‘फोहोर व्यवस्थापनमा चुनौती छ’

साझा संवाद


वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ६ कर्णाली प्रदेशको मुख्य व्यापारिक क्षेत्र हो । यो राजधानीको वडा भएकाले प्रशासनिक र पर्यटकीय क्षेत्र पनि हो । प्रदेशको मुख्यद्वारको रूपमा रहेको वडामा बजार, बसपार्क, बैंक तथा वित्तीय संस्था, निजी अस्पताल, मुख्य व्यापारिक क्षेत्र लगायतका विभिन्न संरचनाहरू छन् । बढ्दो जनसंख्याको चापले गर्दा यहाँ फोहोर मैला व्यवस्थापन चुनौती बन्दै गएको छ । मुख्य बजारको फोहोर व्यवस्थापनको जिम्मेवारी यहीँ वडालाई छ । घर तथा व्यवसाय र उद्योगबाट निस्कने फोहोर व्यवस्थापनको काम जटिल बन्दै गएका बेला त्यसको दीर्घकालीन व्यवस्थापन र हाल वडा कार्यालयले गरिरहेका समग्र गतिविधिको सन्दर्भमा हाम्रा सहकर्मी सीता वलीले वीरेन्द्रनगर नगरपालिका–६ का वडा अध्यक्ष मोतीप्रसाद कँडेलसँग गरेको कुराकानीः

मोतीप्रसाद कँडेल वडा अध्यक्ष, वीरेन्द्रनगर नगरपालिका–६

 

  • तपाईंको वडामा फोहोरमैला व्यवस्थापन कसरी हुँदै छ ?

हामीले वडाको फोहोर व्यवस्थापन टेण्डर प्रक्रियाबाट गर्ने गरेका छौँ । ग्रिनसिटी सेनिटेशन सेवा नेपालले अहिले नगरको फोहोर उठाइ ल्याण्डफिल्ड साइटमा फाल्ने गरेको छ । फोहोरमैला व्यवस्थापनमा वडाका सम्पूर्ण घरधुरी संख्या र व्यवसायीलाई सरसफाइ कार्डमार्फत समेटेका छौँ । एउटै घरमा फरक चुला भएकालाई समेत सोही अनुसार सरसफाइ कार्ड वितरण गरिएको छ । त्योबाहेक कुहिने र नकुहिने फोहोर फाल्नको लागि छुट्टाछुट्टै डस्टविन राख्ने, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । करिब एक हजारभन्दा बढी डस्टविन कुहिने फोहोर राख्नको लागि वितरण गरिएको छ । नकुहिने फोहोरका लागि भने घरधनी स्वयम् आफैंले अनिवार्य खरिद गरी राख्नका लागि अनुरोध गरिएको छ । फोहोरमैला व्यवस्थापनका लागि वडाले कार्यविधि नै निर्माण गरी लागू गरेको अवस्था छ ।

  • सरसफाइ कार्डले फोहोर व्यवस्थापनमा कसरी सघाउँछ ?

यसले नगरमा कति घरधुरी छन्, एउटै घरमा कति चुला छन्, जहाँबाट फोहोर कति आउँछ भन्ने कुराको जानकारी समेत हुन्छ । अर्को कुरा हामीले फोहोर व्यवस्थापन वडाको मात्रै बजेटले सम्भव पनि छैन । त्यसैले कार्यविधि निर्माण गरी सोही अनुसार सरसफाइ कार्ड निर्माण गरेका हौँ । फोहोरमैला व्यवस्थापन कार्यविधि–२०७७ मा तोकिए बमोजिम वडाले करसमेत उठाउने गरेको छ । सरसफाइ कार्ड वितरण गरेपछि हामीलाई फोहोर व्यवस्थापन गर्न सजिलो भएको छ । नियमित रूपमा वडावासीले फोहोरमैला व्यवस्थापनका लागि रकम बुझाउनुहुन्छ ।

फोहोरमैला व्यवस्थापनमा प्रहरी र प्रशासनको सहयोग भएको भए वीरेन्द्रनगर साँच्चिकै सुन्दर नगर बन्ने थियो ।

  • वीरेन्द्रनगरमा दिनप्रतिदिन जनसंख्या बढ्दो छ । दैनिकजसो थुप्रै फोहोर उत्पादन हुन्छ । नगरबाट उठाइएको फोहोरलाई कहाँ, कसरी लगेर बिसर्जन गर्ने गर्नुभएको छ ?

