एमयूको बजेट साढे ८० करोड

मध्यपश्चिमाञ्चल विश्व विद्यालय ‐एमयू) सुर्खेतको १०औं सभाको बैठक काठमाडौंमा सम्पन्न भएको छ । मंगलवार बसेको बैठकले चालु आर्थिक वर्ष २०७७/०७८ का लागि ८० करोड ५० लाख १४ हजार बजेट विनियोजन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति गिरीराजमणि पोख्रेलको अध्यक्षतामा बसेको बैठकले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति डा. नन्दबहादुर सिंहले राखेका सात वटा प्रस्तावलाई समेत पारित गरेको छ । सिंहले बैठकमा राखेको विश्वविद्यालयको वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०७६÷०७७ को आम्दानी र खर्च अनुमोदनसम्बन्धी प्रस्ताव, आर्थिक वर्ष २०७७/०७८ को प्रस्तावित बजेट तथा कार्यक्रमसम्बन्धी प्रस्ताव बैठकबाट पारित भएको हो ।

त्यस्तै, मध्यपश्चिमाञ्चल विश्वविद्यालय संगठन तथा शैक्षिक–प्रशासनिक नियमावली २०६९ मा पाँचौ संशोधनसम्बन्धी प्रस्ताव, शिक्षक–कर्मचारी नियमावली २०६९ मा चौथो संशोधन सम्बन्धी प्रस्ताव, विश्वविद्यालय स्वायत्ततासम्बन्धी नियमावली २०७५ मा प्रथम संशोधन प्रस्ताव सभाको बैठकले पारित गरेको छ ।

यस्तै, क्याम्पसहरूका नाम हेरफेर सम्बन्धी प्रस्ताव र दरबन्दी प्रस्तावसमेत सभाको बैठकबाट पारित भएको विश्वविद्यालयले बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । विश्वविद्यालयका उपकुलपति सिंहले शैक्षिक सुधारका लागि विश्वविद्यालयबाट शून्य सहनशीलता र पारदर्शीताको अभियान थालिएको बताए । उनले विश्वविद्यालयमा रहेको बेथितिलाई अन्त्य गरी व्यवस्थित बनाउन एकै पटक २७ वटा कार्यविधि निर्माण गरेको जानकारी दिए । उपकुलपति सिंहका अनुसार विश्वविद्यालयमा कृषि तथा वन विज्ञान, स्वास्थ्य संकाय, अनुसन्धान तथा विकास केन्द्र, कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि अध्ययन संस्थान जस्ता कार्यक्रम आगामी दिनमा सञ्चालन हुनेछन् ।

प्रकाशित मितिः   २ पुष २०७७, बिहीबार ०८:४६