मध्यपहाडी राजमार्ग, १२ वर्षमा ५४ प्रतिशत काम

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्ग निर्माण थालिएको १२ वर्ष भयो । आर्थिक वर्ष २०६४/०६५ बाट थालिएको लोकमार्ग २०७४/०७५ सम्म बनाइसक्ने योजना थियो । नयाँ संशोधित विवरण अनुसार यो आयोजना सक्न एक खर्ब एक अर्ब रूपैयाँ लाग्ने अनुमान छ । हालसम्म ५६ अर्ब ९६ करोड खर्च भइसकेको छ । आयोजनामा अहिलेसम्म ५४ दशमलव ५० प्रतिशत काम मात्र सकिएको छ ।

एक हजार आठ सय ८९ किलोमिटर लामो राजमार्गमा एक सय २९ वटा पुल बन्नुपर्छ । राजमार्गमा पर्ने चार सय ६२ किलोमिटर सडक खण्ड सडक विभागबाहेकका अन्य निकायले बनाउँदैछन् । मध्यपहाडको आर्थिक, समाजिक, सांस्कृतिक, पर्यटकीय, शैक्षिकलगायत क्षेत्रको सन्तुलित विकास गर्ने अभिप्रायले बनिरहेको राजमार्गको कथा पनि हुलाकी सडकको जस्तै हुन लागेको छ ।

मध्यपहाडका २३ जिल्ला र दुई सय १५ बस्ती जोड्दै करिब ७० लाख जनतालाई प्रत्यक्ष लाभ पु¥याउन थालिएको यो राजमार्ग निर्माणको काम कछुवा गतिमा छ । सुरुमा किटान गरिएको निर्माण अवधि सकिएको तीनवर्ष बित्न लाग्दा कतिपय खण्डमा ट्रयाक पनि खुलेको छैन । आयोजनाको म्याद २०७९/०८० सम्म थपिएको छ । आयोजनाको लागत भने बढ्दै गएको छ । यो सडकले पूर्वमा पाँचथरको चियोभञ्ज्याङ र पश्चिम बैतडीको झुलाघाट जोड्ने छ ।

सडक विभाग अन्र्तगत चार सय ६६ कि.मि. कालोपत्रे भएको छ । अहिलेसम्म ८४ वटा मात्र पुल बनेको छ भने तीन सय २१ किलोमिटर सडक निर्माणको ठेक्का नै गरिएको छैन । ६ सय ३० किलोमिटर खण्ड ठेक्का लागेर निर्माणाधीन अवस्था छ । चालु आवको पहिलो चौमासिकमा यो आयोजना अन्र्तगत १४ किलोमिटर सडक कालोपत्रे र दुई दशमलव पाँच कि.मि. ग्राभेल भएको छ ।

सडक विभागका अनुसार कास्की, काभ्रे, धादिङलगायत जिल्लाका विभिन्न खण्डमा राजमार्ग कताबाट कसरी लैजाने भन्ने अझै टुङ्गिएको छैन । प्रस्तावित बुढीगण्डकी र सुनकोसी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने सडकको त रेखाङ्कन समेत भएको छैन ।

प्रकाशित मितिः   १ पुष २०७७, बुधबार ११:२२