वीरेन्द्रनगर नगरपालिका वडा नं. १ को तारेभिरमा डम्पिङ्ग साइड छ । त्यहीँ लगेर फोहोरलाई बिर्सजन गर्ने गरेका छौँ । नेपाल सरकारले करिब पाँच विगाहा जमिन फोहोरमैला व्यवस्थापनको लागि उपलब्ध गराएको छ । दैनिकजसो वीरेन्द्रनगरमा थुप्रै फोहोर उत्पादन हुन्छ । स्थायी रूपमा नगरमा बस्ने स्थानीय बासिन्दाले भन्दा पनि बाहिरबाट आउनेले बढी फोहोर गरेको देखिन्छ । बाटोमा हिँड्ने बटुवाले खाएर फाल्ने सूर्तिजन्य पदार्थका खोस्टा, पानीका बोतल तथा सुन्तला बदामका बोक्रा र प्लाष्टिकका झोला नै बढी व्यवस्थापन गर्नुपर्ने हुन्छ । तर पनि हामीले फोहोर व्यवस्थापनमा चुनौतीकाबीच काम गरिरहेका छौँ ।

  • फोहोर व्यवस्थापनमा कस्ता खालका चुनौती भोग्नु परेको छ ?

हाम्रो वडामा काम गर्ने क्रममा सबैभन्दा ठूलो समस्या र चुनौती भनेकै फोहोर व्यवस्थापन नै हो । फोहोर व्यवस्थापन गर्नका लागि सहज होस् भनेर कार्यविधि निर्माण गरियो । तर कार्यान्वयन गर्न निकै कठिन भएको छ । हामीले फोहोर गरेको प्रकृति हेरी जरिवाना समेत तोकेका छौँ । केहीले त सहजै जरिवाना तिर्न पनि मान्नु हुन्छ । कोही अति नै अटेरी हुनुहुन्छ । अटेरीलाई प्रशासन नै गुहार्नुपर्ने बाध्यता छ । हामीले स्थानीय प्रशासनबाट खासै सहयोग पाउन सकेका छैनौँ । बाटोमा हिँड्ने व्यक्ति जसले गुट्खा र सूर्ति खाएर सडकमा फाल्नुहुन्छ । सुन्तला तथा बदाम खाएर बाटैमा फाल्नुहुन्छ । अनि सामान खरिद गरेको प्लाष्टिकको झोलासमेत बाटैमा फाल्ने भएका कारण जति सफा गरे पनि दिनमा उति नै फोहोर जम्मा भइरहन्छ । बाटोमा ड्यिूटीमा रहेको प्रहरी, बाटोमा हिँड्ने सचेत नागरिक र व्यवसायी तथा घरधनीले बाटोमा फोहोर फाल्नेलाई सचेत र कारबाही गर्न सघाएको खण्डमा हामीलाई सहज हुने थियो । तर सबै मुखदर्शक भएर बसिदिँदा झनै गाह्रो भएको छ । फोहोर व्यवस्थापनको जिम्मा वडाकै हो भन्ने सोचले गर्दा ठूलो हैरानी व्यहोर्नु परेको अवस्था छ ।

  • वीरेन्द्रनगर बजारक्षेत्रलाई फोहोरमैलारहित राख्न कसले के गर्नुपर्ला ?

