स्वच्छता तालिम

सुर्खेतमा सञ्चालित होटेल तथा रेष्टुरेण्टका लागि स्वच्छतासम्बन्धी तालिम सञ्चालन गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले उक्त तालिम सञ्चालन गरिएको हो । तालिममा व्यवसायीलाई खाद्य स्वच्छता, खाद्य ऐन, खाद्य वस्तुमा मिसावट जाँच्ने तरिका, होटल रेष्टुरेण्ट निर्देशिकाबारे जानकारी दिइएको थियो ।

सहभागीहरूलाई प्रशिक्षण दिँदै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख भेषबहादुर थापाले नागरिकको स्वच्छ खाना खान पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्ने बताए । सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले खाद्य ऐन तथा नियमावलीको विषयमा प्रशिक्षण दिएका थिए ।

रेग्मीले खाद्य ऐन, नियमावली, निर्देशिकाले व्यवस्था गरेको मापदण्ड पुरा गरेर मात्र व्यवसाय सञ्चालन गर्न सुझाएका थिए । ‘हामी सबैको प्रतिबद्धताबाट खाद्य वस्तु स्वच्छ राख्न मद्धत पुग्छ,’ उनले भने, ‘अन्यथा नियम अनुसार कारबाही भोग्नुपर्छ ।’ व्यवसायीहरूले नागरिकको स्वास्थ्यमा खेलवाड गर्न नहुने प्रजिअ रेग्मीले बताए । गएको मंसिर ३० गते होटेल व्यवसायी तथा पुस २ गते रेष्टुरेण्ट सञ्चालकहरूलाई तालिम दिइएको हो । तालिममा ३२ जना व्यवसायीको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः   ३ पुष २०७७, शुक्रबार ०८:४२