सञ्चारमाध्यममा कोरोना प्रभाव

कोरोना भाइरस ‐कोभिड–१९) बाट कर्णाली प्रदेशमा सञ्चालित सञ्चारमाध्यममा पनि ठूलो प्रभाव परेको छ । कोरोना महामारीले अन्य क्षेत्र जस्तै यहाँ कार्यरत सञ्चारकर्मी र सञ्चारसंस्था निकै प्रभावित भएका हुन् ।

कोरोना कहरका कारण लामो समय झण्डै पाँच दर्जन सञ्चारसंस्था बन्द भएका थिए भने कार्यरत ८० जना पत्रकार संक्रमित भएका थिए । अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले गरेको अध्ययनमा कोरोनाका कारण बन्दाबन्दीको अवस्थामा कर्णालीमा मात्र पाँच दर्जनभन्दा बढी सञ्चारमाध्यमहरू बन्द हुँदा ८० जनाभन्दा बढी सञ्चारकर्मी र ६० जनाभन्दा बढी मिडिया हाउसमा काम गर्ने कर्मचारीको रोजगारी प्रभावित भएको थियो । बन्दाबन्दी खुलेपछि पनि एक दर्जनभन्दा बढी सञ्चारमाध्यमहरू सञ्चालनमा आउन नसकेको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।

इन्सेक कर्णाली प्रदेश कार्यालयका प्रमुख नारायण सुवेदीले अध्ययनका क्रममा यो अवधिमा कतिपय पत्रकारहरूले रोजगारी गुमाएको, पारिश्रमिक नपाएको, पाइएको तलब सुविधाभन्दा कम पाउने गरेको बताए । कोरोनाका कारण लकडाउन भएपछि केही महिना रेडियो र अनलाइन पत्रिका मात्रै सञ्चालनमा थिए । सुवेदीले कोरोनाका कारण मिडिया क्षेत्रमा पनि ठूलो असर परेको बताए ।

प्रदेशमा कोभिड महामारी सुरू भएयता प्रेस स्वतन्त्रता हनन्का आठ वटा घटना भएको इन्सेकको अभिलेख छ । लकडाउनको समयमा पत्रकारहरू कार्यक्षेत्रमा खटिदाँ प्रहरी प्रशासनबाट समस्या झेल्नु परेको, कोराना संक्रमण सर्ने डरले विभेद गर्ने गरेको अध्ययनका क्रममा भेटिएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवालले कोरोनाका कारण मिडिया र पत्रकारहरू पनि प्रत्यक्ष प्रभावित भएको बताए । उनले प्रिन्ट मिडियालाई कोरोना महामारीले थप प्रभावित गरेको जनाए । कोरोनाका कारण प्रभावित मिडियालाई उकास्न सरकारले रातहका प्याकेज ल्याउनुुपर्नेमा उनले जोड दिए । अब मिडियाहरूले रणनीति योजना बनाएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

यस्तै, कर्णालीमा कार्यरत २१ जना सञ्चारकर्मीमा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये तीन जना आइसोलेसनमा उपचाररत छन् भने अरु संक्रमणमुक्त भइसकेका छन् ।

प्रकाशित मितिः   ३ पुष २०७७, शुक्रबार ०८:४३