सबैभन्दा पहिले त आम नागरिक नै सचेत हुन आवश्यक छ । आफूले गरेको फोहोर कम्तीमा आफैँ व्यवस्थापन गर्नुपर्छ भन्ने सोचको विकास हुन जरुरी छ । यहाँ त हेर्दा सुकिला–मुकिला देखिए पनि खाएर सडकमै फाल्ने प्रवृत्ति छ । यसलाई सुधार्नु आवश्यक पर्छ । हामीले सडकका छेउछाउमा कुहिने र नकुहिने फोहोर व्यवस्थापनको लागि डस्टविनको व्यवस्थापन गरेका छौं । मानिसहरूको त्यता ध्यान जाँदैन । अर्को कुरा सडकमा हुने विभिन्न कार्यक्रमका कारण समस्या परेको छ । करिब दुई सय बढी डस्टविन सडकका छेउमा राखिएको छ । तै पनि मानिसहरू त्यसमा फोहोर हाल्दैनन् । केही महिना पहिले सडक दुर्घटनाका कारण कालीकोटका एक जना युवाको मृत्यु भयो । त्यसबेला सडक आन्दोलन गरेका आफन्तले एक सयभन्दा बढी डस्टविन जलाइदिए । अब यसको जिम्मेवारी कसले लिने ? अर्को कुरा केही व्यक्तिले फोहोर व्यवस्थापनका सामग्री चोरी गर्ने गरेको पनि पाइन्छ । त्यस्ता सामान आफ्नो घरमा लैजाने गरेका छन् । फोहोरमैला व्यवस्थापनमा प्रहरी र प्रशासनको सहयोग भएको भए वीरेन्द्रनगर साँच्चिकै सुन्दर नगर बन्ने थियो । कार्यविधि निर्माण गरेका छौँ । तर कार्यान्वयनमा प्रशासनको सहयोग छैन । हामीहरू अगाडि फोहोर उठाउँदै जान्छौं पछाडिबाट फोहोर गर्दै जानेहरूको जमात उस्तै छ । फोहोर नफाल्नुुस् भन्न जाँदा समेत उल्टै वडाका कर्मचारीहरूलाई हातपात र अपशब्द बोल्ने गरिएको छ ।

  • फोहोरमैला व्यवस्थापनलाई अझै व्यवस्थित बनाउनका लागि वडाको आगामी योजना के छन् ?

ठूलो उपलब्धी त हामीले निर्माण गरेको कार्यविधिको पूर्ण कार्यान्वयन नै हो । त्यो गर्न सके वडामा फोहोरको व्यवस्थापन हुन्छ । यसलाई अझै व्यवस्थित गराउनको लागि जीआईएस सफ्टवेयर निर्माणको तयारी भइरहेको छ । जसको फोहोर उसैको व्यवस्थापन भन्ने मूलमन्त्रलाई यसले सहयोग गर्छ । अर्को कुरा हामीले सचेतनाका कार्यक्रम अझै व्यापक बनाउनुपर्ने छ । यस किसिमका योजना बनाएर हामी अघि बढेका छौँ । हरेक नागरिक सचेत भएको खण्डमा फोहोर व्यवस्थापन गर्न त्यत्ति गाह्रो पनि छैन ।

यहाँका नागरिकलाई मात्रै नभइ प्रदेशभित्र र अन्य प्रदेशबाट आउने नागरिकलाई मैले सकेसम्म आफ्नो फोहोर आफैले व्यवस्थापन गर्न अनुरोध गर्न चाहन्छु । सार्वजनिक स्थानमा फोहोर नगर्न र गर्नेलाई समेत सचेत आम नागरिक लाग्नुपर्छ । आफ्नो फोहोर आफै व्यवस्थापन गरौं र सभ्य नागरिकको परिचय दिऔँ भन्ने मेरो आग्रह हो । जथाभावी फालिएको फोहोरले हामीलाई नै अस्वस्थ बनाउँछ । त्यसैले सबै नागरिक सचेत भएर वीरेन्द्रनगरलाई सुन्दर नगर बनाऔँ ।