दीर्घकालीन विकल्प

कर्णाली प्रदेशको सबैभन्दा ठूलो शहर हो वीरेन्द्रनगर । विगतको क्षेत्रीय सदरमुकाम अहिले प्रदेशको मुकाम अर्थात राजधानी बनेको छ । जसका कारण पनि वीरेन्द्रनगर प्रशासनिक र शैक्षिक केन्द्रको रूपमा विकसित हुँदैछ । अर्कोतर्फ प्रदेशको मूल प्रवेशद्वार पनि हो, यो । संघीय व्यवस्था अनुसार बनेको प्रदेश सरकारले यही नगरबाट प्रदेश चलाउँछ । सँगसँगै त्योभन्दा तल्लो तहमा नगरपालिका छ । यद्यपि राजधानी उपत्यकाको विकास निकै सुस्त छ । पूर्वाधारहरूको अभाव छ । खानेपानीकै हाहाकार छ ।

उपत्यकामा दिनप्रति दिन जनसंख्याको चाप बढ्दैछ । प्रदेशका अन्य जिल्लाहरूबाट राजधानीमा बसाइ सरेर आउनेहरूको संख्या पनि तीव्र छ । तर वीरेन्द्रनगरमा पर्याप्त खानेपानीको सुविधा छैन । अहिलेकै चापमा पनि खानेपानीको अभाव हुन्छ । बढ्दो चापसँगै यो कहर पनि बढ्दै जाने निश्चित छ । किनभने उपभोग गर्नेको संख्या बढ्दै छ तर स्रोत बढाइएको छैन । अहिले सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई आयोजनाले पानी वितरण गरिरहेको छ । यो पर्याप्त छैन । खडेरीको समयमा त हाहाकार नै हुन्छ । पानी कम हुँदा ३५÷४० घण्टाको पालो लगाउनुपर्ने अवस्था सिर्जना हुँदै आएको छ । खानेपानीकै अभाव भएको ठाउँमा सिँचाइका लागि पानीको तत्काल कल्पना गर्न सकिदैन । तर तत्कालका लागि खानेपानीकै स्रोत वृद्धि गर्नुपर्ने आवश्यकता टड्कारो छ ।

झुप्रा खोलाको मुहानबाट ल्याएर वितरण गरिएको पानी पर्याप्त नभएपछि विकल्पको खोजि नभएको होइन । तर अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन । पछिल्लो केही वर्षयता भेरी नदीको पानी लिफ्टिङ्ग गरेर सुर्खेत उपत्यकामा ल्याउने योजनाको चर्चा चल्दै आएको छ । विभिन्न समयमा त्यसको अध्ययन पनि गरिएको छ । अध्ययन र चर्चामै सीमित आयोजना अगाडि बढ्ने संकेत देखिएको छ । अबको तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने गरी काम अगाडि बढाउन लागिएको हो । भेरीको पानी उपत्यकामा ल्याउने गरी खानेपानी तथा ढल व्यवस्थापन विभागले काम अघि बढाएको छ । आगामी ३० वर्षसम्म बढ्न सक्ने जनसंख्यालाई आधार मानी आयोजनाको काम अगाडि बढाइएको हो ।

भेरीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउने चर्चा चार वर्षदेखि चलेको हो । खानेपानी आयोजनाको दीर्घकालीन योजना बनाउन खानेपानी तथा ढल व्यवस्था विभागको प्राविधिकसहितको टोली अहिले सुर्खेतमा छ । विभागले प्राविधिक टोली बनाएर हाल आयोजना निर्माण र वितरणबारे डिजाइन बनाउने काम गरिरहेको छ । पहिले भएको अध्ययन अनुसार भेरी पुल र झुप्रा खोलाको दोभान बीचबाट पानी पम्पिङ गरेर ल्याइने भनिए पनि उक्त ठाउँ उपयुक्त नभएपछि पुनः पाँच सय ७४ मिटर माथिबाट पानी ल्याउने गरी अध्ययन अघि बढाइएको विभागले जनाएको छ । उपत्यकाको खानेपानी अभाव टार्ने उपयुक्त विकल्प नै भेरीको पानी ल्याउनु हो । यसका लागि प्रारम्भिक प्रक्रिया अघि बढ्नु सकारात्मक कार्य हो । योजना सँगसँगै त्यसको कार्यान्वयनमा तदारुकता जरुरी छ ।

प्रकाशित मितिः   १ पुष २०७७, बुधबार ११:१८