्वजनिक क्षेत्रमा राजनीतिक चलखेल हुन थालेका छन् । सामुदायिक वन, विद्यालय व्यवस्थापन समितिदेखि स–साना उपभोक्ता समितिहरूमा चरम राजनीतिकरण देखिन थालेको छ । यस्ता सार्वजनिक संस्थाहरूको नेतृत्व हत्याउन राजनीतिक दलअनुसारका उम्मेदवारहरू तयार हुन्छन् । संसदीय निर्वाचनकै झल्को दिनेगरी प्रचार प्रसार गरिन्छ । सानो समुदाय नै राजनीतिक रूपमा विभाजित हुनेगरी चलखेल हुन्छन् । यसले समुदायकै हितका लागि बनाइएका संरचनाहरूमा जबरजस्ती राजनीतिकरण भइरहेको छ । यस्तै एक उदाहरण हो चौकुने गाउँपालिकामा रहेको बण्डाली सामुदायिक वन उपभोक्ता समिति । सर्वसम्मत् नेतृत्व चुनिने अवस्था नरहेपछि गएको मंसिर अन्तिम साता दुई वटा समूह भएर चुनावी मैदानमा होमिए । नेकपा निकटको साझा समूह र नेपाली कांग्रेस निकट लोकतान्त्रिक प्यानलले प्रतिस्पर्धा गरेका थिए । यो त एक दृष्टान्त मात्रै हो । यस्ता सबैजसो परोपकारी तथा सामाजिक संघ–संस्थामा नै दलीय समूह बनाएर नेतृत्व चयन हुन थालेपछि अस्वस्थ प्रतिस्पर्धा समेत हुने गरेको छ । सामुदायिक नेतृत्वमा नै परिणाम आफ्नो पक्षमा पार्न जुनसुकै हद पार गर्न थालेपछि अराजनीतिक गतिविधिसमेत हुन थालेको छ ।

सामाजिक संघ–संस्था विद्यालयदेखि विशुद्ध व्यावसायिक हितका लागि बनेका संस्था र संगठनमा पनि खुलेरै राजनीतिक दलको उपस्थित हुने गरेको छ । सामाजिक संस्थामा यस्तो प्रवृत्ति हावी हुनु गलत हो । यसले सामाजिक हित गर्दैन । सामाजिक सेवामा लागेका संघ–संस्था पार्टीगत विचारबाट निर्देशित हुनु र बाँधिनु कुनै पनि कोणबाट राम्रो होइन । सामाजिक कार्य सद्भाव र एकताका लागि गरिने हुँदा यसरी चुनाव लड्नुले राम्रो सन्देश पक्कै दिँदैन । सामाजिक संस्थामा परोपकारी र सामाजिक गतिविधि गर्ने भावना भएको व्यक्तिलाई जिम्मेवारी दिँदा सबैको हित हुन्छ । तर समुदायका मानिसहरू राजनीतिक आस्थाका आधारमा विभाजन भइरहेका छन् । चुनाव प्रतिष्ठाको लडाइँ बन्यो । यस्तो विकृत राजनीतिबाट सामाजिक संसंस्थाहरूलाई मुक्त गर्न जरुरी छ । यो दायित्व समाजका अगुवा र राजनीति गर्ने व्यक्तिहरूकै हो ।

प्रकाशित मितिः   ३ पुष २०७७, शुक्रबार ०८:४४